मिति :२०७७ वैशाख ४ गते
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
प्रधानमन्त्री कार्यालय, सिहदरबार, काठमाडौं ।
प्रधानमन्त्रीज्यू,
जय नेपाल ।
म नेपाली कांग्रेसको केन्द्रिय सदस्य एवं जनसम्पर्क समन्वय विभागको प्रमुखको नाताले तपाईलाई यो पत्र लेख्दैछु ।
सर्वप्रथम, तपाई हालसालै मात्रै मिर्गौलाको दोस्रो प्रत्यारोपण गरेर बस्नु भएको छ, म तपाईको स्वास्थ्यलाभको शुभकामनाव्यक्तगर्न चाहन्छु।
विश्वअहिले कोरोनाभाइरसको त्रासमा छ । विज्ञान र प्रविधिको भरपुर विकास गरेकाशक्तिशालीमुलुकहरु पनि यो भाइरसबाट प्रताडित भएकाछन्। विश्वकाकुनै पनिमुलुकहोला, जहाँ यो भाइरस नपुगेको होस् । चीनको एउटा प्रान्तबाट सुरु भएर विश्वभरी फैलिएको कोरोनाभाइरसले अहिले विश्वका सबै मानिसहरु त्रासमा बसेका छन् ।यो विश्वलेनै भोगेको सताब्दियौ पछिको ठूलो महामारी हो । अहिलेको बेलाहामी नेपालीपनि त्यसबाट अछुतो छैनौ।स्वदेश वाविदेशमा बस्ने सबै नेपालीहरुअहिले कोरोनाको त्रासमा छन् ।
विगत तीन सातादेखि हामी सबै लकडाउनमा बसेका छौ। कोरोनाभाइरसको औषधी पत्ता लागिनसकेको अहिलेको अवस्थामा लकडाउन वा सामाजिक दुरि कायम गर्नु नैसंक्रमण फैलिनबाट रोक्ने उत्तम उपाय पनि हो। लकडाउनलाई पालना गर्ने हामी सबैको कर्तव्य पनि हो।जसलाई सारा नेपालीले पालना गरेकापनि छन्। यो महाब्याधीको समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरुको साथ र सहयोग सरकारलाई छ। सरकारलाई थप उर्जा मिलोस् भनेर महाव्याधी रोकथाममा चुस्तता प्रस्तुत गर्न प्रतिपक्षी दलले सरकारलाई पटक पटक सम्झाउदै आएको छ ।
प्रधानमन्त्रीज्यू,
तपाईलाई हाम्रो साथ छ भन्नुको अर्थ तपाई चुपचाप बालुवाटार बस्नुहोस् भन्ने अर्थमा नबुझ्नु होला । तपाईको नेतृत्वको संयन्त्रहरु अहिले स्वदेश र विदेशमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोगेको समस्या समाधा नगर्न तत्पर हुनुपर्छ । जुनतत्परता सरकारमा अहिले देखिएको छैन। म नेपाली कांग्रेस जनसम्पर्क समन्वय विभागको संयोजकपनि भएको नाताले विदेशमा बस्नु हुने जो कोही नेपालीहरुका लबारेमा मैले सन्चो विसन्चो सोध्नुपर्ने हुन्छ र अहिले सोधिरहेको पनि छु ।
मुलुक लकडाउनमा छ भनेर एउटा सामान्य मानिस घरभित्र बस्न सक्छ । तर तपाई तीन करोड जनतामाथि शासन गर्ने व्यक्ति लकडाउन छ भनेर कानमा तेल हालेर बस्न मिल्दैन। दैनिक समाचारहरु तपाईले पक्कै पनि हेर्नु भएको होला । नेपालमा रहेका सबै विदेशीहरु विमान चार्टड गरेर आआफ्नो देश गैसकेका छन् । त्यो पहल उनीहरुका देशलेनै गरेका छन्। नेपालीहरु प्नि विश्वका विभिन्न देशमा अध्ययन, रोजगारी लगायतका विभिन्न भूमिकामा छन्। अझ गल्फलगायतका मुलुकमा रोजगारीमा रहेका ३० लाखभन्दा बढि नेपालीहरुले आर्जन गरेको कमाई बैदेशिक मुद्रा संचिति र समग्रमा हाम्रो अर्थतन्त्रको मेरुदण्डनै हो।
