ताजा समाचार

कस्तो बन्ला लकडाउनको मोडालिटी ?

काठमाडौं। लामो समयसम्म लकडाउन रही रहँदा आर्थिक क्षेत्रलाई अप्ठ्यरो पर्न सक्ने भन्दै सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

प्रदेश नं १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशलाई रेड जोनमा राखेर अन्य क्षेत्रलाई विस्तारै खुकुला बनाउने सरकारी नीति भएपनि त्यसले मूर्त रुप लिन पाएको छैन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएका थिए । सोही अनुसार मोडालिटी तयार पार्न मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एउटा कार्यदल बनाइएको छ ।

शनिबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले लकडाउनको मोडालिटी बनाउने जिम्मेवारी मुख्यसचिव रेग्मी नेतृत्वको कार्यदल बनाइएको हो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन यसअघि सरकारले ‘उच्चस्तरीय क्राइसिस म्यानेजमेन्ट टिम’ गठन गरेको थियो । सोही टिम अन्तर्गतको कार्यदललाई लकडाउनको मोडालिटी बनाउने जिम्मा दिइएको स्रोतले जनाएको छ । सो कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन् ।

लकडाउन खुकुलो पार्ने कि नपार्ने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो । हिमाली क्षेत्रमा खुकुलो बनाउने भन्ने सुझाव पनि आएको ती सुझावलाई समेत ध्यान दिए र समितिले निर्णय गर्ने जिम्मा मन्त्रिपरिषदलाई दिएको छ । आर्थिक क्षेत्रका विज्ञहरुले लकडाउनलाई सहज बनाएर आर्थिक गतिविधि गर्न र भौतिक पूर्वाधारको काम गराउन सरकारलाई सुझाव दिएका छन् । सोही सुझावलाई समेत उच्चस्तरीय समितिले ध्यान दिएर मोडालिटी तयार पार्न मूख्यसचिवलाई निर्दैशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *