रोल्पा ।रोजगारीका क्रममा देशका विभिन्न जिल्लामा इटाभट्टामा कामगर्न पुगेका मजदुरहरु गृह जिल्ला फर्कन थालेका छन् । दैनिक गुजारा चलाउन हम्मेहम्मे परेपछि उनीहरु गृहजिल्ला फर्किएका हुन् ।
आइतबार यता ३ दिनमा करिव २ दर्जन गाडीबाट १ हजार ५ सय ७१ जना मजदुरहरु जिल्ला फर्किएका छन् । यसरी गृहजिल्ला फर्किएका मजदुरहरु रुन्टीगढी, त्रिवेणी, माडी, गंगादेव, सुनछहरी, लुंग्री, परिवर्तन गाउँपालिका तथा रोल्पा नगरपालिकाबासी रहेका छन् । रोजगारीका लागि काठमाण्डौंमा रहेका मजदुरहरु केहीदिन यताको लकडाउनका कारण साँझ बिहानको छाक रोकिएपछि अलपत्र अवस्थामा रहेका थिए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार बैशाख महिनाको ५ गतेदेखि हालसम्म रोल्पाको होलेरी नाकाबाट २ हजार १० जना र खुंग्री नाकाबाट १ सय ८३ जना मजदुरहरु गृहजिल्ला फर्किएका छन् । यसरी गृहजिल्ला फर्किएर अलपत्र पारिएका मजदुरहरुलाई प्रमुख जिल्ला अधिकारी ढकालको पहल तथा स्थानीय तहको समन्वयमा सम्वन्धीत वडामा पुर्याइएको छ । जिल्लामा सरोकारवाला सबैको सकारात्मक सहयोग रहेको र स्वत:स्फर्त रुपमा सबैले कामगर्न थालेपछि सहजताको महसुस भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी ढकालले यसरी घर फर्किएका सबै मजदुरहरुलाई कम्तिमा दुई सातासम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न निर्देशन दिएका छन । जसका लागि सम्वन्धीत स्थानीय तह अन्तर्गतका वडामा रहेका विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ ।प्रमुख जिल्ला अधिकारी ढकालले यसरी क्वारेन्टाइनमा रहेकाहरुका लागि घर-घरबाट कपडा ल्याउन र विद्यालयमै खान र बस्नको उचित व्यवस्था गर्न सबै तहसँग आग्रह गरेका छन । यसका साथै पैदलयात्रा गरेर गृहजिल्ला फर्किदैगर्दा प्यूठानको दरभानमा रोकिएका मजदुरहरुलाई प्रमुख जिल्ला अधिकारी ढकालले प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण पन्तसंग समन्वय गरेर उद्धार गरेका छन भने रोल्पा नगरपालिका आसपासमा अलपत्र अवस्थामा रहेका केही मजदुरहरुलाई रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीसंग समन्वय गरी एम्बुलेन्सबाट उद्धार गरिएको ढकालले जानकारी दिए।
रुन्टीगढी गाउँपालिकाका नायब सुब्बा दिपक डीसी (दिप दर्पण) ले आफ्नो फेसबुक स्टाटस मार्फत उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सांसद जयपुरी घर्ती , तथा पूर्व सभामुख ओनसरी घर्ती लगायतको पहलमा मजदुरहरुलाई काठमाडौंबाट गृहजिल्ला पुर्याइएको जानकारी दिएका छन। उनका अनुसार यसरी रोल्पाको रुन्टीगढी ,माडी, त्रीवेणी, परिवर्तन, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाका मजदुरहरु रोल्पा आइपुगेका हुन् । उनीहरुको साथमा पूर्वी रुकुम र प्यूठानकापनि केही मजदुरहरू रोल्पाको होलेरी आइपुगेका थिए ।

सरोकारवालाहरुको सहयोग तथा समन्वयमा सबै मजदुरहरुलाई सम्वन्धीत ठाउँमा पुर्याइएको छ । यसअघि नेपाली कांग्रेस रोल्पाका सभापति तथा पूर्व सिंचाइ राज्य मन्त्री अमरसिङ पुनले प्रेस विज्ञप्ती जारी गर्दै निम्न आय भएका गरीव परिवार तथा मजदुरीमा पुगेकाहरुको तत्काल उद्धार गर्नुपर्ने तथा राहत वितरणका लागि सरकारले पहल गर्नुपर्ने भन्दै अपील गरेका थिए ।
यसरी गृह जिल्ला फर्किएका सबै मजदुर तथा अन्यको ब्यक्तिको सम्वन्धीत गाउँपालिकामा राखिएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने गरेका छन् । यसअघि घर फर्केर क्वारेन्टाइनमा बसेका २ सय ५९ जनाको स्वास्थ्य जाँच गरिसकिएको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । कार्यालयका अनुसार सामाजिक विकास मन्त्रालयबाट ५ हजार थान आरडीटी टेष्ट किड मागिएको छ । प्रदेश सरकारले आरडीटी किडमात्र पठाउने तर पीपीई नपठाउने भएको हुँदा उपचारमा असहज भएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । एक स्वास्थ्य कर्मीले गुनासो गरे आरडीटीमात्र पठाएर कसरी बिरामी चेक गर्नु ? यसतर्फ प्रदेश सरकारको समयमै ध्यान जान जरुरी छ ।

तस्बीर : दीप दर्पणको फेसबुकबाट




