ताजा समाचार

वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव दाहाल नेपाल समूहद्धारा अस्वीकार

 काठमाडौं । वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रत्यासित प्रस्ताव दाहाल नेपाल समुहले अस्वीकार गर्ने भएको छ ।
प्रधानमन्त्री ओलीले सत्ता लम्ब्याउन र आफुबिरुद्धको गठबन्धनमा विभाजन ल्याउन ओलीले यस्तो प्रस्ताव ल्याएको उनीहरुले ठहर गरेका छन् । बुधवार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेपाललाई तेस्रो अध्यक्ष र कोरोनाको संक्रमणपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समुहले ओलीको प्रस्तावले निकास नदिने बताएका छन् ।
२० बैशाखमा बस्ने सचिवालय बैठकमा ओलीको पहिले राजीनामा दिनुपर्ने नयाँ सर्त राख्ने भएका छन् ।‘गौतमलाई प्रधानमन्त्री नै बनाउने भएपनि पहिले ओलीले राजीनामा दिनुपर्दछ’, प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले भने ‘उहाँले गठबन्धन टुटाउन क्षेप्यास्त्र हान्नुभएको हो, त्यसले काम नगर्ने भएको छ ।’ दाहाल नेपाल समुहले विहीबार अनौपचारिक छलफल गरेका छन् । छलफलपछि उनीहरुले गौतमलाई प्रधानमन्त्री बनाउने नै भएपनि पहिले ओलीको राजीनामा आउनुपर्ने नयाँ प्रस्ताव गर्ने भएका छन् ।
ओली समस्या सुल्झाउनेभन्दा बुल्झाउनेतिर गरेको निस्कर्ष उनीहरुले निकालेका छन् । ‘गठबन्धन टुटाउने उदेश्यका साथ प्रधानमन्त्रीले यस्तो प्रस्ताव गर्नुभएको हो, उहाँको प्रस्तावले निकास दिँदैन’, नेपाल निकट स्थायी कमिटीका सदस्य रघुजी पन्तले भने ‘वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउन सवै तयार छौ, तर पहिले केपी कमरेडको राजीनामा आउनु पर्दछ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *