ताजा समाचार

रोगी,वृद्ध र भ्रष्ट सरकारका लागि मात्र राष्ट्रिय ढुकुटी चलाउने !

 सरकारको असक्षमता, अकर्मण्यता र अव्यवस्थाका कारण नेपाली नेपाली जनता भोग्नु नपर्ने सास्ति भोग्न बिवस भएका छन । समस्याको समधान कुन किसिमले खोजिन्छ र सरकारको कार्यशैली असजिलो समयमा कस्तो हुन्छ भन्ने आधारमा सरकार, सरकारको नेतृत्व र टिम,संसद अनि सत्तारुढ दलको मुल्यांकनमा प्रमुख प्रतिपक्ष दलको भूमिका, गतिविधि र प्रस्तुतिलाई समेत समेटेर राष्ट्रिय दृष्टिकोण तय गरिन्छ । वक्तव्यवाजी गरेर,फसवुक र ट्वीटरमा ट्वीट गरेर मात्र आफ्नो जिम्मेवारी र दायित्व पुरा भएको ठानियो भने त्यो भन्दा ठूलो अनुत्तरदायी काम अरु कुनै हुन सक्दैन । महामारी छ भन्ने यथार्थता आम रुपमा महशुस भएकै विषय हो । यो एक राज्य वा दुई राज्यको मात्र नभई यो सर्वत्र छाएको अनिष्ट हो । यतिबेलासम्म नेपालमा कोरोनाकै कारण कुनै पनि नागरिकको मृत्यू नहुँनु ज्यादै सकारात्मक सन्देश हो । यो राज्यको प्रभावकारी व्यवस्थापनका कारण भएको होइन । नेपालको जलवायु, हावापानी तथा नेपालीहरुले दिनहु प्रयोग गर्ने खानपीनका तत्वहरु लगायत नेपालीहरुको दयनीय अवस्थाप्रति भगवानले राखेको असिम कृपाका कारण महामारीले अनियन्त्रित रुप धारण गर्न पाएको छैन । सरकारको असावधनीका बावजुत स्थिति नियन्त्रणभित्र देखिनु सन्तोषको विषय हो ।

नेपालको क्षमताभित्र बसेर राज्यले आवस्यक व्यवस्थापन गर्न नसक्नु ठूलो कमजोरी हो । स्वास्थ्य सामाग्री व्यवस्थापन नहुनु, त्यसका लागि समयमा नै क्रियाशीलता नदेखाउनु, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारको गन्ध देखिनु तथा राज्यले गरेको लकडाउनमा आफ्ना नागरिकप्रति चरम दुव्र्यवहार हुनु, उत्तरदायित्व कसैले पनि लिन नसक्नु,सामान्य रोजगारीको अभावका कारण आफ्नो घर गाउँमा पैदल नै निस्केका दैनिक ज्यालादारीमा विहन बेलुका जीविकोपार्जन गर्नेहरु प्रति सरकारको जिम्मेवारी नदेखिनु ज्यादै निराशाजनक अवस्था हो । कम्युनिष्ट नाउँको सरकार तिनै तहमा भएको समयमा गरिव,मजदुर, किशान र ज्यालादारी गरी छाकटार्नेहरुले सडकमा भोकै, नाङ्गै रातदिन विताउनु परेको छ । चार पाँच सयदेखि आठ नौ सय किलोमिटरको यात्रा पैदल नै गर्नु परेको दृष्यले मानव सभ्यतालाई नै चुनौति दिएको हुनु पर्दछ । मानवीयता नै नभएको राज्य व्यवस्थाको परिचय बन्नु, कम्युनिष्ट नाउँको सरकार जसले चमत्कार गरेर देखाउँने उद्घोस गरेको थियो यो उसका लागि लज्जाको विषय हो । स्थानीय, प्रदेश र संघीय सरकारले गरिव नागरिकलाई यो संकटको बेलामा खान बस्नको समेत व्यवस्था गर्न सकेन । तातो घाम र पानीमा सडकको लामो दृष्य गराउनु र त्यो दृष्य टुलुटुलु हेरेर टेलिभिजन कार्यक्रममा हासेको फोटो देख्नु परेको स्थितिले आम मानिसलाई आक्रोशित बनाएको छ ।

सामान्य अवस्थामा त जसरी तसरी आफ्नो जीविका चलाएकै थिए । असामान्य घडीमा पनि राज्य(सरकार) भएको अनुभूति गर्न नपाउँदा जनताको नाउँमा भएको परिवर्तन,व्यवस्था र नारा सबैभन्दा बढी सरमाएको छ । सीमित व्यक्तिहरुलाई अलिसान महलमा महंगो जीवनशैलीका लागि परिवर्तन आएको हो ? कि परिवर्तनले गरिव,दुःखी, निसहाय र कमजोर वर्गलाई अनुभूति गर्न गराउन सक्नु पर्ने हो ? सुरुदेखिनै शासकीय क्षमतामा वद्नाम भएको सरकार कोरोणा प्रकरणमा त समाप्त नै भएको छ । राज्यका कुनै पनि अंग क्रियाशील र इमान्दार छैनन । भ्रष्टाचार गर्ने ठाउँ बनाउदै महामारीलाई अनुकुल समयका रुपमा लिई जनविरोधी र घोर अपराधिक गतिविधिमा सरकारी संयन्त्र क्रियाशील देखिन्छ । पार्टी कब्जा गर्ने, सरकार बनाउने, भ्रष्टाचार गर्ने, राष्ट्रिय पहिचान बद्नाम गर्ने दुस्चक्रमा नेपालको राज्य व्यवस्थालाई अल्झाइरहने बद्मास र वद्नाम मानिसहरु पद पैसा र प्रलोभनका भरमा सत्तामा टिकिरहने अवस्थाको अन्त्य नभएसम्म राज्यले आफ्ना नागरिकप्रति जिम्मेवारीपूर्ण ढंगले अभिभावकीय भूमिका निर्वाह गर्न नसक्ने निश्चित छ ।
अन्य देशहरुले यस्तो असहज अवस्थामा आफ्ना नागरिकको सम्पूर्ण जिम्मेवारी बहन गरेका छन । न्युनतम आवस्यकताका लागि चाहिने खर्चको व्यवस्था राज्यले जनताले तिरेको करबाट गरेको छ । राज्यलाई नागरिकले कर तिर्ने कारण नै यही हो कि राज्यले नागरिकको हक, हित, सुरक्षा, स्वास्थ्य र शिक्षाको प्रवन्ध गर्छ । असजिलो अवस्थामा आवस्यक सम्पूर्ण प्रवन्ध हुन्छ भन्ने विश्वासका आधरमा राज्य र नागरिककाबीच दायित्व निश्चित हुन्छ । कर तिर्नु नागरिक कर्तव्य हो र दायित्व निर्वाह गर्नु राज्यको जिम्मेवारी हो । जहा जिम्मेवारी बहन हुँदैन त्यहाँ एकतर्फिय कर्तव्यको मात्र कुनै अपेक्षा राखिदैन । भ्रष्ट,निकम्वा र नालायक सरकारलाई नागरिकले कर नतिरी असहयोग गर्न र अवज्ञा गर्न सक्छन /पाउँछन ।
सरकार नागरिकको स्वास्थ्य सेवाप्रति न इमान्दार देखिन्छ नत उनीहरुको जिउधन,गासबास र कपासकै लागि जिम्मेवार हुन्छ । यो स्थितिले अराजकता आमन्त्रण गर्दैछ । नागरिप्रति गरिने यसप्रकारको भद्दा मजाक महंगो सावित हुनेछ । साधन, श्रोत र शक्तिमा पहुँच हुनेमात्र नागरिक हुन भन्ने सरकारको व्यवहारले नेपालको अन्र्तराष्ट्रिय छवी समेत धुमिल बनाएको छ । रोगी,वृद्ध र भ्रष्ट शासक र नेताहरुलाई पाल्नका लागि मात्र कर तिर्ने नेपाली जनता तयार छैनन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *