ताजा समाचार

अमेरिकामा लकडाउन खुकुलो बनाइने ट्रम्पको भनाइ, कोरोना संक्रमण “उच्च विन्दु”मा पुगिसक्यो   

एएफपी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताउनु भएको छ । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण “उच्चतम विन्दुमा” पुगिसकेको दाबी गरे ।

गत वर्षको अन्त्यतिर चीनमा देखिएको कोरोनाभाइरसको महामारीले विश्वलाई नै उल्टो दिशातर्फ मोडेको छ भने आधा मानवतालाई घरभित्रै रहन बाध्य पार्नुका साथै विश्व अर्थतन्त्रलाई दोस्रो ठूलो संकटतर्फ अग्रसर बनाएको छ ।

एएफपीको तथ्याङ्क अनुसार २० लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने एक लाख ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । संयुक्तराज्य अमेरिकामा मात्र गत २४ घण्टाको अवधिमा २ हजार ६०० जनाको मृत्यु भएको छ ।

तर राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भाइरस नियन्त्रणमा चालिएका “आक्रामक रणनीति” ले काम गरिरहेको दाबी गर्नु भएको छ । उनले भने, “तथ्याँक हेर्दा नयाँ घटनामा कमी आउन थालेको छ, र उच्चतम विन्दु पार गरेको छ ।”

उनले देशका खुला गर्न खोजिएका क्षेत्रहरुमा पनि कोरोना प्रसार रोक्न स्पष्ट “निर्देशिका” जारी गर्ने बताए । उनले कम प्रभावित राज्यमा आगामी मे १ तारिखभन्दा अगाडि नै प्रतिबन्धहरुलाई खुकुलो बनाइने जानकारी दिए । विश्वका धेरै मुलुकका नेताहरू कोरोना संक्रमणको विनाशकारी दोस्रो लहरका जोखिमबाट बच्दै कसरी बिग्रिएको अर्थतन्त्रलाई सही मार्गमा ल्याउने भन्नेमा द्विविधामा रहेका छन् ।

युरोपमै ठूलो अर्थव्यवस्था रहेको जर्मनीकी चान्सलर एन्जेला मर्केलले व्यवसायहरु खोल्न र विद्यालयहरु पुनः शुरु गर्न केही “सावधानीपूर्वक” कदमहरु घोषणा गरेका छन । युरोपेली मुलुक डेनमार्कले प्राथमिक विद्यालयहरु खोल्न अनुमति दिएको छ भने फिनल्याण्डले हेलसिन्कीमा जारी लकडाउन हटाएको छ ।

लिथुआनियाले भने बिहीबारदेखि साना पसलहरू खोल्न अनुमति दिएको छ, जबकि अति प्रभावित इरानले केही साना व्यवसायहरूलाई पुनः सञ्चालन सुरु गर्न अनुमति दिएको छ ।  न्यूजील्याण्डले अर्को हप्तादेखि आफ्नो राष्ट्रव्यापी लकडाउन सहज गर्न थाल्नेछ । यद्यपि ब्रिटेनले आफ्नो लकडाउनलाई अरु बढाउने गरी बिहीबार नयाँ प्रस्ताव घोषणा गर्दैछ । बेल्जियमले मानिसलाई घरभित्रै बस्ने गरी जारी गरेको आदेशलाई आगामी मे ३ तारिखसम्म बढाएको छ ।

विकासोन्मुख मुलुकहरुमा खाद्य सामग्रीको अभाव हुने खतरा उत्पन्न हुँदैछ । खासगरी अफ्रिका र दक्षिण अमेरिकामा उत्पन्न खाद्य संकटले सामाजिक व्यवस्थामा गम्भीर असर पार्नेछ ।  रियादमा, विश्वका प्रमुख अर्थतन्त्र भएका २० वटा औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) ले अति गरिब राष्ट्रहरूका लागि ऋण भुक्तानीको समयावधि एक वर्ष थप्न सहमति भएको छ ।

अमेरिकामा पनि यस महामारीले कम्तिमा १ करोड ७० लाख मानिसलाई आफ्नो रोजगारी गुमाउन बाध्य बनाएको छ ।   कोरोनाका कारण सिर्जित उदासिनताका बाबजुद पनि विश्वभर उदारताका कथाहरूले हौसला बढाउँछन् ।

बेलायतमा एक जना दोस्रो विश्वयुद्धमा लडेका ९९ वर्षीय टम मूरले बेलायती स्वास्थ्यकर्मीहरूका लागि करिब १ करोड ५० लाख डलर रकम संकलन गर्नु भएको छ । ह्वीलचेयरको सहायतामा हिँड्नु पर्ने मूरले भन्नुभयो, “दोस्रो विश्वयुद्धमा सिपाहीहरु अग्रमोर्चामा थिए, अहिले हाम्रा सेनाहरु डक्टर र नर्सहरु हुन् ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *