काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा छलफल भएको बताएका छन्। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उपाध्यक्ष गौतमले शनिबार प्रधानमन्त्री र आफूबीच भएको कुनाकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको भन्दै आफूहरुबीच त्यस्तो कुनै चर्काचर्की नभएको प्रस्ट पारेका हुन्।
शनिबारको भेटवार्तामा गौतमले प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर बालकोट गएर बस्न चेतावनी दिएको लगायतका समाचार प्रकाशित भएपछि उपाध्यक्ष गौतमले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेका हुन्। ‘हिजो (१३ गते) प्रधानमन्त्री केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ’, उपाध्यक्ष गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो।’उपाध्यक्ष गौतमले अध्यादेश खारेज गरिएपछि पनि पार्टीभित्र अनेकौँ समस्या रहेको र ती समस्याको हल पार्टीभित्रै छलफल गरेर गर्नुपर्ने आफूले प्रधानमन्त्रीलाई सुझाब दिएको बताएका छन्
। उनमले आफूले समस्या समधानका लागि सचिवालय, स्थायी समिति र आवश्यक परे केन्द्रीय समितिको बैठक बोलाउन र सबैको सुझाबलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्याको समधान गर्न सुझाब दिएको बताएका छन्।





