काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता पुनः औँल्याएका छन।
सभापति देउवाले आज एक प्रेस वक्तव्यमार्फत प्रर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने बताएका छन । कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढङ्गले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि सभापति देउवाले अपील गरेका छन ।
आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि अपिल गर्दै उनले सबैको साथ र सबैको विश्वासले नै आजको सङ्कटबाट पार पाउन सकिने यथार्थ स्मरण गराएका छन ।




