काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गरेको छ । पार्टी सभापति देउवाले विज्ञप्ती जारी गर्दै संवैधानिक परिषद सम्वन्धी र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै फिर्ता सरकारसंग माग गरेका छन । सभापति देउवाले सरकारी कदम आपत्तिजनक कदम, गैह्र जिम्मेवार प्रवृत्ति भएको भन्दै दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेको प्रष्ट पारेका छन ।
सभापति देउवाद्वारा विज्ञप्तीमा भनिएको छ कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्वन्धी र राजनैतिक दल सम्वन्धी दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ ।
कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको उनले उल्लेख गरेका छन । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु भएको कांग्रेसको बुझाइ छ । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो भनी सभापति देउवाले संज्ञा दिएका छन ।
सभापति देउवाले भनेका छन आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ ।
नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई सभापति देउवाले अपील गरेका छन ।





