ताजा समाचार

अपराधमा २०७६ : आलम पक्राउदेखि ह्याकरलाई हम्मर,महरालाई जेल

काठमाडौं । २०७६ साल राजनीति र शान्ति सुरक्षाको क्षेत्रमा मिश्रित वर्षका रुपमा रह्यो । बर्षभरिनै नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षामा आफ्नो कार्यक्षमता प्रर्दशन गरेपनि त्यसले पूर्ण सफलता भन्दा पनि मिश्रित परिणाम हात पार्यो ।

अपराधमा वर्षौँ पुरानो आपराधिक घटनामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गर्यो । त्यसैगरी यसैवर्ष चाइनिज ह्याकरहरुलाई पक्राउ गरेर प्रहरीले अर्को सफलता हात लगायो । दशैको मुखैमा वर्तमान कृष्णबहादुर महरालाई बलात्कारको आरोपमा प्रहरीपक्राउ गरी दुई तीन महिनासम्म केन्द्रीय कारागारमा बस्न बाध्य बनायो । कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोपमा सभामुखबाट राजीनामा नै दिनपर्यो । असोज १९ गते संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गर्यो । प्रहरीले बालुवाटारस्थित सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको थियाे । बलात्कारको प्रयास गरेको आरोपमा संसद सचिवालयकी पीडित कर्मचारीले महराविरुद्ध प्रहरीमा जाहेरी दिएपछि तत्कालै काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले बालुवाटबाटै महरालाई नियन्त्रणमा लिएको थियो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का  साइला भाइ नरेश थापा पक्राउ परेको परे ।  जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्न्यात समूहका सदस्य र नरेश थापाबीच नियमित सम्पर्क हुने गरेको सूचना पाएपछि प्रहरीले थापालाइ पक्राउ गरेकाे थियाे ।  आपराधिक लाभ र संगठित अपराधको अभियोगमा मुद्दा चलाइएका थापा धराैटीमा रिहा भएका थिए ।

जबरजस्ती करणीको अभियोगमा सुदूरपश्चिम प्रदेशका सांसद अक्कलबहादुर रावल पनि हिरासतमा पुगे । रावल फागुन २१ गते पक्राउ परेका थिए । यसअघि गत फागुन २२ अदालतले ४ दिन म्याद थप गरेको थियो भने २६ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो। अछाम स्थायी घर भइ धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै रावलविरुद्ध पीडित महिलाले फागुन १४ गते प्रहरीमा जाहेरी दिएपछि उनी हिरासतमा पुगेका थिए ।

एकै रातमा काठमाडौँका विभिन्न बैंकका एटिएम बुथबाट अर्बौं रकम झिक्ने योजनासहित नेपाल प्रवेश गरेका चिनियाँ नागरिकको योजना नेपाल प्रहरीले भदौ १४ गते असफल पार्यो । भदौ १३ गते शुक्रबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेको ५ सदस्यीय चिनियाँ टोलीले ४ दिनको अवधिमा काठमाडौँका विभिन्न बैंकका एटिएम बुथबाट अर्बौं रकम झिक्ने योजना बनाएको थियो । तर, नेपाल प्रहरीले उनीहरुलाई १४ गते रंगेहात पक्राउ गर्यो । यद्यपि उनीहरुले नबिल, प्रभु र हिमालयन बैंकका एटिएमबाट झण्डै डेढ करोड रुपैयाँ भने झिकिसकेका थिए ।

अर्कोतिर पाँचथरमा भएको सामूहिक हत्या प्रकरणले भने समाजमा सुरक्षाको कमजोर अवस्थालाई उजागर गरिदियो । आलम पक्राउ प्रकरण र पाँचथर सामूहिक हत्या प्रकरणले यो वर्ष निकै चर्चा पायो । यस्तै सर्लाहीमा कुमार पौडेलको इन्काउन्टर प्रकरणले प्रहरीको छविलाई कमजोर बनायो । गत जेठ ७ गते मध्यराति सुतिरहेको अवस्थामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटेमा ९ जनाको विभत्स हत्या भयो । दुई परिवारका गरी ९ जनाको हत्या हुँदा गाउँगाउँमा एक खालको त्रास फैलिएको थियो ।

असार ५ गते सर्लाहीको लालबन्दीमा नेत्रविक्रम चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भयो । प्रहरीलाई आक्रमण गरेपछि जवाफी कारबाहीको क्रममा पौडेल मारिएको दाबी सरकारी पक्षले गर्यो । मुठभेडमा पौडेलको मृत्यु भएको मानिए पनि दोहोरो भिडन्त भएको कुनै संकेत फेला परेको थिएन । नियन्त्रणमा लिएर पौडेललाई गोली हानिएको आशंका गरियो । मुठभेड भनिएपनि त्यसमा प्रहरीतर्फ कसैलाई केही भएको थिएन ।

प्रहरीले साउन २३ गते नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सीइओसहित ५ जनालाई पक्राउ गर्यो । प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले अस्पतालका सीइओ बिपेन्द्र प्रधानसहित ५ जनालाई पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरेपछि मिर्गौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत रामचन्द्र आले पनि पक्राउ परे । असोज २६ गते (घटनाको १२ वर्षपछि) रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलम पक्राउ परे । २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनलाई रौतहटको इद्रिस गेट अगाडिबाट पक्राउ गरेको थियो । हाल आलम नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् ।

माघ ७ गते राजधानीको सोल्टीमोडस्थित ग्राण्ड भिल्ला होटलमा हत्या गरेको अवस्थामा बंगलादेशी नागरिक मोहिद्दिन अहम्मदको शव फेला पर्यो । होटलमा मोहिद्दिन सँगै आएको साथीसँग बस्थे । १४ गते घटना बाहिर आएको थियो । मिडियामा आएपछि मात्रै प्रहरीले दुल्लाह मियाको खोजी तीव्र बनायो । त्यतिबेलासम्म दुल्लाह मिया भारत पुगेर पनि नेपाल फर्किसकेका थिए । उनी पनि पक्राउ परे ।

माघ २७ गते पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती सानेपास्थित निवासमा रगतले लतपतिएर अत्या गरेको अवस्थामा फेला परिन् भने कामदार पनि सानेपास्थित निवासमा मृत फेला परे । पूर्वसचिव भण्डारी पशुपति मन्दिर दर्शन गर्न गएको बेला श्रीमती मुनाको हत्या भएको थियो । श्रीमतीको हत्या भएकै नजिकै कामदार विजय चौधरी झुण्डिएको अवस्थामा फेला परेका थिए । यसको अनुसन्धान अहिलेसम्म चलिरहेको छ ।

गत हप्ता थर्मल गनमा कालोबजारी गरेकाे अाराेपमा शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ  परे । अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा  थर्मल गनसहित पक्राउ परेका थिए। उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको  थियाे । अग्रवालले बढी मूल्यमा थर्मल गन बेचेको थाहा पाएपछि प्रहरी  ग्राहक बनेर गएको थियो। अग्रवालमाथि अनुसन्धान भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *