ताजा समाचार

प्रदेश दुई कोरोनाको उच्च जोखिममा, सीमामा दुई किलोमिटरमै सुरक्षाकर्मी परिचालन

काठमाडौं । कोभिड–१९ को संक्रमणले प्रदेश –२ उच्च जोखिममा रहेको छ । वीरगन्ज र रौतहटमा गरी चार जना संक्रमित भएपछि प्रदेश २ उच्च जोखिममा रहेको हो ।

सरकारले प्रदेश २ संक्रमणको जोखिममा रहेपछि त्यहाँको सीमा नाका, सुरक्षा व्यवस्था कडा बनाएको छ । आठ जिल्लाका ४ सय ६४ किलोमिटरमा १ सयको हाराहारीमा चेकपोष्ट रहेकोमा कोरोना सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लागू गरेको तेस्रो चरणको लकडाउन उल्लङ्घन गर्दै भारतबाट नेपाल र नेपालबाट भारत आउनेजाने क्रम नरोकिएको भन्दै प्रदेश २ प्रहरीले सीमा क्षेत्रमा थप २ सय २९ चेकपोष्ट थपेर त्यसको सङ्ख्या ३ सय २९ बनाएको छ । सीमानाकामा थप कडाइमा लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी ५ हजार ७ सय ३० प्रहरी परिचालन गरिएकोे छ ।

महोतरीमा भारतसँग सीमा जोडिएको ३८ दशमलव ६ किलोमिटर खुला क्षेत्र छ । भारतबाट फर्कनेहरू यहीँबाट छिर्ने गरेका थिए । पर्सापतैली विष्णुपुर चकनी मुसहरपटि, जानकीनगर खैरा, नैन्ही, सकरी, बथनाहा, कटी, इटहर्वाकटी, पोखरभिण्डा, सम्सी खैरबन्नी रघुनाथपुर हर्दिनदीमा अस्थायी सुरक्षा पोष्ट स्थापना गरिएको छ । प्रदेश २ सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालयहरुले लकडाउनलाई कडा बनाउनुका साथै संक्रमणको संभावित क्षेत्रलाई ‘सिल’ समेत गरेका छन् । सीमा नाकामा सरकारले दुई किलोमिटरमै सुरक्षाकर्मी परिचालन गरेको छ ।

प्रदेश २ अन्तर्गत आठ ओटै जिल्लामा १ सय ६० स्थानमा ३ हजार २ सय ८५ क्वारेन्टाइन बेड रहेको छ । हालसम्म १ हजार २५ जनालाई क्वारेनटाइनमा राखिएको छ । चिकित्सकको सल्लाह अनुसार १ हजार ३ सय ३४ जना होम क्वारेनटाइनमा रहेको बताइएको छ । प्रदेशमा आइसोलेशनको क्षमता २ सय २० बेडको रहेको छ । प्रदेश २ का सिरहामा सात, धनुषामा ६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा १४ र पर्सामा तीन जनालाई आइसोलेशनमा राखिएको छ । प्रदेशका विभिन्न स्थानको क्वारेन्टाइन र आइसोलेशनमा रहेका कोरोना भाइरसको आशङ्का गरिएका ३ सय ६३ जनाको स्वाब सङ्कलन गरिएको छ । जसमध्ये १ सय ३५ जनाको रिपोर्ट निगेटिभ आएको छ । पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका २ छपकैयास्थित मस्जिदमा रहेका २१ जना शङ्कास्पद व्यक्तिको स्वाब परीक्षण गर्दा ३७, ५५ र ४४ वर्षीय गरी तीन जना भारतीय नागरिकको कोरोना सङ्क्रमण रहेको पोजेटिभ रिपोर्ट आएपछि उनीहरूको सम्पर्क र गएका स्थानहरूमा निगरानी बढाइएको छ । उनीहरूको बागमती प्रदेशस्थित हेटौंडा प्रयोगशाला र काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा स्वाब परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

सशस्त्र प्रहरीका २ नं प्रदेश प्रमुख डिआइजी राजु अर्यालका अनुसार यतिबेला सबै स्थानमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । संभावित सबै क्षेत्रका स्थानीय नागरिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त गस्ती टोली समेत खटिएको छ । ‘प्रदेश २ को ४ सय ६४ किमि खुला सीमामा उच्च सतर्कता बढाइएको छ । लकडाउन र सीमा सिल गरिएको अवस्थामा पनि मानिसको आवतजावत नरोकिएपछि सशस्त्र प्रहरीले सीमामा हुने अवैध ओहोरदोहोरमा कडाइ गरेको छ’,महोत्तरीको बर्दिबासमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति तथा डिआइजी अर्यालले भने । उनका अनुसार प्रदेश २ मा ३ सय १५ सुरक्षा पोस्ट थप सशस्त्र प्रहरीले प्रदेश २ मा ३ सय १५ वटा अतिरिक्त पोष्टहरु थप गरी ४ सय २५ वटा पुर्याइएको छ । साविकमा प्रदेश २ का आठ जिल्लाको सीमा क्षेत्रमा १ सय १० स्थानमा ५ सय ५० जना खटाइएको थियो । २४ चैतबाट ४ सय २५ पोस्टमा २ हजार २ सय ८ जना सुरक्षाकर्मी खटाइएको छ । प्रदेशमा रहेको सशस्त्रको कुल जनशक्ति मध्ये झण्डै ८५ प्रतिशतलाई सीमामा खटाइएको छ । वारिको क्वारेन्टाइनमा २ सय १६ भारतीय पारि ७१ नेपाली प्रदेश २ का आठ जिल्लामा २ सय १६ जना भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । सीमासम्म आइपुगेकामध्ये ७१ जना नेपालीलाई पनि सीमावर्ती भारतीय स्थानमा क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरीका डिआइजी अर्यालले बताए । कोरोना संक्रमण रोकथामका लागि सीमानाका बन्द गरिए पनि चोरबाटो हुँदै नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्र प्रहरी बलले थप पोस्टहरू खडा गरी पैदल गस्ती सुरु गरेको छ । सप्तरीमा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत आवतजावत ठप्प गर्न सशस्त्रले १६ वटा अस्थायी बोर्डर आउट पोस्ट (बिओपी) थप गरी सीमाको ५५ स्थानमा परिचालन गरेको हो । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढदै गएपछि खुला सीमाको फाइदा उठाउँदै खेत, खोलाबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएकोले नेपाल–भारत सीमा क्षेत्रमा दुई सय सशस्त्र प्रहरी थप गरी सुरक्षा सर्तकता बढाइएको हो ।

सीमाबाट हुने आवतजावतमा रोक लगाउन नियमितबाहेक थप १६ अस्थायी पोस्ट खडा गरी पैदल गस्तीसमेत थालेको सशस्त्र प्रहरीले जनाएको छ । ‘भारतसँगको सिमाना ७८ किलोमिटर रहेको सप्तरीमा यसअघि रहेको सातओटा बिओपीको जिम्मेवारी क्षेत्र औसत दुरी १२ किलोमिटर रहेकाले सीमानाका पूर्ण रूपमा नियन्त्रण गर्न कठिनाइ थियो’, थप १६ स्थानमा अस्थायी पोस्ट खडा गरी ५५ स्थानमा केन्द्रित गरी परिचालन गरिएपछि सीमामा आवतजावत पूर्ण रूपमा ठप्प भएको छ’, डिआइजी अर्यालले भने । पछिल्लोपटक भारतमा कोरोना संक्रमण बढदै गएको छ भने भारत दिल्लीस्थित निजामुद्दीनमा तब्लिगी जमातद्वारा आयोजित जमात र मरकसमा सहभागी इस्लाम धर्मावलम्बी नेपाली फर्किरहेका छन् । दिल्लीको जिमामुद्दीनको मरकस जमातमा सहभागीमा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ । नेपालभारत खुला सीमा प्रयोग गरी भारतबाट नेपाल आउने क्रम नरोकिएपछि प्रहरीले सीमानाकामा थप चेकपोष्ट खडा गरेको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नका लागि सीमानाकाबाट नेपाल प्रवेशमा पूर्ण रोक लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *