धिमाल जाति नेपालको लोहन्दखोला मोरङ र रतुवामाई झापामा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । यस जाति छिमेकी राष्ट्र भारतको सिलगुडी र आसाममा पनि बसोबास गर्दै आइरहेका छन् । यी दुई देशमा बसोबास गर्ने अल्पसङ्ख्यक जाति धिमालको रहनसहन, लवाइखवाई वेशभूषालाई हेर्दा मिल्दोजुल्दो देखिन्छ । धिमालहरू जङ्गल र नदीको आसपासमा बसोबास गर्न रुचाउँछन् । नेपालको जनगणना २०६८ ले धिमालहरूको जनसङ्ख्या महिला १४, १८४ र पुरुष १२, ११४ गरी जम्मा २६, २९८ उल्लेख गरेको छ ।
मकरण तथा उत्पत्तिको प्रसङ्गलाई धिमाल जातिका विषयमा अध्ययन गर्ने केही विद्वान्हरूले व्युत्पत्तिमूलक रोचक प्रसङ्ग उठाएका छन् । यस जातिको भाषामा ‘दि’को अर्थ पानी र नदी हुन्छ । ‘दि’सँग संयुक्त भएर बनेको ‘दिहोङ’ ‘दिगारो’ आदि शब्दावलीहरू आसामतिर प्रचलित छन् । ‘दिमाल’ हुँदाहुँदै धिमाल हुन धेरै सम्भव छ । यसै गरी अर्को तर्क अनुसार ‘धि’ को अर्थ नदीको छेउमा र ‘मालो’ को अर्थ ‘बेपत्ता’ हुनेबाट बनेको धिमालोबाट धिमाल भयो कि भन्ने पनि छ१ । कोही त धिमालहरू उत्तर–पूर्वबाट आएको कुरा बताउँदै ‘हिमाल’ शब्दबाट नै धिमाल बनेको (अड्कलबाजी) कुरा पनि गर्दछन् ।२ छिमेकी अन्य जाति विशेष गरी थारू तथा राजवंशीहरू धिमाललाई ‘ढेमाल’ भन्दछन् । ढेमाल शब्द ढीमालोबाटै ढेमालो भई ‘ढेमाल’ भएको पनि हुन सक्दछ । धिमाल भाषामा ढीमाल शब्दको अर्थ खोज्नु हो भने ‘ढे’ (धे) को अर्थ छुट्टिएको र ‘माल’ भनेको मधेस भन्ने हुन्छ । ढेमाल शब्दको धिमाली भाषाको यो अर्थ बहुसङ्ख्यक धिमालहरूले किरात शाखाका लिम्बू या राई दाजुहरूसँग छुिट्टई मधेसमा बस्न थालेको प्रसङ्ग मिल्दछ ।३ ज्यादै पिछडिएर बसेका धिमालहरू नेपालका सबभन्दा पिछडिएका जातमा आउने शिर ठाडो पार्न नसकेका, अचेतन, ज्यादै दीनहीन साना समूहका जातिमध्येको एक जाति हो । ज्यादाजसो राजवंशी र मेचे जातिसँग सहवास गर्न धिमाल जातिलाई आआफ्नो भाषाअनुसार राजवंशीले ढेमाल, मेचेहरूले हाइको र आफन्तहरूले मधेसका लिम्बू भन्ने गर्दछन् ।४ समय समयमा मानिसहरू अनेक प्रकारका कथा, अड्कलबाजीहरूको चर्चा फिँजाउँछन् । अनि यस्ता चर्चा र अड्कलबाजीहरू घतलाग्दा हुन गएमा यसको वास्तविकता र सम्भाव्यतापट्टि पनि उतिसारो ध्यानै नदिई मानिसहरू यी कथा र अड्कलबाजीहरूलाई दोहो¥याउने गर्छन् । यस्तै कथा धिमालहरूको छ । यो कति सत्य हो वा होइन भन्ने कुरा बडो यत्नपूर्वक सुव्यवस्थित तरिकाले योग्य र अनुभवी विद्वान्द्वारा अध्ययन खोज–अनुसन्धान गरी टुङ्गो नलगाएसम्म यसै हो भन्न सकिँदैन ।५धिमाल जातिको उत्पत्तिसम्बन्धी पृथक लोकोक्तिहरू रहेको छ । एक लोकोक्तिअनुसार पूर्वकालमा दुई दाजुभाइ काशीबाट बसाइँ सर्ने क्रममा तराईमा आइपुग्दा भाइले बाटो बिराउँछ र मधेसतिर अलमलिएछ । पहाडतिर गएका दाजु त्यतैतिर घरजम बसालेछ । यसरी मधेसतिर बस्ने भाइको थर धिमाल र पहाडतिर बस्ने दाइको थरचाहिँ लिम्बू रहन गयो । धिमालहरू लिम्बूहरूका दाजुभाइ भएको विश्वास गर्छन् अहिले पनि । यिनीहरू काशीबाट आएको हुँदा आफ्नो जातिको गोत्र काशी नै मान्दछन् ।

अर्को लोकोक्तिअनुसार – धिमालहरू पहाडका घले मगर राजाका सैनिकहरूसँग मिलेर काम गर्थे । मधेसमा आक्रमण गर्न जाने क्रममा हार खाई तितरबितर हुन पुगेको भन्ने भनाइ रहेको छ ।
अर्को एक लोकोक्तिअनुसार यिनीहरू काशीका निवासी थिए । यिनीहरू परशुरामका अनुचारक थिए । यिनीहरूले कुनै कारणवश परशुरामको हलो नदीमा फालिदिए । यो कुरा परशुरामले थाहा पाएको पत्तो पाउनासाथ यिनीहरू त्यहाँबाट प्राण जोगाउन भागी झापाको जङ्गलमा घुसेका हुन् । त्यसकारण यिनीहरूको गोत्र पनि काशी रहेको हो भन्ने भनाइ छ । त्यसै गरी यिनीहरू किरातका शाखासन्तान हुन् भन्ने पनि धेरैले विश्वास गर्दछन् ।६
माथि उल्लिखित विभिन्न कथाहरूको सर्वेक्षणले धिमालहरूको जातीय सम्बन्ध किरातीहरूसँग नजिकको भएको तथ्यलाई पुष्टि गर्दछ । उनीहरू पनि कोचे, मेचे, लिम्बू, राई, थारू, दनुवारलाई नै आफ्ना दाजुभाइ भनी दाबी गर्दछन् । इमानसिंह चेमजोङले पनि वंशावली तथा मिल्दो रीतिरिबाजका आधारमा धिमालहरूलाई किराती शाखाबाटै विकसित भएको मानेका छन् । अर्कोतिर भोट–बर्मेली शाखामा पर्ने यही धिमाल भाषामा देखा पर्ने आग्नेय (Astric) भाषाको असर र प्रभाव तथा पहाडका अन्य किराती जातिमा नपाइने केही प्रजातीय लक्षण धिमाल जातिमा पाइएकाले इतिहासको कुनै बेला भारतीय उपमहाद्वीपमा बस्ने आग्नेय जातिसँग यिनीहरूको सम्बन्ध रहेको अनुमान गर्नुपर्ने हुन्छ । धिमाल भाषामा, प्राचीन मुण्डा जातिको भाषाको केही प्रभाव रहेको आरोप पनि स्वयम् भाषा शास्त्रीहरूले गरेका छन् ।७
नेपालमा मङ्गोल जातिका मान्छेहरू भोट–मङ्गोल शाखा र हिन्दू–मङ्गोल शाखा गरी दुई थरीका छन् । भोट–मङ्गोल शाखाका जातिहरू नेपालमा उत्तर भोटबाट सीधै पसेका हुन् । धेरैजसो उनीहरूको बस्ती हिमाली भेकमा पर्दछ । तर हिन्दू–मङ्ंगोल शाखाका मान्छेहरू हिन्दुस्तान भएर नेपाल भित्रिएका हुन् । उनीहरू पहाड र तराईमा छरिएका छन् । ८
धिमालहरूको शारीरिक बनावटलाई झट्ट नियाल्दा मङ्गोलियन जातिहरू, जस्तै : कालो वर्ण, थेप्चो नाक, मोटा घाटा, मोटा ओठ, ससाना आँखा हुन्छ । तराई प्रदेशमा बसोबास गर्ने हुँदा मौसमअनुसारका लुगाहरू लगाउँछन् धिमालहरू । पुरुषहरू पहिरनको हकमा लँगौटी, भोटो, फेटा, टोपी आदि लगाउँछन् भने महिलाहरू घाँटीदेखि घुँडासम्म लगाउने लुगा लगाउँछन् । जुन लुगाहरू धिमाल जातिको भाषामा बोना भनिन्छ । महिलाहरूले घाँटी, हातखुट्टामा लगाउने गहनाहरू आकर्षक हुन्छन् । यिनै गहनाको आधारमा धिमाल जातिको महिला हो भनी सजिलैसँग छुट्याउन सकिन्छ ।
लगाइने गहनाहरू सिल्बर र पित्तलद्वारा निर्मित हुन्छ । सुनबाट निर्मित गहनाहरू धिमाल महिलाहरू लगाउँदैनन् । महिलाहरू हातखुट्टा र छातीमा गोदान खोप्ने गर्छन् । आफ्नो शरीर मृत भएर गए तापनि गोदान आफैँसँग स्वर्गलोक जाने कुरामा विश्वास गर्छन्–धिमालहरू ।
यस जातिको घर माटो, काठ, ढुङ्गाद्वारा निर्मित प्रायः गरी भुइँतलाको हुन्छ । ३-४ परिवार मिली बीचमा प्रशस्त आँगन छाडेका हुन्छन् । परिवारमा ४ देखि ८-१० जना सदस्य सङ्ख्या रहेका हुन्छन् । परिवारको सङ्ख्या ठूलो रहेका सन्तानहरू कोठाको अभावका कारण घरको आँगनमा सुत्ने गर्दछन् ।
धिमाल गाउँहरूको नाउँ ऐतिहासिक तथा सांस्कृतिक व्यक्तिहरू र सामान्य व्यक्तिहरूसँग सम्बन्धित केही छन्, तर रूख, बिरुवा, खोलानाला, पशुपक्षी आदिका आधारमा राखिएको बढी भेटिएका छन् ।९
यिनीहरूको मुख्य पेसा भनेको नै खेती किसानी हो । खेतबारीमा प्रयोग हुने कम्पोस्ट मलका साथै मासुका लागि गाईबस्तु र पक्षीहरू पाल्ने गर्दछन् । महिलाहरू फुर्सदको समयमा चर्खातानद्वारा कपडा बुन्ने कार्य गर्दछन् । अहिले यस जातिका व्यक्तिहरू नोकरी र सानातिना व्यापार–व्यवसायतिर पनि लागेको देखिन्छ । फुर्सदको समयमा युवाहरू माछा मार्ने र सिकार खेल्ने काम पनि गर्दै आएका छन् ।
धिमालहरू त्यति पढेलेखेका छैनन् । तर घरगाउँको छेउछाउमा विद्यालयहरू बनेपछि धेरथोर प्रभाव नपरी रहन सक्दैन । विद्यालय पढ्न जाने धिमाल केटाकेटीहरूको सङ्ख्या क्रमशः बढेको पाइन्छ । नयाँ शिक्षाको थालनीमा ३.१ प्रतिशतले धिमाल केटाकेटीहरू पढ्न जान्थे भने ४ वर्षपछि त्यो प्रतिशत ७.३ मा परिणत भएको पाइएको छ । त्यही अवधीमा बाहुन क्षत्रीको सङ्ख्या ७३.५ प्रतिशतबाट ७३.८ प्रतिशत पुगेको छ ।
किरातहरूको शाखासन्तान मानिन्छ धिमालहरूलाई । आफूहरूले मान्दै आएका विभिन्न चाडपर्व, उत्सव, मेलाहरूमा बाजागाजा बजाउनुका साथै नेपाली तथा हिन्दी भाषामा गीतहरू गाउँछन् । धिमाल जातिका युवायुवतीहरू आफ्नै पहिरनमा सजिएर नाचगान गर्दछन् ।
धिमालहरू गीतप्रेमी जाति त हुन् तर धिमाल लोकगीतमा लयात्मक विविधता कम देखिन्छ । यसको कारण सोध्दा धिमालहरू सरस्वतीले गीत बाड्ँदा आफूले चिचिण्डो लिएर थापेको, त्यो पनि जाँडले मात्तिँदा थाम्न नसकी बाटोमा फुटेकोले केवल ‘जारी सानो’ बाँकी रहेको बताउँछन् । त्यसैले उनीहरूको गीतको सुरु र अन्त्यमा जारी सोना हुन्छ । धिमालहरू जारी सोनादेखि अरूलाई गीत भन्न उति मन पनि पराउँदैनन् । जारी सोना बसेर गाइने हुनाले बैठाङ्गी रूपमा पनि प्रसिद्ध छ । उनीहरूको गीत गाउने विशेष अवसर विवाह, असारे पूजा र पार्वा (तिहार) हो । जारी सोना दोहोरी गाउन थालेपछि धिमाल गायक–गायिकाहरू दिन–रात एक बनाँउछन्, अन्य लोकगीतमा तुरिया र पाटोका पारा विशेष उल्लेखनीय छन् । १० धिमाल नृत्यका निश्चित नियमहरू थिए, तर ती नियमहरू अचेल उति पालन गरिँदैनन् । धिमालहरू नाच विशेषतः पार्वा (तिहार) मा गर्छन् । अगाडि यो नाच औँसीमा थालेर पूर्णेमा तुरिने गरिन्थ्यो । नाचका विभिन्न मुद्रा र अवस्थाहरू छन् । तीमध्ये ‘पोया पोको’ (पोया माछा सोहोर्ने), उतुङ्गा (उफ्रने), विन्दा हेक (हिलो छ्याप्ने ) आदि त ओझा पनि जीवित छन् । धिमाल नर्तक या नर्तकी घावा वा आल्गी (बुनेको बर्के) ले दुलहीले झैँ घुम्टो हालेर, दुवै हात फैलाई केराको पात हावामा हल्लेझै मन्द गतिले नाच्छन् । गीत विस्तार चर्काउँदै तालअनुसार नतर्क–नर्तकी तथा वादकहरू गोलाकार रूपमा उफ्रँदै घुम्ने पनि गर्छन् । नाचको विषयमा सोधपुछ गर्दा धिमाल बूढाबूढी हल्लेको केराको पातको नक्कल गरेर नाच्न सिकेको कुरा धक नमानी भन्छन् । ११
धिमालका थरहरू धेरै छन् । यद्यपि ती थरहरूमध्ये केही निम्न छन् । जस्तै राजथारू, वाङमाली, नुनिया ढोङ्गे, कान्तिला थारू, राजधुम, हर्दिया ढोङ्गे, काशिया, रादिङ, पोरङ्गे, तेङ्माली, सिङ्माली, दिङ्ग, तेप्रे, सिमलदोङ्गे, धिमाल, सूर्यदोङ्गे, तेग्रेवाहुन, गोङ्ञ्याङ, राजदिङ, काशिया दोङ्गे, चाइमाली, लाटेर थारू, पसेर, दुम मुरमी, तालीपा, नुनीया, दिङदोङ, राराख, बङ्गोल, जागौँ, लेवाङ, कोचले, दिङ माली, वाइस, बङलाइती, नुनीया थारू, आवोल दोङ्गे, उनीया, तुहेङ्ग आदि ।
धिमालमा जातिबाट उपजाति (Subtribe or Ethnic group) बनिएको देखिँदैन । बोल्दा धिमालहरू आफूलाई पूर्वेली र पश्चिमेली धिमाल भने पनि यो जातीय विभिन्नता नभई भौगोलिक विभाजन मात्रै हो । सूक्ष्म रूपले हेर्दा यी दुवै पूर्वेली र पश्चिमिली धिमालमा सामान्य भाषिक विभिन्नता र सांस्कृतिक परम्परा पाइए पनि ती विभिन्नताहरू त्यस क्षेत्रमा बसोबास गर्ने अन्य जातिहरूको सांस्कृतिक परम्पराको उपज हो । (Process of Acculturation) र त्यसदेखि मुनि उपथर (Sub clan) थर धिमालमा कुनै काल्पनिक व्यक्ति वा कुनै सजीव वा निर्जीव वस्तुको एकाइ भन्ने बुझिन्छ तर त्यस्तो व्यक्ति वा चीज कहिले, कहाँ र कसरी आयो धिमालहरूलाई थाहा छैन । नेपालका राई, लिम्बूहरूसरह धिमालमा कुनै खास थरले खास क्षेत्रभित्र सीमित भई बसोबास गरेको पाइँदैन ।१२
जसरी मेचेलाई राईका भाइखलक भनिन्छ । उसै गरी धिमाललाई लिम्बूका भाइखलक भनिन्छ । मेचेको कद राइसँग मिलेझैँ धिमालहरूको कद लिम्बूसँग मिल्दछ । कदबाहेक रङरोगन र अरू प्रायः धेरै कुरा मिल्दैनन् । संस्कारगत धिमाल तराईका लिम्बू र लिम्बू पहाडका धिमाल मानी यिनीहरू आपसमा बिहेबारी गर्न आफ्नो जातपछिको दोस्रो नजिकको जात ठान्दछन् । यिनीहरूलाई हिन्दू मङ्गोल सजातिको एक शाखा मानिन्छ ।१३ नेपालका कतिपय किराती मङ्गोली समूह पनि दक्षिण र उत्तरको सम्मिश्रणबाट बनेको पाइन्छ । कहिलेकाहीँ मातृप्रधान र प्रायः पितृप्रधानका आधारले समेत नाउँ, थर र चलनलाई प्रशस्त असर गरेको पाइन्छ । दक्षिणबाट आएका प्रायः काशी गोत्र र उत्तरबाट आएका प्रायः ल्हासा गोत्र र सम्मिश्रण पनि कुनै एकै गोत्रमा रहेको पाइन्छ ।१४
हरेक समाजसरह धिमालहरू पनि आफ्ना नाता–कुटुम्बलाई दुई प्रहारले छुट्याउँछन्– (क) रगतको नाता र (ख) बैवाहिक नाता । रगतको नाताअन्तर्गत बुबा, काका, छोरा, नाति, भाइ वंशज आदि आउनुको साथै वैवाहिक नातामा मामा, साला, साली, सासू, ससुरा आदि आउँछन् । यसबाहेक तेस्रो प्रकारको साइनो पनि धिमाल समाजमा प्रचलित छ जसलाई गाउँका इष्टमित्र साक्षी राखी कायम गरिन्छ, जस्तै : मितेरी साइनो, धर्मपुत्र, पुत्री आदि । धिमाल वैवाहिक सम्बन्धको नातेदारीलाई भन्दा उक्त सम्बन्धलाई दरो र सम्बन्ध नटुङ्गिने मान्दछन् । अतः मामाभन्दा काका धेरै नजिक हुन्छ ।
नाता कुटुम्बको आफ्नै प्रकारको बोलाउने नाम छ । यी नाता–कुटुम्बलाई पाँच पुस्तासम्म छुट्ट्याई धिमालहरू एक–अर्को साइनोलाई प्रयोग एउटै देखिए (जस्तो बढी–भाइको छोरा । छोरी बहिनीको छोरा, छोरी, सालाको छोरा, छोरी, पनाति, पनातिनी आदि) बाहिरी व्यक्तिलाई सम्बन्ध छुट्याउन अप्ठ्यारो भए तापनि सम्बन्धित व्यक्तिहरूलाई कस्तो साइनो प्रयोग गरियो भन्ने प्रस्ट थाहा हुन्छ ।
यसबाहेक धिमाल समाजमा विभिन्न साइनोहरू बीच ठट्टा गर्ने चलन (जस्तो : सालो, साली र भेना, सोल्टी आदि) छ तर खास साइनोहरूमा भने (जस्तो : सासू, ससुरा, आमाजू ) प्रतिबन्ध छ । ।१५
परिवारको कुनै सदस्य बिरामी भएमा धिमालहरू ओझालाई बोलाएर झारफुक तथा देवी–देवताको मानमनितो गर्न लगाउँछन् । धिमाल धामी र ओझा अन्तर छ । धिमाल धामी खासमा ग्राम–थानको पुजारी हो । उसले सम्पूर्ण गाउँको रक्षाको निमित्त गाउँका प्रमुख देवी–देवता मनाउन पर्दछ । उसले सम्पूर्ण गाउँको सामूहिक हितलाई ध्यान दिन्छ । गाउँमा हैजा जस्तो सङ्क्रमण महामारी आउने सम्भावना भए उसैले अगाडि बढेर गाउँलाई बाँध्ने, महामारीलाई गाउँ बाहिरबाट फर्काउने काम गर्दछ । तर जातिको कुनै सदस्य वा व्यक्तिविशेषको औषधोपचार भने ओझाले नै गर्दछ । ओझालाई पनि धर्म, बिजुवा, झाँक्री आदि भए पनि विशेष ओझा लाउने प्रचलन बढी नै देखिन्छ ।
ओझाले के देवता लागेको, कसले दोख गरेको, कान्छी औँलामा डोरीले ढुङ्गा झुन्ड्याएर ओझा भोक गरी छुट्याउँछ । धिमाल ओझाहरू झुन्ड्याउने नझुन्ड्याउने दुवै प्रकारका हुन्छन् । यी ओझाहरू विशेष गरेर आइमाई तथा बालबच्चासम्बन्धी रोगमा केन्द्रित छन् । यिनीहरू औषधोपचार गर्दा कहिलेकाहीँ जडीबुटी दिने, पानी फुकेर ख्वाउने वा थाङ्नाले झार्ने गर्दछन् ।
धिमाल ओझाहरू धेरै जसो आफ्नो शिक्षा–दीक्षा सपनामा भएको बताउँछन् । ओझा– कर्म, धिमाल समाजमा पेसाको रूपमा पूर्ण प्रचलित नभए पनि पैतृक रूपमा छोरा नातिमा सर्दै गएको पाइन्छ । धिमाल ओझा आफूलाई पापगुन भएका बोक्सीहरूभन्दा निर्बलिया ठान्छन् । ।१६

धिमाल जातिको आफ्नै भाषा रहेको छ । आग्नेली खलकको भाषा बोल्ने धिमालको भाषा लिपि भने छैन । धिमाल भाषामा कसलाई के भनिन्छ । तल हेरौँ
नेपाली भाषा धिमाल भाषा
काँक्रो ताइसे