सरकार के हो ?सरकार किन चाहिन्छ?भन्ने कुरा यस्तै महामारीमा राज्यले आफ्ना नागरिकप्रति गर्ने व्यवहारले देखाउने हो। राज्यका लागि आफ्ना नागरिक भौगोलिक सिमाभित्र भएका मात्रै होईन, विश्वका जुनसुकै कुनामा रहेका नेपाली राहदानी बोकेका सबैको यो महाव्याधीको समयमा सुरक्षा दिनु राज्यको कर्तव्य हो ।
तर पछिल्लो समय सरकारको काम कारबाहीले नागरिकहरुले आफ्नो नागरिकताप्रति गर्व गर्न सक्ने वातावरण बनेको देखिएको छैन् । नेपालमा रहेका अमेरिकन, बेलायतीलगायतका नागरिकहरु उनीहरुका देशलेनै विमान चार्टड गरेर आफ्नो देश लगिसकेका छन् । तर तपाईले महाकालीपारी सिमामाआएर हामी आफ्नो देशमा पाइला टेक्न चाहन्छौ भनेका दाजुभार्इ दिदीबहिनीलाई समेत प्रहरी लगाएर पारिनै खेद्नु भएको छ । नेपाल आउन सिमामा आएका ति नेपाली दाजुभाईलाई नेपालभित्र क्वारेन्टाइन बनाएर राख्ने क्षमता के सरकारसँग छैन?छिमेकी मुलुक भारतमा रहेका हजारौ नेपालीहरु आफ्नो देशफर्कन चाहन्छन्। उनीहरुलाई नेपालल्याउने सरकारको दायित्व हुन्छ किहदैन?
खाडी मुलुकमा रोजगारीमा गएका कतिपय नेपाली कामदारहरुलाई रोजगारदाता कम्पनीहरुले घर फर्कन भनेका छन् । के तिनीहरुलाई आफ्नो देश ल्याउन सरकारले पहल गर्नु पर्दैन? अध्ययनको सिलशिलामा विदेशमा रहेकालाई कलेजका होस्टलले अहिले निकालेको अवस्था छ । उनीहरुसँग पैसा सकिएर दैनिक गुजारामा समस्या दिनदिनै बढेको छ । तपाईका विदेश स्थितदुतावासहरु के गरिरहेका छन्?
प्रधानमन्त्रीज्यू,
कोरोनाभाइरसको महाव्याधीको अहिलेको अवस्थामा नेपालीकांग्रेसको कार्यकर्ता र नेपालीनागरिक हुनुको नाताले तपाईलाई यो पत्र लेख्दैछु । म नेपाल सरकारसँग जतिसक्दो चाडो निम्न बमोजिमको कामगर्न यो पत्रमार्फत ७ बुदे विषेश आग्रहगर्न चाहन्छु ।
१. विश्वभरी कोरोनाभाइरस संक्रमणको संख्या बढ्दो क्रममाछ । जसका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या पैदा भएको छ। विभिन्न देशमा रहेका नेपालीहरु,जो नेपाल आउन चाहन्छन, उनीहरुलाई तत्काल नेपाल ल्याउने व्यवस्था गरियोस्। खाडीका कतार, युएई, ओमन, बहराईन तथा मलेसियालगायतका अन्य मुलुकहरुबाट पनि कामदारहरु नेपाल आउनकालागि पहलग रिरहेका छन्। त्यसका साथै अमेरिका, बेलायत, अष्टेलिया, साईप्रस, माल्टा लगायतका अन्यमुलुकमा रहेका विद्यार्थीहरु खर्च सकिएर बसिरहेका छन्। उनीहरुलाई तत्काल कुटनीतिक पहल गरेर विमान चार्टड गरेर भएपनि नेपाल ल्याउने व्यवस्था गरियोस् ।
२.गल्फमा नेपालीहरु ठूलो संख्यामा रोजगारीमा छन्। अहिले कुवेत सरकारले फर्कन चाहने कामदारहरुलाई निःशुल्क टिकट दिने व्यवस्था गरेको छ । त्यहाँ रहेका विदेशी कामदारहरुलाई आआफ्ना देशहरुले फिर्ता गर्न थालिसकेका छन् । तसर्थ नेपाल सरकारले तत्काल त्यस्ता मुलुकमा कुटनीतिक पहल गरेर आफ्ना नागरिक जो नेपाल आउन चाहन्छन्, उनीहरुलाई फिर्ता ल्याउने प्रवन्ध गरियोस् ।
३.विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याएपछि उनीहरुलाई कम्तीमा पनि २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रवन्ध तत्काल गर्न आवस्यक छ । होटल व्यवशायीहरु, स्कुल र कलेज संचालकहरुले आफ्नो भवन सरकारले चाहेमा क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने भनेका छन् । सरकारले तत्काल काठमाडौं लगायतका अन्य क्षेत्रका होटल र स्कुल वा कलेजलाई आवस्यकता अनुसार क्वारेन्टाइन बनाओस् । जसले विदेशबाट आएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निश्चित समयसम्म क्वारेन्टाइनमा सुरक्षित रुपमा राख्न सकियोस्।
४. विदेशमा बस्ने नेपालीहरुले अहिले भोगेको अर्को समस्या भिषा पनि हो ।भिषा सकिएका नेपालीहरु धेरै मुलुकमा छन् ।उनीहरुलाई नेपाल ल्याउने वा निश्चित समयकालागि भिषा थप्ने कुटनीतिक पहल सरकारले तत्काल गरोस् ।
५.अहिले सरकारी ढुकुटीमा पैसा हुदाहुदै पनि लकडाउन बाहेक अन्य उपायहरु सरकारले अपनाउन सकेको देखिएको छैन् । कोरोनाको संक्रमणको संख्याको आकलन गरी तत्काल प्रताडित समुदायको पहिचान गरी प्याकेज कार्यक्रम घोषणा गरेर काम अघि बढाइयोस्। स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टचार भएको भन्ने समाचार आईरहेका छन् । महामारीको समयमा मुद्रातर्फ ध्यानजानु निकै ठूलो अपराध हो । आवस्यक स्वास्थ्य सामाग्री, भेन्टिलेटर, गुणस्तरीय कोरोना परिक्षण किट तत्कालखरिद गरेर तयारी चुस्त बनोस्। स्वास्थ्य सामाग्रीको गुणस्तरमा सम्झौता गर्ने अधिकार सरकारलाई छैन। किटका बारेमा अन्तर्राष्टिय मापदण्ड पुरा गरेको मात्रै खरिद गर्नेगरी मापदण्ड बनाइयोस् ।
६.महाव्याधी लम्विदै गयो भने बैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाई तथादिदीबहिनीहरुको रोजगारी गुम्ने खतरा छ । त्यसको पूर्वतयारी स्वरुप सरकारले अहिलेनै उनीहरुको लागि रोजगारीको विषेश कार्यक्रमको तयारी सुरु गर्न आवस्यक छ । म सरकारलाई बैदेशिक रोजगारीबाट जागिर गुमेर फर्केका नेपालीहरुलाई स्वरोजगार वाअन्य रोजगारीको कार्यक्र मतर्जुमा गर्न आग्रह गर्दछु ।
७.विश्वभरीनै स्वास्थ्यकर्मी र मेडिकल सामाग्रीको अभाव छ। यस्तो अवस्थामा खाडी लगायतका अन्यमुलुकहरुमा रोजगारीमा रहेका नेपालीहरु विरामी परेमा उपचार हुन नसक्ने अवस्था आउन सक्छ । सिमित स्रोत साधन हुदा पक्कै पनि उनीहरुले आफ्ना मुलुकका नागरिकलाई प्राथमिकतामा राखेर उपचार गर्न सक्छ । त्यसैले यस विषयमा पनि सम्वन्धित मुलुकमा कुटनीतिक पहल गरेर उपचारमा भेदभाव नगर्ने नीति लिन सम्बन्धित देशलाई आग्रहगर्न आवस्यक छ।
जय नेपाल ।
गोविन्द भट्टराई
केन्द्रिय सदस्य एवं प्रमुख, जनसम्पर्क समन्वय विभाग, नेपाली कांग्रेस




