काठमाडौं । सांसद अपहरण गरेको आरोपमा एकाएक पूर्व प्रहरी महानीरिक्षक मुछिए । भर्खरै अवकाश पाएका सर्वेन्द्र खनाल आफै जनकपुर पुगेर सांसद डा. सुरेन्द्र यादवको अपरणमा नेकपाका सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठसँगै उनी मुछिएपछि उनलाई के बाध्यता आइलाग्यो भनेर प्रश्न उठेको छ ।
सर्वेन्द्र खनालको डा. यादवसँग पुरानै चिनजान भएका कारण महेश बस्नेत र किसान श्रेष्ठले उनलाई प्रयोग गरेका थिए । बालुवाटरले महेश बस्नेतलाई निर्देशन दिएपछि उनले स्रोत साधन सम्पन्न मित्र किसान श्रेष्ठलाई प्रयोग गरे र किसानले आफ्ना पूराना मित्र सर्वेन्द्रलाई प्रयोग गरे । उनी भर्खरै अवकाश पाएका व्यक्ति भएकाले कुनै न कुनै राजनीतिक र संवैधानिक नियुक्तिका लागि लालयित थिए । त्यही भएर बस्नेत र श्रेष्ठले जे भने पनि उनी मान्न तयार भए । सर्वेन्द्रको पुरानो चिनजानले डा.यादवसम्म पुग्न र काठमाडौं ल्याउन सहज भयो । तर पूर्व आइजी जस्तो व्यक्ति पूर्वमन्त्रीलाई राजनीतिक विषयमा सरकारलाई प्रभाव पार्ने हिसावले उनी जनकपुर पुगे । रिटायर्ड भएपछि उनले कुनै उपयुक्त नियुक्तिको लागि ‘कनेक्सन’ मिलाउन खोजिरहेका थिए । त्यसका लागि छिमेकका किसान नेकपा र सरकारमा चाँजो मिलाउने व्यक्ति थिए ।
सर्वेन्द्र राजदूत वा अख्तियारमा आयुक्त हुन चाहन्थे । यही महत्वकांक्षाले उनलाई डा. यादवको घरसम्म पुर्याएको थियो । आफ्ना विरोधिहरुलाई ठिक लगाउन पनि उनले संबैधानिक नियुक्ति खाने चाहना व्यक्त गर्दै आएका थिए । काठमाडौं ल्याउँदा बाटोबाट बस्नेतले यादवको प्रधानमन्त्री केपी ओलीसँग कुरा गराएका थिए। होटलमा समाजवादीका अन्य सांसदहरु थिए । बिहीबार विहान व्याम गर्छु भन्दै कोठाबाट अरुको आँखा छल्दै यादव बाहिरिन सफल भएका थिए। होटल मेरिटबाट बाहिरिएका उनलाई समाजवादीका नेताहरुले त्यहाँबाट लगेका थिए । बुधबार साँझ एकाएक सामाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ’अपहरण’ मा परेको खबर बाहिरियो। पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले प्रधानमन्त्रीको ठाडो आदेशमा डा. यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन लागेको समाजिक सञ्जालमा लेखेका थिए ।
विहिबार दिउसो खनाल आफैले सञ्चारमाध्यमसँग आफू जनकपुर गएको र यादवको घरमा खाना खाएको स्वीकार गरिसकेका छन् । सरकारले संवैधानिक नियुक्तिका लागि बाटो खोलेपछि उनले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त हुन खोजिरहेका थिए । ‘म केही समयपछि अख्तियारमा जाँदैछु ’, उनले आफू निकटका पूर्व प्रहरीलाई पनि भनिसकेको स्रोतले बतायो । उनले शक्तिकेन्द्र रिझाउन गरिएको यसप्रकारको हर्कतको सर्वत्र आलोचना गरिएको छ ।




