ताजा समाचार

सीमामा सशस्त्रको २२ हजार जनशक्ति परिचालन

 काठमाडौं । सशस्त्र प्रहरीले सीमा नाकामा थप ८ हजार ३ सय ८३ जना सुरक्षाकर्मीलाई तैनाथ गरेको छ । पछिल्लो अवस्थालाई ध्यानमा राखेर सशस्त्रले थप सुरक्षाकर्मी परिचालन गरेको हो । सिमा क्षेत्रका जिल्लामा यसअघिनै सशस्त्रको १४ हजार २६३ जनशक्ति रहेकोमा अहिले थप ८ हजार ३८३ थप पछि २२ हजार ६४६ पुगेको छ ।

सशस्त्रले नम्बर १ बाहिनी मुख्यालय सुनसरीबाट १५ सय ४९, नम्बर २ बाहिनी छिन्नमस्ता बाहिनी महोत्तरीबाट ३ हजार २ सय ६२, नम्बर ३ गढीमाई बाहिनी मकवानपुरबाट १९ जना, नम्बर ४ मुक्तिनाथ बाहिनी कास्कीबाट १८ जना, नम्बर ५ विन्ध्यावासिनी रुपन्देहीबाट २४ सय २० र नम्बर ७ वैधानाथ बाहिनी कैलालीबाट ११ सय १५ जना खटाएको छ ।

कोरोनाको संक्रमण लगत्तै यसअघि नै पाँच हजार जनशक्ति सिमामा थप गरिएकोमा बैशाख १ गते गृहमन्त्रीले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सिमामा खटाउन निर्देशन दिएपछि हिमाली, पहाडी र हेडक्वार्टरका गरि थप करिब ३ हजार जनशक्ति सिमामा पठाउन लागिएको हो । यस्तै यसअघि सिमाक्षेत्रमा ८७ बिओपी मात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ’बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठुलो संख्या थप गरि १२० र्पुयाइएको छ ।

गृहमन्त्रीको निर्देशनपछि नियमविपरित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई समेत फिर्ता बोलाउने तयारी सुरु भएको छ । गत विहिवार नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल गृहसचिवमार्फत नियमविपरित खटाइएकालाई तुरुन्त फिर्ता बोलाएर सिमा क्षेत्रमा तैनाथ गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *