ताजा समाचार

ओलीको विकल्प सुधारिएका ओली नै हुन 

समस्याको जड : लिंङ्ग नखुलेका कम्युनिष्ट

केपी शर्मा ओली नेतृत्वमा बनेको नेकपाको सरकार प्रारम्भदेखि नै लोकप्रियता गुमाउदै आएको थियो । राजाको कदम,राजनीतिक दलहरुको गतिविधि तथा माओवादीको हिंसात्मक क्रियाकलापबाट उन्मुक्ति चाहेका नेपाली जनताले २०६२ /०६३ को जनआन्दोलनमार्फत नयाँ राजनीतिक वातावरणका पक्षमा उभ्याउन संविधानसभाको माध्यमलाई स्वीकार गराएका थिए । त्यसैबाट शान्ति,स्थिरता र विकासको मार्गमा नेपाललाई डोहोर्याउनु पर्छ भन्ने स्पष्ट जनादेश राजनीतिक दल र यसका नेताहरुले आत्मसाग गरेका रहेछन भन्ने तथ्य सरकार गठन र त्यसपछिका प्राथमिकताहरुले छर्लंङग बनाएको छ । एउटा एउटा घटनाले नेपाली राजनीतिलाई प्रभावित एवं तरंगित बनाएको देखिन्छ । नाकावन्दिको घटनाले ओलीलाई ठूलो राष्ट्रवादी बनायो र त्यसको मूल्यांकनाका आधारमा एमाले माओवादी गठवन्धन हुँदै नेकपाको स्पष्ट बहुमत आयो । ओली प्रधानमन्त्री बने । हुने नहुँने,संभव असंभव सबै नारा र सपना देखाए । पुरा हुने सम्भावना र क्षमता नभएकाले ति त अधुरै अधुरै रहे । सक्ने र हुने काम पनि भएन । आशा र विश्वास पनि बचाउने काम ओली सरकारले गर्न सकेन । भ्रष्टाचार,अनियमितता, नातावद,कृपावाद र गुटवन्दीको शिकार बन्यो जनताको अभिमत । सत्ता उन्मादले दल भित्र, बाहिर,सरकारमा, नियुक्तिमा मात्र होइन संविधानसभाले गरेको संवैधानिक एवं कानूनी प्रवन्धमाथि समेत ओलीले हमला गरे । जसलाई नेपाली जनता, प्रतिपक्ष दल, सरोेकारवालाहरुले मात्र होइन,उनकै दलका समर्थक, सुभेच्छुक, नेता तथा कार्यकर्ताले पनि स्वीकार गर्न नसक्दा परिस्थितिले ओलीलाई रक्षात्मक अवस्थामा ल्याईपुर्याएको छ ।

कोरोना कहरमा विश्व छट्पटाइरहेको अवस्थामा असान्दर्भिक अध्यादेश आयो, तुरुन्तै खारेज भयो । सरकारको अपरिपक्ता छताछुल्ल भयो । संविधानसभाले सहमतिमा बनाएको संविधान र कानूनलाई संशोधन गर्ने किसिमले ल्याएको अध्यादेश न संविधान सम्वत थियो न तत्कालको आवस्यकता नै । अनावस्यक र विवादास्पद नियमलाई उठान गरेर सरकार असजिलोमा फस्न पुग्यो । जुन शासन व्यवस्था र प्रणालीको सिद्धान्त, मुल्य मान्यता र आदर्शमा आधारित संविधान हो । त्यही बमोजिमको संवैधानिक एवं कानूनी प्रवन्धलाई चलाउने र आफ्नो अभिष्ट स्वेच्छचारी र अधिनायकवादी शैली नै हो भन्ने आभास ओलीले दिन खोजे । त्यसले ओलीलाई पार्टी भित्र नै कमजोर बनायो । बलियो र शक्तिशाली देखिएका ओली एकाएक कमजोर र रक्षात्मक बन्न पुगे । हुनत ओलीको गठवन्धन विश्वासयोग्य थिएन । एमालेमा हुँदै बामदेवको समर्थनमा अध्यक्ष बन्दा बामदेवसंग भए/गरिएको सम्झौक्ता पुरा गर्न सक्ने अवस्थामा ओली थिएनन । चुनाव नै ओलीले हराएको आशंका बामदेवको मस्तिष्कबाट हट्न सकेको थिएन । माओवादीको एकता पश्चात प्रतिश्पर्धीहरु धेरै थिए । ओलीलाई पुष्पकमलको साथ प्राप्त भएपछि अन्य व्यक्तिहरुको समर्थन र सहयोगको खासै आवस्यकता पनि थिएन । केही समय त उनले त्यसै गरी चलाए । तर, पुष्पकमल पनि सत्ता बाहिर बस्न सक्ने स्वभावका थिएनन र होइनन । बाहिर बसेर भूमिका विहिन अध्यक्षमात्र बन्न दाहालले नेकपा माओवादी केन्द्रलाई नेकपा एमालेमा विलय गराएका पक्कै थिएनन । असन्तुष्ट भएका नेपाल, खनाल र गौतम उपयुक्त समयको पर्खाइमा थिए । कतिबेला पुष्पकमलाई ओलीबाट टढा बनाउन सकिन्छ भन्ने उनीहरुले च्याखे थापिरहेका थिए । च्याखे नै परेन, ओलीलाई अध्यादेश रुपी धरापमा नै समाप्त गर्नु पर्छ भन्ने अन्तिम निश्कर्षमा पुगेका तत्कालिन एमालेका शीर्ष नेताहरुले यतिबेला अस्थिर राजनीतिक खेलाडी प्रचण्डको बलियो साथ, समर्थन र सहयोग पाएका छन ।

कम्युनिष्टहरुको चरित्र बुझेका र नेपालका कम्युनिष्टहरुलाई नजिकबाट चिनेका मानिसहरुलाई अहिलेको रस्साकस्सी अनौठो लागेको छैन ।स्वभाविक रुपमा लिएका छन। ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट जसरी पनि राजीनामा गर्न बाध्य बनाउने यो भन्दा उपर्युक्त मौका अर्को आउदैन भन्ने बुझेकाहरुले कस्तो निकास दिन्छन हेर्न बाँकी छ । ओली सितिमिति गल्ने स्वभावका होइनन। मिर्गौला प्रत्यारोपण र त्यसको सफलताबाट आत्तिएका दाहाल,नेपाल,खनाल र गौतम अब धैर्यता राख्ने पक्षमा देखिदैनन । उमेरले पनि आगामी कार्यकालका लागि साथ नदिने उनीहरुको चिन्ता छ । स्वास्थ्यको खरावीबाट ओली सुरक्षित भएको अनुमान लगाएका उनका प्रतिश्पर्धीहरु यो मौकामा चौका हन्नु पर्छ भन्ने अन्तिम निश्कर्षमा नै देखिन्छन ।
जनता निराश छन । न ओलीसंग खुसी छन न त दाहाल, नेपालसंग नै विश्वस्त छन । प्रतिपक्ष दल सरकार बनाउन सक्ने हैसियतमा छैन । लोकतान्त्रिक शासन व्यवस्था कम्युनिष्टहरुले सफल बनाउछन भन्ने कसैलाई लाग्दैन । निश्चित रुपमा कांग्रेसको विगतदेखिकै कमिकमजोरीका कारण कम्युनिष्ट नाउका लिंग स्पष्ट नभएका अवसरवादीहरु सरकारमा पुगेका छन । यसको दोश जति कम्युनिष्ट पार्टीलाई जान्छ ,त्यो भन्दा कम दोशी कांग्रेस छ । तर पनि पछल्लो निर्वाचनको जनमत ओलीको नाउमा आएकोमा विवद छैन ।जति खराव भएपनि दाहाल,नेपाल, खनाल, गौतमलाई भन्दा बढी आश र विश्वास ओलीलाई नै गरिएको हो र छ । उनलाई गलहत्याउन त्यति सहज देखिदैन । सहजै सत्ता र पार्टीको सर्वोच्च पद सुम्पिन ओली तयार होलन भन्ने कसैलाई लाग्दैन । प्रचण्ड चारैतिर भाडभैलो गरी आफ्नो प्रभूत्व स्थापित गर्न चाहान्छन। उनी ओलीभन्दा अझ बढी खराव, भ्रष्ट र आफन्तवाद चाहान्छन भन्ने आम मानिसले बुझेका छन । ओलीको विकल्प सुधारिएका ओली नै हुन । ओलीले सर्वप्रथम लोकतान्त्रिक पद्धति र प्रणालीप्रति पूर्ण प्रतिवद्धता र इमान्दारिता देखाई भ्रष्टाचार, नातावाद,कृपावाद र कुशासनलाई सुशासनमा रुपान्तरण गर्ने विश्वास दिलाउन सक्नु पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *