काठमाडौं।यो साता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौ ल्याउन पूर्व प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल, नेकपाका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठ सहभागी भएपछि त्यसबारेमा धेरै क्रिया प्रतिक्रिया उत्पन्न भए । सामाजिक सञ्जालमा पूर्व आइजीपी खनालको विषयमा क्रिया प्रतिक्रिया उत्पन्न भएपनि पूर्व प्रहरी अधिकारीहरुले भने औपचारिक रुपमा यसबारे कुनै टिप्पणी गरेका छैनन ।
राजनीतिक नेताहरु दुई कित्तामा विभाजित भएका छन् । एक थरीले राजनीतिमा अपराधिररणको छायाँ हावीको रुपमा लिएका छन् । सत्तारुढ दलको सांसदद्धय बस्नेत र श्रेष्ठसहित पूर्व आइजीपी खनाल सांसद यादवको घर पुगेर काठमाडौं ल्याउनु र ल्याउने आउने दुवैले स्वीकार गरेको अवस्थामा यसलाई राजनीतिभित्रको फोहोरी खेलमा मात्र भनिएको छैन राजनीतिकभित्रको अपराधिकरण त्यसमा सत्ताले नै संरक्षण गरेको सवाल उच्च रुपमा उठेको छ ।
जानकारहरुका अनुसार अरुको भन्दा सर्वेन्द्र खनालको फोन चाडै रिसिभ गर्ने सांसद यादवलाई ल्याउन सत्ताले खनाललाई प्रयोग गरेको भनिएपनि खनालले त्यसलाई स्वीकार गरेका छैनन । पूर्व आइजीपी खनाल यो विषयमा जोडिनु हुन्थ्यो कि हुन्नथ्यो त्यो बारेमा छुट्टै बहस हुने भएपनि अहिले भने सत्ता र शत्तिको पछि उनी लागेको स्पष्ट देखिन्छ । उनी भर्खरै अवकाश प्राप्त व्यक्ति भएकाले यो तहसम्मको हर्कतमा सहभागी हुनुहुन्थ्यो थिएन भन्ने व्यापक प्रश्न उठेपनि स्वंय खनालले भने टालटुले जवाफ दिएर टार्दै आएका छन् ।
सांसद यादवले काठमाडौ आउन इच्छा गरेकाले लकडाउनका बेला काठमाडौ ल्याउन सहयोग मात्रै गरेको बताएका छन् । तर उनले त्यसवापत के पाउन त्यस्तो कार्यमा संलग्न भए भन्ने कतै खुलेको छैन । जानकारहरुका अनुसार सांसद अपहरण गरेको आरोपमा एकाएक पूर्व प्रहरी आइजीपी खनाल मुछिए, उनले आफू जनकपुर गएर सांसद यादवलाई ल्याएको स्वीकार गरे । दुई महिनाअघि मात्रै अवकाश पाएका खनाल आफै जनकपुर पुगेर सांसद यादवको अपरणमा नेकपाका सांसदद्धय बस्नेत र श्रेष्ठसँगै उनी मुछिएपछि उनलाई के बाध्यता आइलाग्यो भनेर प्रश्न उठेको छ । सर्वेन्द्र खनालको डा. यादवसँग पुरानै चिनजान भएका कारण बस्नेत र श्रेष्ठले उनलाई प्रयोग गरेका थिए ।
बालुवाटरले बस्नेतलाई निर्देशन दिएपछि उनले स्रोत साधन सम्पन्न मित्रको श्रेष्ठलाई प्रयोग गरे र किसानले आफ्ना पूराना मित्र सर्वेन्द्रलाई प्रयोग गरे । उनी भर्खरै अवकाश पाएका व्यक्ति भएकाले कुनै न कुनै राजनीतिक र संवैधानिक नियुक्तिका लागि लालयित थिए । त्यही भएर बस्नेत र श्रेष्ठले जे भने पनि उनी मान्न तयार भए । सर्वेन्द्रको पुरानो चिनजानले डा.यादवसम्म पुग्न र काठमाडौं ल्याउन सहज भयो । तर पूर्व आइजी जस्तो व्यक्ति पूर्वमन्त्रीलाई राजनीतिक विषयमा सरकारलाई प्रभाव पार्ने हिसावले उनी जनकपुर पुगे । रिटायर्ड भएपछि उनले कुनै उपयुक्त नियुक्तिको लागि ‘कनेक्सन’ मिलाउन खोजिरहेका थिए । त्यसका लागि उनका पुराना मित्र किसान नेकपा र सरकारमा चाँजो मिलाउने व्यक्तिको साथ लागे । स्रोतका अनुसार सर्वेन्द्र राजदूत वा अख्तियारमा आयुक्त हुन चाहन्थे । यही महत्वकांक्षाले उनलाई डा. यादवको घरसम्म पुर्याएको थियो । आफ्ना विरोधिहरुलाई ठिक लगाउन पनि उनले संबैधानिक नियुक्ति खाने चाहना व्यक्त गर्दै आएका थिए ।
काठमाडौं ल्याउँदा बाटोबाट बस्नेतले यादवको प्रधानमन्त्री केपी ओलीसँग कुरा गराएका थिए । होटलमा समाजवादीका अन्य सांसदहरु थिए । बिहीबार विहान व्यायम गर्छु भन्दै कोठाबाट अरुको आँखा छल्दै यादव बाहिरिन सफल भएका थिए । होटल मेरिटबाट बाहिरिएका उनलाई समाजवादीका नेताहरुले त्यहाँबाट लगेका थिए ।
बुधबार साँझ एकाएक सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ‘अपहरण’ मा परेको खबर बाहिरियो । पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा. यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन लागेको समाजिक सञ्जालमा लेखेका थिए । खनाल आफैले सञ्चारमाध्यमसँग आफू जनकपुर गएको र यादवको घरमा खाना खाएको स्वीकार गरिसकेका छन् ।
पूर्व आइजीपी र सांसदहरु नै यस्तो फोहोरी खेलमा सहभागी हुनु भनेको चाहि सत्ता र शक्तिको उन्मादको रुपमा लिइएको टिप्पणी गर्न थालिएको छ । जस्ले गर्दा राज्य संरक्षित अपराधले भोलिका दिनमा प्रश्रय पाउनसक्ने संभावना समेत बढेको बताइन्छ