करेला कोरेला
गोलभेँडा गोलभेन्टा
घिरौँला घेरा
सिमी चेन्से
बोडी घोन्ताल
लौका तोकरा
फर्सी फारसी
खुर्सानी मार्ची
मूला मुलाई
आलु बेलाइती
कर्कला दुसार
उखु कुस्यार
अमला अमुला
आँप तोर्से
काफल गाल्फेङ
बयर वागुरी
केरा लुम्फी
नरिवल हुक्कागाता
अम्बा सि–विलायिती
रूख कटहर दाम्से
घर शा
चुलो आखा
भान्साघर उमगाकाशा
खोपा चाकी
दैलो फिनु
भकारी भकार शा
आँगन शालिक
भात उङ
पीठो तोले
खाना चाका
रक्सी चुहाइएका गोरा
जाँ ड रोगोरा
सेल छेली
दूध दूधे
चिउरा मुन
मासु व्या
मह वायाको दिका
तरकारी सार
माछा हाया
अन्डा तुई
धिमालहरू घरभित्र र घरबाहिर (सामूहिक) का गरी जम्मा दुई देवताहरू मान्दछन् । घरमा गरिने पूजा देवतामा देवी, काली र मसान हुन् भने घरबाहिर सामूहिक रूपमा गरिने पूजा देवतामा बूढा ठाकुर, खोला ठाकुर, धरम ठाकुर, वागेश्वरी पार्वती, खोतार आदि हुन् । आफ्नो सन्ततिलाई खुसी र दैवी प्रकोपबाट सुरक्षित राख्न देवीदेवताहरूको पूजाआजा निरन्तर गर्ने गर्दछन् ।
यस जातिको प्रमुख चाडहरूमा सिरजात, पार्वा, फागु, नवाङ्गी, मेला, सिरजात, औँसी पूजा आदि हुन् । प्रत्येक चाडपर्वमा पूजाआजा गर्दा परेवा, कुखुरा आदिको बलि दिने चलन छ ।
नेपालको अन्य जातिमा जस्तै धिमालहरूको पनि आफ्नै जातीय सङ्गठन छ जसमा मुख्यः मानिस ‘माझी’ भन्ने वंशानुक्रमले आउने पदाधिकारी हुन्छ । गाउँको माझीले यिनीहरूको जातीय झैझगडा जस्तै घरकलह, चोरी, पारपाचुके, केटी भगाएको, भोजभतेरसम्बन्धी मामिलाहरू हेर्दछन् । साथै धार्मिक पर्वहरूमा पनि मुख्यतया सबै मिलेर मनाउन पर्ने पर्व जस्तै असारे पूजामा गाउँको माझीले नै नेतृत्व गरेको हुन्छ ।१७
धिमाल जातिमा शिशु जन्मेको अवस्थालाई साधारण रूपमा लिने चलन छ । बच्चा जन्मेको बच्चा र सुत्केरीलाई नुवाइधुवाइ गरिदिन्छन् । बच्चाको नाम राख्दा जन्मेको बार, फलफूल आदिको नाममा राख्ने गरिन्छ । सुत्केरी हुँदाको अवस्थामा महिलालाई माछा, मासु, खान दिन्छन् ।
मागी, चोरी, जबरजस्ती र सुपारी गरी जम्मा चार विवाह प्रचलित छन् –धिमाल समाजमा । यी चार विवाहमध्ये सबैभन्दा सर्वोपरि मागी विवाह मानिन्छ । विवाह आफ्नो नातागोता, कुटुम्बबीच आफ्नै गाउँघरमा गरिने चलन छ ।
