काठमाडौं । भारतको कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल भारत सीमा नाका थप कडाइ गर्ने क्रममा मेची भन्सार एकतर्फी रुपमा बन्द भएको छ ।
भारतको केन्द्र सरकार र प्रदेश सरकार बीचको असहमतिको कारण प्रदेश सरकारले नेपाल तर्फको नाका बन्द गराउदा मेची भन्सार कार्यालयबाट कुनै पनि मालवाहक सवारी साधान नेपाल आएका छैनन । भारतको केन्द्र सरकारको नीतिविपरित पश्चिम बङ्गाल सरकारले भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने सबै सवारी साधनलाई गत चैत २६ गतेदेखि बन्द गरिदिएको थियो ।
पश्चिम बङ्गाल सरकारले नेपालतर्फ मात्रै नभएर बंगलादेश र भुटानका नाकाहरु पनि सिल गरेको छ । नेपालको सुतियापोखरी र पानीट्याङ्की भन्सार कार्यालयका साथै बंगलादेशतर्फको फूलबारी नाका र भुटानतर्फ जाने सबै नाका बन्द गरेको छ । यो विषयमा मेची भन्सार कार्यालयले भन्सार विभाग, भारतस्थित नेपाली दूतावास र भारत सरकारलाई समेत जानकारी गराइसकेको छ ।
भारतले अत्यावश्यक सामानहरु पठाउनेभनिएपनि मेची भन्सारबाट विगत एकसातादेखि कुनै पनि सवारी साधान नभित्रिएको स्रोतले जनाएको छ । चैत २६ देखि कुनै पनि मालवाह सवारी साधान नेपाल नछिर्दा सीमावर्ती बजार समस्यामा परेका हुन् ।




