काठमाडौं।नेपाली कांग्रेसको आग्रहमा बसेको नेकपा इतरका संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकले सोमबार सरकारले ल्याएका दुवै अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसको सर्वदलीय बैठकले सरकारले ल्याएको संवैधानिक परिषद र राजनीतिक दल सम्बन्धी अध्यादेश वर्तमान संविधानको मूल मर्म, लोकतान्त्रिक मूल्य र मान्यता विपरित भएको ठहर गरेको छ । राष्ट्रपतिबाट जारी अध्यादेशहरुले संविधानको मूल मर्म माथि आक्रमण वैठकको निष्कर्ष छ । बैठकपछि सात वुँदे संयुक्त विज्ञप्ती जारी गर्दै दलहरुले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेका छन ।
सरकार राहत, उद्धार र कोरोना संक्रमणका सम्भावितहरुलाई दु्रत गतिमा जाँच र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकहरुप्रति संवेदनशील नभएको मात्र होइन, पक्षपात र भेदभावपूर्ण तरिकाबाट प्रस्तुत भएको दलहरुको आरोपछ । वैठकले राजनीतिक दलहरु, नागरिक समाज र आम नेपाली जनतालाई सरकारको अधिनायकवाद उन्मुख कदमहरुको प्रतिवाद गर्न अपील गरेको छ । संघीय संसद बाहिर रहेका राजनीतिक दलहरु र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय वैठकले गरेको छ ।
लकडाउनको अवस्थामा त्यसको सिमाभित्र रहेर सरकारको यो अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध ससक्त प्रतिवद गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाली कांग्रेसका तर्फबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत,गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी सहभागी थिए । राष्ट्रिय जनता पार्टीका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र शरदसिंह भण्डारी सहभागी थिए । यसै गरी समाजवादी पार्टीका वावुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ बैठकमा उपस्थिति थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शम्शेर राणाको उपस्थिति थियो ।
संयुक्त वक्तव्य
नेपाली कांग्रेसको आग्रहमा आज नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक बस्यो । उक्त बैठकमा निम्नानुसार उपस्थिति थियो ।
नेपाली कांग्रेस : श्री शेरबहादुर देउवा, श्री रामचन्द्र पौडेल, श्री विमलेन्द्र निधि, श्री विजयकुमार गच्छदार, श्री पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, श्री गोपालमान श्रेष्ठ, श्री प्रकाशमान सिंह, श्री कृष्णप्रसाद सिटौला, श्री बालकृष्ण खाँण, श्री विश्वप्रकाश शर्मा र श्री राधेश्याम
अधिकारी । राष्ट्रिय जनता पार्टी :श्री महन्थ ठाकुर, श्री राजेन्द्र महतो, श्री महेन्द्र यादव र श्री शरदसिंह भण्डारी । समाजवादी पार्टी : डा. वावुराम भट्टराई, श्री उपेन्द्र यादव, श्री अशोक राई र श्री राजेन्द्र श्रेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी : श्री पशुपति शम्शेर राणा ।
बैठकले निम्न लिखित निर्णय गरेको छ ।
(१) वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको ओली सरकारले कोरोना संक्रमणको कारण देश लकडाउनको अवस्थामा रहेको बेला हठात् संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७ सम्बन्धी ऐनमा गरेको संशोधन सम्बन्धी अध्यादेशहरु वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन भएकोले यसको घोर निन्दा गर्दछौं । ओली नेतृत्वको सरकारको लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका रुपमा यी अध्यादेशहरुलाई हामीले लिएका छौँ । यी दुवै अध्यादेश तत्काल फिर्ता लिन यो बैठक जोडदार माग गर्दछ ।
(२) मन्त्री परिषद्को निर्णयबाट राष्ट्रपतिबाट जारी यी अध्यादेशहरुले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मूल मर्ममा आक्रमण गरेकोले सामाजिक दुरी
(Social distancing) कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग यो बैठक जोडदार माग गर्दछ ।
(३) यो बैठक कोरोना संक्रमणको कारण लकडाउनको अवस्थामा देश रहेको र यसका कारण आम जनता खाद्यान्न लगायतका न्यूनतम आवश्यकताहरुबाट पनि विस्तारै वञ्चित हुँदै गएको छ । सरकार राहत, उद्धार र कोरोना संक्रमणका सम्भावितहरुलाई दु्रत गतिमा जाँच, र स्वास्थ्य सेवाबाट वञ्चित रहेका नागरिकहरुप्रति संवेदनशील नभएको मात्र होइन, पक्षपात र भेदभावपूर्ण तरिकाबाट प्रस्तुत भएकाप्रति यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।
(४) यो बैठक राजनीतिक दलहरु, नागरिक समाज र आम नेपाली दिदीबहिनी दाजुभाइहरुमा सरकारको अधिनायकवाद उन्मुख कदमहरुप्रति थप चनाखो भई सरकारका लोकतन्त्र विरोधी र जनविरोधी कामहरुका विरुद्धमा सचेत र जागरुक हुन अपिल गर्दछ ।
(५) यो बैठक संघीय संसद बाहिर रहेका राजनीतिक दलहरु र नागरिक समाजसँग पनि थप अन्तरक्रिया र छलफल गर्ने निर्णय गर्दछ ।
(६) हाल लकडाउनको अवस्थामा त्यसको सिमाभित्र रहेर सरकारको यो अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउन वाध्य हुने यो बैठक निर्णय गर्दछ ।
श्री शेरबहादुर देउवा, सभापति – नेपाली कांग्रेस
श्री शरदसिंह भण्डारी, संयोजक -राष्ट्रिय जनता पार्टी
श्री उपेन्द्र यादव, अध्यक्ष – समाजवादी पार्टी
श्री पशुपति शम्शेर राणा, अध्यक्ष- राष्ट्रिय प्रजातन्त्र पार्टी
—




