काठमाडौं । कोरोना भाइरस (कोभिड –१९)को जोखिम हुन नदिन सरकारले सीमा नाकामा कडाइ गरेपनि चोरबाटो रोक्न हम्मेहम्मे परेको छ । चोरबाटो हुँदै नेपाल प्रवेशको क्रम अहिले पनि रोकिएको छैन । भारतसँग सीमा जोडिएका जिल्लाका सीमा क्षेत्रमा घोषित तथा अघोषित सबै नाकामा प्रहरीको उपस्थिति रहेको छ । घोषित नाका बन्द भएपछि लुकेर अघोषित नाकाबाट मानिसहरु नेपाल प्रवेश गर्न थालेपछि सम्बन्धित जिल्लाहरुले कडाई गरेपनि प्रयाप्त सुरक्षाकर्मीहरु परिचालन हुननसक्दा राती राती नेपाल प्रवेश नरोकिएको स्थानीयहरु बताएका छन् ।
नेपालमा कोरोना संक्रमित मध्ये आधाभन्दा बढी भारतीय नागरिक रहेको र भारतमा संक्रमण फैलिन थालेपछि नेपाल प्रवेश गरेका थिए । प्रहरीका अनुसार उनीहरु त्यहाँ संक्रमण छल्न आफन्त भेट्न बहानाबाजी गर्दै नेपाल आएका थिए । आएका मध्य धेरै जसो मस्जिदमा बसोबास गरिरहेका भेटिएका छन् । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सबैप्रकारका नाकामा सरकारी उपस्थिति रहेको दावी गरे । ‘मूख्य नाका तथा छोटी नाकमा सरकारी उपस्थिति छदैछ तर चोरबाटोबाट पनि प्रवेश गरेको समाचार आउन थालेपछि भने त्यहाँपनि प्रहरीको निगरानी र उपस्थिति बढेपछि अहिले सबै सीमा नाका बन्द भएका छन्’, मन्त्रालयका प्रवक्ता शर्माले भने । उनका अनुसार सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली पनि खटिएको छ भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार दुवै प्रहरीलाई जिल्लाका विभिन्न भागमा खटाएको छ । भारतको युपीसँग सीमा जोडिएका बाहेक नेपाल भारतबीच काकरभिट्टा, विराटनगर वीरगंज र भीममदत्त नगरमा ठूला भन्सार नाका छन् । त्यस्तै पशुपतिनगर, गौरीगञ्ज, रंगोली, भान्टावारी, जनकपुर, जलेश्वर, मलंगहवा, गौर, ठोरीमा पनि छोटी भन्सार नाका रहेका छन् । यहाँबाट पनि नेपालमा सहज रुपमा विदेशीहरु नेपाल प्रवेश गर्न पाउँछन् । त्यसकारण पनि सकारले सबै प्रकारका चोरबाटोमा पनि प्रहरीको गस्ती र निगरानी बढाएको छ । कैलालीको त्रिनगर, गौरीफण्टा, कञ्चनपुरको गड्डाचौकी, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, दार्चुला तथा दुइ नं प्रदेशका ८ जिल्ला , पूर्वमा मोरङ, सुनसरी, झापा लगायतका सीमावर्ती जिल्लाहरुबाट खुला सीमाका कारण भारतबाट नेपाल तर्फ नागरिकहरु आवतजावत गर्ने भएकाले कडाई गरिएको गृहमन्त्रालयले जनाएको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डिआइजी प्रधुम्न कार्कीले दिएको जानकारी अनुसार नेपाल भारत सीमानाकामा थप कडाइ यसका लागि आठ जिल्लाका १०६ सीमानाकामा पाँचहजार ७३० प्रहरी परिचालन गरिएको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाइएको उनको दावी छ । लकडाउनका समयमा नाकाबाट लुकिछिपि स्वदेश फर्किनेक्रम नरोकिएपछि प्रहरीले सीमामा थप कडाइ गरेको हो ।
भारतबाट स्वदेश फर्किनेको प्रहरीले स्थानीय तहको सहयोगमा खोजी कार्य जारी राखेको छ । उनका अनुसार लकडाउनलाई प्रदेशका आववटै जिल्लामा प्रभावकारी कार्यान्वयन भइराखेको छ । कोरोना भाइरस सङक्रमणको आशंका गरिएका विरामीलाई परीक्षण गर्न प्रदेश २ मा १४ वटा अस्पतालमा १७६ श्यया, १७ वटा अस्पतालमा १६२ आइसोलेसन श्यया र १९ वटा क्वारेन्टाइन स्थापना गरिएको छ । खुला सीमामा आवागम पूर्ण रुपमा रोक्न ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । ८२ किलोमि सीमामा पूर्ण रुपमा आवागमन रोक्न सशस्त्र प्रहरी परिचालन भएको हो । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सीमाना जोडिएका रानीगञ्ज, रक्सौल, बनवासा र सुनौली बाहेक सवै नाका बन्द गरेपछि भारतको पश्चिम बंगालको रानीगञ्ज नाकासँग जोडिएको नेपालको काँकरभिट्टा नाकामा चेकजाँचमा कडाई गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाका अनुसार नेपाल भारत सीमा नाकामा कडाई गरिएको छ । हरेक नगरपालिका र गाउँपालिकामा नयाँ व्यक्ति प्रवेशको तथ्यांक संकलन समेत गरिएको छ । जनप्रतिनीधिहरुले पनि अहिले सहयोग गरिरहेको झापा प्रहरीले जनाएको छ । एसपी कोइरालाका अनुसार ९ जना प्रहरी नीरिक्षकको कमाण्डमा गौरीगन्जसम्म नाका कडाई गर्नका प्रहरी परिचालन गरिएको छ । सीमा अहिले भैरहेको भन्दा १ सय ५० भन्दा सुरक्षाकर्मी खटिएको झापाका एसपी कोइरालाले बताए । ‘यसपछि सबै चोरबाटो बन्द हुन्छन, हामीले सीमा निगरानी समूह भनेर स्वंयसेवक पनि खटाउदै छौ’, उनले भने । थप तीन स्थानमा बेस क्याम्प पनि राख्न लागिएको एसपी कोइरालाले जानकारी दिए ।
सशस्त्र प्रहरीले पनि यसैगरी सीमा क्षेत्रमा कडाइ गरिरहेको छ । त्यसैगरी बर्दियामा पहिलेदेखि सीमामा प्रहरीले कडाइ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजेशनाथ बास्तोलाले बताए । ‘सीमा सुरक्षा थप प्रभावकारी बनाउँन थप प्रहरी परिचालित गरिएको हो।’ यता, सीमा क्षेत्रमा रहेका नेपाल प्रहरीका यूनिटले कडाईका साथ सीमा आवामन रोक्न लागि परेको छ ।‘नेपाल प्रहरीका यूनिटले सीमामा निगरानी बढाईरहेको छ,’ बर्दियाका एसपी राजेशनाथ वास्तोलाले भने, ‘लुकिछिपि नेपाल छिर्नेलाई सयौं जना प्रहरीले क्वारेन्टाईनमा ल्याएर राखिएको छ ।’ उनका अनुसार सुदुरपश्चिममा कोरोना संक्रमण पुष्टि भएसँगै अन्तर जिल्ला र एक देखि अर्को पालिका प्रवेशमा समेतपूर्ण रुपमा प्रहरीले रोक लगाएको छ ।
कञ्चनपुरका एसपी मुकुन्द मरासिनीका अनुसार अहिले नेपाल भारत छिर्ने सबै नाका बन्द भएका छन् । खुला सीमानाका कारण जुनसुकै स्थानबाट पनि नेपाल प्रवेश गर्नसक्ने भएकाले प्रहरीले ती सबै क्षेत्रमा निगरानी बढाएको उनले बताए । यसबाहेक सीमा नाका रहेका दुबै देशका सुरक्षा अधिकारीहरुबीच समन्वय पनि गरिरहेका छन् । स्थानीय प्रशासनको आँखा छलेर उनीहरु नेपाल आइरहेका छन् । ‘कतिपय सन्दर्भमा उनीहरु भागेर नेपाल आइरहेका छन्, केही दिन अघि भारतीय अधिकारीहरु आफैलेपनि सर्लाहीको सीमा क्षेत्रमा ल्याएर छाडेका थिए, उनीहरुलाई हामीले केही नेपाल र केहीलाई भारततर्फनै फर्कायौ’, गृहमन्त्रालयका एक अधिकारीले भने ‘चोरबाटो रोक्न समस्या भएको छ केही दिनभित्रमा ती मार्गमा पनि हामी सुरक्षापोष्ट राख्दैछौ ।’ मन्त्रालयले चोरबाटो छेक्न विभिन्न उपाए अपनाएपनि सुरक्षाकर्मी अभावका कारण संभव नभएको भन्दै सुरक्षाकर्मी थप गर्ने विषयमा सुरक्षासँगठनसँग छलफल समेत गरिरहेको छ ।