विवाह प्रायः उमेर पुगेकाहरूमा राजीखुसी साथ हुन्छ । उनीहरूमा मागी विवाह पनि चोरी विवाहमा जस्तो केटीमाथि हातपात गरेको अभिनय गरेमा मात्र विवाह प्राप्त छ भन्ने अनौठो विश्वास पाइन्छ । उनीहरूमा विवाहको भोजभतेर आफ्नो अनुकूल हेरेर गर्न सकिने व्यवस्था छ । औपचारिक रूपमा गरिने विवाह विधिविधानका साथ बाजागाजा गरी गरिन्छ । विवाहका कार्यमा गाउकोे नेता रूपको माझी र धार्मिक प्रतिनिधि रूपको धामीको मन्जुरी र सहयोग अनिवार्य मानिन्छ ।१८

धिमाल जातिमा लासलाई गाड्ने चलन छ । यद्यपि समाजमा रहेका अन्य जातिको प्रभावले लासलाई जलाउने चलन पनि चल्न थालेको छ । लासलाई गाड्दा मृतकको गरगहना, लत्ताकपडा साथमा राखी गाड्ने गरिन्छ । यसो गरेमा मृतकले स्वर्गलोकमा गई गाडिएको सामान साथमा लगी भोगचलन गर्न पाइन्छ भन्ने जनविश्वास विद्यमान रहेको छ । मृतकको काजकिरिया ३ देखि १३ दिनभित्रमा गरिन्छ । चोख्याइएको दिन घरगाउँले, इष्टमित्रलाई डाकी सत्कारपूर्वक भोज खान दिइन्छ । यद्यपि चोख्यान गर्ने भोजमा महिलाहरूको सहभागिता रहन जाँदैन । मृतकको छोरा वा स्वास्नीले बरखी बार्ने चलन छैन । यस जातिको विधवा र सधवा महिला छुट्याउन सकिँदैन ।
पादटिप्पणी
१, श्रेष्ठ, स्वयम्भूलाल, हामी नेपाली (श्रेष्ठ प्रकाशन, काठमाडौँ ) २०२८, पृष्ठ ४७ ।
२, रेग्मी, डा. जगदीशचन्द, प्राचीन नेपालको राजनैतिक इतिहास, नेप्रप्र काठमाडौँं), २०३३, पृष्ठ २३ ।
३, दिवस, तुलसी, (धिमाल लोकधर्म र संस्कृति, नेप्रप काठमाडौँ) २०३९, पृष्ठ २ ।
४, पन्त, शास्त्रदत्त, झापाका आदीवासी (साझा प्रकाशन : काठमाडौँ) २०४१, पृष्ठ १०७ ।
५, विष्ट, डोरबहादुर, सबै जातको फूलबारी (साझा प्रकाशन : काठमाडौँं), पृष्ठ ९८ ।
६, पन्त, पूर्ववत्, पृष्ठ १०७ ।
७., ग्रियसन, जी. आर. –लिगोस्टिक सर्भे अफ इन्डिया भोलुम–१, पार्ट १, सन् १९२७ (सेन्टर पब्लिकेसन ब्रान्च कलकत्ता ), पृष्ठ ५७ ।
८, दिवस, पूर्ववत्, पृष्ठ १० ।
९, ऐजन, पृष्ठ १८ ।
१०, धिमाल लोकजीवन अध्ययन, पृष्ठ २१, २०२९– ३० (माघ –फाल्गुन), नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौँ ।
११, ऐजन, पृष्ठ २३ ।
१२. दाहाल, डिल्लीराम, लोकजीवन अध्ययन, नेरा.प्र.प्र.२०३६, पृष्ठ १६ ।
१३. नेपाली, रोहितकुमार– दोधारे र कारेकोशीका धिमाल, २०३५, पृष्ठ ११ ।
१४. पन्त, पूर्ववत्, पृष्ठ १०८ ।
१५, अध्ययन, पूर्ववत्, पृष्ठ २८ ।
१६, ऐजन, पृष्ठ ३६ ।
१७, मेचीदेखि महाकालीसम्म (सूचना विभाग) २०३१, पृष्ठ ४५० ।
१८, शर्मा, शरदचन्द्र, नेपाल र यसका निवासी, (सूचना विभाग) पृष्ठ ८३ ।




