काठमाडौं।नेपाली कांग्रेसले सरकारलाई सात वुँदे सुझाव दिएको छ । कांग्रेसले कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यको गहिरो समिक्षा गरेर सुझाव दिएको हो । पार्टी कार्यालय सानेपामा पार्टीका पदाधिकारी, पूर्वस्वास्थ्य मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरु बीच छलफल गरि सरकारले अनिवार्य रुपले गर्नुपर्ने कार्यहरू बारेमा कांग्रेसले सुझाव दिएको छ ।
बैठकको सुभारम्भ गर्दै सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका बीच देशभरी कार्य गरिरहेका स्वास्थकर्मि र सुरक्षाकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई उनीहरुकै समन्वयमा परास्त गर्नुपर्ने धारणा राखेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
लकडाउनले कोरोनासंग जुध्न वातावरण निर्माण गरेपनि जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको भन्दै कांग्रेसले सरकारलाई गति बढाउन आग्रह गरेको छ । र्यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेकोले पिसिआर कै क्षमता र दायरा बढाएर समुदायस्तरसम्म परिक्षण गर्न सरकारलाई सुझाव दिएको छ ।
वैठकले स्वास्थकर्मिहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझैपनि नपुगेकाले स्वास्थकर्मिहरु जोखिमपुर्ण ढंगले कार्य गरिरहेको भन्दै तत्काल गुणस्तरीय सामग्री र्पुयाएर कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी रहेको औल्याएको छ ।
स्वास्थकर्मीहरुलाई हतोत्साहित गर्ने घटनालाई गम्भीरतापुर्वक लिंदै यस्ता घटना दोहोरिन नदिन आग्रह गरेको छ । अस्पतालहरुको क्षमता, जनशक्ति र उपकरणहरुको वृद्धिमा ध्यान दिन सरकारलाई सुझाएको छ । त्यस्तै अन्य रोगका बिरामीको उपचारको प्रवन्ध, अत्यावश्यक औषधिहरुको उत्पादन र आयातमा ध्यान दिन आग्रह गरेको छ । क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको बनाउन र डेङ्गो, मलेरियालगायतका संभावित संक्रमणप्रति सचेत हुन आग्रह गरेको छ ।






