एजेन्सी । संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेका छन् ।
मंगलबार ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम बन्द गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी दिए ।
कोरोनाभाइरस संक्रमण रोक्नका लागि विश्व स्वास्थ्य संगठनले आधारभूत काम गर्न पनि असफल भएको आरोप लगाउँदै उनले रकम रोकिएको बताएका हुन् । बीबीसीका अनुसार, उनले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र वास्तविक तस्बिर लुकाइरह्यो ।’
यसअघि ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई ‘चीन निकट’ भएको आरोपसमेत लगाएका थिए ।
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै रकम दिँदै आएको छ । गत वर्ष अमेरिकाले संगठनलाई ४० करोड डलर दिएको थियो ।
ट्रम्पले भने, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठलाई हरेक वर्ष ४० देखि ५० करोड डलर दिन्छ जबकी चीनले चार करोड मात्रै दिन्छ । संगठनले यदि चीनमा गएर स्थिती हेरेको भए र त्यहाँको स्थितीबारे पारदर्शी ढङ्गले जानकारी दिएको भए अहिले जस्तो भयावह स्थिती छ त्यो कहिले पनि निम्तिने थिएन ।’
ट्रम्पले कोरोनाभाइरस संक्रमण रोक्नका लागि विश्व स्वास्थ्य संगठनको कस्तो भूमिका रह्यो त्यसको समीक्षा पनि गरिने जानकारी दिए ।




