ताजा समाचार

सनसिटी अपार्टमेन्टमा आरडीटी टेस्ट जारी, ‘ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र विभिन्न खालका स्वास्थ्य समस्या भएकाको पहिले परीक्षण भइरहेको छ ।

स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट आइपुगेको थियो । नगरपालिकामा रहेका स्वास्थ्यकर्मी पनि सहभागी रहेको नगरपालिकाले जनाएको छ । बढी आवश्यक देखिएका व्यक्तिको पहिले परीक्षण भएपछि सङ्क्रमित व्यक्ति बस्दै आएको ‘ए ब्लक’ मा बसोबास गर्नेहरुको परीक्षण भइसकेकाे छ ।   कोरोना संक्रमितको ब्लकमा काम गर्ने दुई जना कामदारसहित ‘ब्लक ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ। संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो।

अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरुलाई प्राथमिकता दिइएको नगर प्रमुख कृष्णहरी थापाले बताए । उनले भने, “त्यसपछि अरू ब्लकको पनि परीक्षण गरिनेछ ।”

अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरुको परीक्षण गर्नुपर्ने माग गरेका छन् । अपार्टमेन्ट नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको प्रमुख थापाले बताए । अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *