ताजा समाचार

सांसद विकास कोषको रकम कोरोना कोषमा राख्न नेकपाको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को वागमती प्रदेश कमिटीले सीमाना आएका नेपालीलाई देशभित्र राख्ने व्यवस्था गर्न संघीय सरकारसँग माग गरेको छ । नेपाल भारत सीमा नाकामा आएका नेपालीहरु लुकीछिपी नाकाबाट भित्रन थालेको र उनीहरुबाट जोखिम हुने भएकाले सरकारले नेपालभित्रै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न माग गरेको हो ।
प्रदेश कमिटीको बैठकले सिमानामा आएका नेपालीलाई स्वदेश फर्काउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए । ‘कुटनीतिक ढङ्गबाट भारत र नेपाल सरकारको बीचमा दुबैतर्फका नागरिक जहाँ छन् त्यँही नै क्वारेन्टाइनमा राख्ने सहमती भएपनि नेपालीहरु मुलुक फर्कन चाहन्छन् र लुकिछिपी नेपाल प्रवेश गरिरहेका छन् । यस बारेमा थप कुटनीतिक पहल गरी सिमानामा आएका नेपालीलाई स्वदेश फिर्ता गरी आ–आफ्नो ठाउँसम्म पुर्याउन तत्काल व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ’, सचिव पोखरेलले भने ।
प्रदेश कमिटीको वुधबारको डिजिटल बैठकले त्यस्तो निर्णय गरेको हो । त्यस्तै, अहिलेसम्म सघन उपचार कक्ष, भेन्टिलेटर र संक्रमित बिरामीको उपचारको लागि अति आवश्यक स्वास्थ्य सामग्री, दक्ष स्वास्थ्यकर्मीहरु नभएका सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट र धादिङ जिल्लामा तत्कालै व्यवस्था गर्न बैठकले संघीय सरकारलाई आग्रह गरेको छ । यसैगरी बैठकले सांसदहरुलाई दिइने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बाँकी रकम कोभिड–१९ कोषमा राख्ने व्यबस्था गर्न संघीय सरकारलाई आग्रह गरेको छ । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यलाई दिँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको यस आर्थिक वर्षमा विकास निर्माणमा सम्झौता हुन बाँकी रकम कोभिड १९ कोषमा राख्ने र निर्वाचन क्षेत्र विकाससँग जोडिएका खर्च हुन बाँकी रकम सांसदहरुले कोभिड कोषमा जम्मा गर्न माग बढ्दै गइरहेका बेला वागमती प्रदेशको यस्तो निर्णय गरेको हो ।
प्रदेशका काठमाडौं, धादिङ र काभ्रेमा ५ जनालाई कोरोना पोजिटेभि देखिएपछि संक्रमणको सम्भावित जोखिम, सरकार र पार्टीले तत्काल चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्न वागमती प्रदेशका पदाधिकारीहरुको डिजिटल बैठक बसेको थियो । पोखरेलसहित ईन्चार्ज अष्टलक्ष्मी शाक्य, सहईन्चार्जहरु हितमान शाक्य,. काशीनाथ अधिकारी र हितबहादुर तामाङ तथा अध्यक्ष नारायण दाहाल सहभागी डिजिटल बैठकले १६ बुँदे निर्णय गरेको छ ।बैठकले संक्रमण बिस्तार भईरहेको अवस्थामा लकडाउनलाई निरन्तरता दिँदै बागमती प्रदेशका सिमानालाई सिल गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । त्यसका लागि संघीय सरकारसँग समन्वय गरी प्रदेश सरकारलाई सिल गर्न निर्देशन गर्ने बैठकले निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *