काठमाडौं। नेपाल सरकारले चीन सरकारसँग मेडिकल सामाग्री खरिद गर्न औपचारिक पत्र पठाएको छ । कोभिड–१९(कोरोना) रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले अनुमति दिए लगत्तै मेडिकल सामाग्रीको सूची सहित औपचारिक पत्र पठाएको हो ।
सरकार – सरकार (जीटुजी) मार्फत खरिद प्रकृया अघि बढेपछि नेपाल सरकारले खरिदको मोडालिटी र सामानको सूचीसहित सम्झौता पत्र पठाएको हो । चीनबाट ल्याउन लागेको ६७ प्रकारका औषधिको सूचीसहित क्राइसिस म्यानेजमेण्ट सेण्टर (सीसीएमसी)को बसेको बैठकले पत्र तयार गरी रक्षा मन्त्रालयमा पठाएको र सो पत्र चीन सरकारलाई पठाइएको रक्षामन्त्रालय स्रोतले जनाएको छ ।
सेनाले २५ चैतमा मेडिकल सामाग्री खरिदको लागि ५ वटा देश चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुर र इजरायललाई पत्र पठाइएको थियो । तर, ५ देश मध्ये चीन र भारतले मात्र मेडिकल सामग्री उपलब्ध गराउने बताएपछि चीन र भारतसँग मेडिकल सामग्री ल्याउने तयारी सेनाको थियो । सोही बमोजिम नेपाली सेनाले दुई देशबाट ल्याउने कुल १ सय २० आइटमको मूल्य निर्धारण गरेर दुबै देशसँग सम्झौता भैसकेको नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले बताए । ‘हामीले खरिद गर्ने मेडिकल सामाग्रीको मूल्य निर्धारण गरेर दुबै देशसँग सम्झौता गरेको पत्र रक्षा मन्त्रालय पठाइसकेका छौ उतैबाट चीन सरकारलाई पठाइन्छ’, सहायक रथी पाण्डेले भने । पाण्डेका अनुसार चीनले गोन्जाउबाट सामाग्री उपलब्ध गराउने छ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई दिएको थियो ।




