काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौले समाजवादी पार्टीका नेता डा.सुरेन्द्र यादवलाई अपरहण गरेको भन्दै दिइएको जाहेरस् दर्ता नगरिकन फिर्ता गरिदिएको छ । समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुले दर्ता गर्न खोजेको दायरी दर्ता नगरी फिर्ता गरिदिएको हो ।
प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन फिर्ता गरिदिएको हो । सो पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको जानकारी दिए । ‘जबकि कानुनले नजिकको प्रहरी र यथाशीघ्र समयमा जाहेरी गर्ने भनेको छ,’ उनले भने, ‘अहिले प्रहरी परिसर टेकुमा एसएसपी गायब छन् । अहिले जाहेरी लिन नमानेको अवस्था छ ।’ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्वेन्द्र खनालले आफ्नो पार्टी (तत्कालीन समाजवादी पार्टी)का सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरी बन्धक बनाएको भन्दै आइतबार दिउँसो जाहेरी दिनका लागि जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर पुगेका थिए।
के छ कानूनी व्यवस्था मुलुकी अपराध संहिता ऐन २०७४ को भाग ९२, परिच्छेद – १७ मा अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरको व्यवस्था गरिएको छ । जसको दफा २११ मा अपहरण गर्न नहुने उल्लेख सहित कस्तो कसूरमा अपहरण मुद्दा लाग्ने स्पष्ट पारिएको छ। जसमा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरिरहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा वा कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरुको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानमा नरहेको व्यक्तिलाई निजको बाबु आमा वा संरक्षकको मञ्जुरी विना वा झुक्यानमा पारी जवर्जस्ती कुनै ठाउँमा लगेमा अपहरण कसुर मानिने उल्लेख छ ।
सांसद यादवको घटनामा बस्नेत, श्रेष्ठ र खनालको समुहले छलकपट गरी करकापमा काठमाडौं ल्याएर होटलमा राखेकाले यो मुद्दा अघि बढाउने आधार जुटेको हो । के हुन्छ सजाय अपहरण वा शरीर बन्धक लिएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र तीस हजारदेखि पचास हजार रुपैयाँ सम्म जरिबाना हुने ब्यवस्था कानूनमा छ । यस्तै षडयन्त्र गरेर बन्धक बनाएका दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र एक लाखदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ । यस्तै यही कानून अनुसार दुरुत्साहन दिने वा आदेश दिने वा उद्योग गर्ने वा षडयन्त्र गर्ने व्यक्ति वा मतियारलाई समेत सोही परिच्छेदमा लेखिएको कसूर गर्न दुरुत्साहन दिने वा आदेश दिने व्यक्तिलाई मुख्य कसूरदारलाई भए सरह सजाय हुने ब्यवस्था रहेको छ ।




