रोल्पा। बिहिबार रोल्पाको त्रिवेणी गाउँपालिकामा ७ गैरीगाउँमा बेवारिसे बम विस्फोटमा परी दुःखद निधन भएका ४ अबोध बालबालिकाको शव पोस्टमार्टमका लागि दाङ पठाइएको प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार हिजो मृत्युभएका बालबालिकाको छेउमा रहेको बम आज दिउसो डिस्पोज गरेपछि शव पोष्टमार्टमका लागि दाङ घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हाे।
रोल्पाको खड्गदल गण र दाङ घोराहीबाट खटिआएको नेपाली सेनाको टोलीले घटना स्थलमा फेला परेको बम संयुक्त रुपमा डिस्पोज गरेको हो । त्रिवेणी गाउँपालिका वडा नं ४ छेप निबासी लक्ष्मण नेपालीका १३ वर्षका छोरा गौरव नेपाली, त्रिवेणी गाउँपालिका ७ मैतेगातिनाका ओजबहादुर डाँगीका १४ वर्षका छोरा नोखिराम डाँगी, त्रिवेणी गाउँपालिका वडा नं ७ मैतेगातिनाका लालबहादुर केसीकी ११ वर्षकी छोरी विमला केसी र उनकै ५ वर्षिय छोरा विजय केसीको बाख्रा चराएर जंगलबाट फर्कदै गर्दा वम विस्फोटका कारण बिहिबार दुःखद निधन भएको थियो ।
घटनास्थल हिजोदेखि सुरक्षाकर्मीको नियन्त्रणमा थियो । पीडित परिवारले निष्पक्ष रुपमा घटनाका बारेमा छानविन हुनुपर्ने भन्दै उचित क्षतिपूर्तिको माग राखेका छन् । प्रनाउ गुरुङका अनुसार गाउँपालिकाले तत्काल किरिया खर्च उपलब्ध गराउने भएको छ ।




