कोशी प्रदेश

धरानबासीको तिर्खा मेट्ने एडिवी खानेपानी आयोजनामा चलखेल

धरान।धरानमा परीक्षणकालमा रहेको अरबौंको एडिवी खानेपानी आयोजनामा चलखेल भएको उपभोक्ताहरुले आरोप लगाएका छन् । आयोजना ल्याउने चरणदेखि जिम्मा लिने चरणसम्म चलखेल भएको उनीहरुको आरोप छ ।
नेपाल खानेपानी संस्थान धरान शाखाका तत्कालीन प्रमुख दीपक श्रेष्ठलाई रातारात सरुवा गर्नु, धरान उपमहानगरपालिकामा कार्यकाल पूरा गरी गएका टिकादत्त राईलाई नै कार्यकारी अधिकृतमा पुनः ल्याउनुले चलखेलको आशंका बढेको हो । सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति मार्फत आयोजनाको व्यापक जनविरोध हुंदासमेत मन्त्रालय, राजनीतिक दल, नागरिक समाज, पानी विशेषज्ञ तथा प्राविधकहरुले आयोजनाको पक्षमा वकालत गर्र्दै आएका छन । हाल आएर आयोजनाले डीपीआर बमोजिम खानेपानी उत्पादन र वितरण गर्न नसकेको संयुक्त संघर्ष समितिको ठहर छ । सन् २०३१ सम्मका लागि डिजाईन गरिएको आयोजनाको परीक्षणकालकै चरणमा दुईवटा डिप वेल थप्दा समेत लक्ष्य बमोजिम उत्पादन र वितरण हुन सकेको छैन । लथलिंग अवस्थामा आयोजना जिम्मा लिइनुले आयोजनामा व्यापक चलखेल भएको उपभोक्ताको समितिको आरोप छ ।
आयोजना अनुगमन समितिका संयोजक एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका संयोजक सुजेन्द्र गोलेले धरानका जनता तथा उपभोक्ताहरुले लगाएको आरोपलाई सिधै गलत भन्न नसकिने बताए । गोलेले आयोजनाको फिनान्सीयल अडिट र टेक्निकल अडिट गरेर मात्र आयोजना जिम्मा लिने वा नलिने निर्णय गरिनुपर्ने बताए । रेलवे सिष्टममा २६ एलपिएस (दैनिक २२ लाख ४६ हजार ४ सय लिटर) तथा पिण्डेश्वर सिष्टम र सुम्निमा सिष्टममा ९४ एलपिएस. (दैनिक ८१ लाख २१ हजार ६ सय लिटर) गरी जम्मा दैनिक १ करोड ३ लाख ६८ हजार लिटर पानी उत्पादन गरी दैनिक २४ सै घण्टा ७ मिटरको प्रेसरमा मिनरल वाटर जस्तो गुणस्तरीय पानी वितरण गर्ने उल्लेख छ । आयोजनाको डिजाईन तथा डिपिआरमा स्पष्ट उल्लेख गरिएको भएतापनि यथार्थमा औसत ६२ लाख लिटर पानी उत्पादन भईरहेको, दैनिक एवम् नियमित पानी वितरण नभएको र ट्याङ्करवाट समेत पानी वितरण गर्नुपरिरहेको अवस्था रहेको गोलेले बताए । हाल डिजाईन तथा डिपिआर बाहेक पछि थपिंदै गरिएको दुईवटा वेलको पानी थप गरेर तथा अनुगमन समितिसंग कुनै समन्वय र सहकार्य नगरी आयोजनाको कमजोरी ढाकछोप गर्न धरान उपमहानगरपालिका र धरान खानेपानी व्यवस्थापन बोर्ड उद्दत रहेको उनको बुझाइ छ ।
उनले फुस्रेस्थित वाटर ट्रिटमेन्ट तथा फिल्टर प्लान्टको पनि परीक्षण तथा अनुगमन गर्न आवश्यक देखिएकाले यसको परीक्षण वर्षायाम लागेपछि असार साउनमा मात्र गरिनुपर्ने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *