ताजा समाचार

पैदल यात्रुलाई स्थानीय तहसँग समन्वय गरी घर पठाउन सर्वोच्चको आदेश   

काठमाडौँ।सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण घर जान चाहने पैदल यात्रुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको संयुक्त इजलासले गाउँ फर्कन भनेर हिँडेर बाटोमा अलपत्र परेका व्यक्तिलाई निःशुल्क यातायात व्यवस्था गरी गन्तव्यमा पुर्याउन र शंकास्पदलाई क्वारेन्टाइमा राख्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा काठमाडौँदेखि आफ्नो गाउँ फर्कन चाहानेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन र त्यसको लगत राख्नसमेत भनिएको छ ।

संक्रमणमा परेका, रोजगारी गुमाएका र मानसिकरुपमा तनावमा रहेका व्यक्तिलाई उचित मनोपरामर्श सेवा दिनु र गाउँ वा स्थायी ठेगानामा पुगेका व्यक्तिको स्वास्थ्य परीक्षण गराउनु र जिल्ला अस्पतालमा समेत आइसियु र स्तरिय स्वास्थ्य सेवा प्रदान गर्न सक्ने संरचनाको विस्तार गर्न आदेशमा भनिएको छ ।

अदालतले सम्भावित जोखिमलाई ध्यानमा राखेर कोरोना परीक्षण विस्तार गर्न र जनघनत्व धेरै भएका स्थानमा तत्काल परीक्षणको मात्रा बढाउन आदेश दिएको छ । सो आदेशमा भनिएको छ, “हाल कलकारखाना, उद्योगलगायत क्षेत्र बन्द रहेकाले कृषि क्षेत्र पुर्नजागरणको अवसर रहेकाले त्यसलाई उपयोग गर्ने कार्य गर्न स्थानीय तहमा बीउबिजन वितरणलगायतका निःशुल्क र सहुलियत दरमा उपलब्ध गराई ग्रामिण अर्थतन्त्रलाई स्वाबलम्बि बन्नका लागि आवश्यक कार्य गर्नु र गराउनु ।”

गाउँमा शहरबाट फर्किएका मानिस संक्रमित भए÷नभएको र संक्रमण अन्यलाई सर्नेतर्फ पनि ध्यान दिइ आफ्नो र समुदायका मानिसका बिचमा सामाजिक सद्भाव कायम राख्न आदेशमा भनिएको छ । जनहित संरक्षण मञ्चका तर्फबाट बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले पैदल यात्रुको सुरक्षित तरिकाले घर जाने आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *