राजीनामाका लागि पार्टीभित्र दबाब बढ्दै गएपछि प्रधानमन्त्री केपी ओली संसदीय दलमा बहुमत पुर्याउने प्रयासमा जुटेका हुन् ।यसका लागि उनले पूर्वएमाले मात्र होइन, पूर्वमाओवादीका सांसदलाई व्यक्तिगत रूपमा पनि भेट गरिरहेका छन् । पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूह जोडतोडको राजनीतिसहित संसदीय दलमा बहुमत पुऱ्याउने योजनामा छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको भन्दै ओली समूहका सांसदले आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर सुरु गरेका हुन् ।
नेकपामा एक सय ७४ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ८८ सांसद आवश्यक पर्छ । नेकपा संसदीय दलमा पूर्वएमालेको एक सय २१ तथा पूर्वमाओवादी समूहका ५३ सांसद छन् ।वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमसहित माधव नेपाल समूहमा ४३ सांसद भएको सो समूहको हिसाब छ । पूर्वमाओवादी समूहका ५३ समेत जोड्दा आफ्नो पक्षमा ९६ जना भएको र ओली समूहबाट पनि केही मान्छे जोडिँदा एक सय नाघ्ने हिसाब प्रचण्ड–नेपाल समूहको छ ।