रोल्पा। नेपाली कांग्रेस रोल्पाले आज प्रेस विज्ञप्ती जारी गर्दै बिहिबार त्रिवेणी गाउँपालिका वडा नं ७ गैरीगाउँ रोल्पामा बम बिष्फोटमा परी दिवंगत भएका बालबालिकालाई शहिद घोषणा गर्न सरकारसंग जोडदार माग गरेको छ ।
नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनद्वारा हस्ताक्षरित विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । दिवंगत भएका चारै जना बालबालिकालाई सरकारले सशस्त्र विद्रोहका बेला निधन भएका व्यक्ती सरह शहिद घोषणा गरी सोही बमोजिम यथाशिघ्र क्षतिपूर्ती दिलाउन सरकारसंग जोडदार माग गरिएको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् जस्ताको तस्तै विज्ञप्ती :
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ गैरीगाउँ अन्तर्गत पर्ने मैतेगातिना नजिकै उजेरी खोला भन्ने स्थानमा बिहीबार बेवारिसे अवस्थामा रहेको बम विस्फोटमा परी ग्वाला (गोठाला) गएका ४ जना बालबालिकाको निधन भएको खबरले नेपाली काँग्रेस जिल्ला कार्य समिति रोल्पा स्तव्ध भएको छ । कोरोना भाइरस (ऋइख्क्ष्म्(ज्ञढ) ले विश्वव्यापी रुपमा मानवजातिलाई आतङ्कित बनाइरहेको अवस्थामा यस घटनाले आम जनमानसमा त्रास सिर्जना गरी भयभित बनाएकोछ । नेपालमा तत्कालीन माओवादीले चलाएको सशस्त्र विद्रोहलाई शान्तिपूर्ण रुपमा समाधान गरी देश शान्ति प्रकृयामा आएको दशक बितिसक्दा पनि रोल्पा जिल्लाका बिभिन्न ठाउँमा हरेक वर्ष बेवारिसे बम भेटिने गरेका छन् ।यसरी भेटिएका बमले मानिसलाई मानसिक त्रास दिनुका साथै भौतिक समेत पीडा दिएका छन् ।नेपालमा दिगो शान्ति स्थापना गर्नका लागि खटिएकोसंयुक्त राष्ट्रसंघीय मिसन अनमिनले तत्कालीन समयमा हातहतियार व्यवस्थापन गरेको भएता पनि गाउँघर र जंगलहरुमा लुकाइछिपाई राखेका यस्ता बिस्फोटक पदार्थहरु बेलाबेलामा भेटिनुले बिभिन्न ठाउँहरुमा अझैसम्म पनि बम तथा विस्फोटक पदार्थ रहेको अनुमान गर्न सकिन्छ ।यो समस्या समाधानका लागि सरकार, सबै राजनीतिक दल, सुरक्षा निकाय, मानवअधिकारकर्मी तथा सरोकारवाला सबैले बम तथा बिस्फोटक पदार्थको समयमै खोजी गरी डिस्पोजल गर्न जरुरी छ । सशस्त्र विद्रोहको बढि प्रभाव परेको रोल्पाका बिभिन्न भागमा बेलाबेलामा यस्ता बमहरु भेटिने गरेको भएतापनि नेपालभर यस्तो कुराको खोजी र समाधान गरी भयमुक्त वातावरण सिर्जना गर्नका लागि पनि नेपाली काँग्रेस रोल्पा सरकारसंग अनुरोध गर्दछ। यस्तो अकल्पनीय र विभत्स घटनामा परी दिवंगत हुनुभएका त्रिवेणी गाउँपालिका वडा नं ४ छेप निबासी लक्ष्मण नेपालीका छोरा वर्ष १३ का गौरव नेपाली, त्रिवेणी गाउँपालिका ७ मैतेगातिना बस्ने ओजबहादुर डाँगीको छोरा वर्ष १४ को नोखिराम डाँगी, त्रिवेणी गाउँपालिका वडा नं ७ मैतेगातिना बस्ने लालबहादुर केसीकी छोरी वर्ष ११ की विमला केसी र निजकै छोरा वर्ष ५ को विजय केसीलाई सरकारले सशस्त्र विद्रोहका बेला निधन भएका व्यक्ती सरह नै शहिद घोषणा गरी सोही बमोजिम यथाशिघ्र क्षतिपूर्ती दिन सरकारसंग जोडदार माग गर्दै नेपाली काँग्रेस रोल्पा दिवंगत बालबालिकाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछ । जय नेपाल !
तस्बीर : फेसबुकबाट




