ताजा समाचार

कम्यूनिष्टहरुकाे उत्तरचढावपूर्ण राजनीतिक यात्रा

नेपालमा कम्यूनिष्टहरुको राजनीतिक यात्राको स्वरुपका सम्वन्धमा मनमोहन अधिकारीको अमेरिकी पत्रिकालाई दिएको अन्तरवार्ता विगत दुई वर्षका कम्युनिष्ट गतिविधि हेर्दा धुमिल भएको अनुभूति हुन्छ । मनमोहन प्रधानमन्त्री भएका बखत अमेरिकाको भ्रमण गरेका थिए । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को नाम परिबर्तन गर्ने कुनै सोच छ कि भन्ने पत्रकारले सोधेको प्रश्नको जवाफमा मनमोहनले भनेका थिए–यो हाम्रो ट्रेडमार्क हो।
डा.वाबुराम भद्वराई अर्थमन्त्री भएको वेला अमेरिकाको भ्रमणमा रहदा वासिंगटन टाइम्सकी सम्वाददाताले चीनमा माओ पुरानो भैसके नेपालमा पनि माओवादीको नाम परिवर्तन गर्ने समय आएको हो ? भनी सोधिएको प्रश्नको जवाफमा–हो यसवारे पार्टीभित्र एक बर्षदेखि छलफल चलिरहेको छ । अव महाधिवेशनले निर्णय गर्ला भनि जवाफ फर्काएका थिए ।

नेपालका कम्यूनिष्टहरुको यात्राको संक्षिप्त स्वरुप उल्टापाल्टा छन । नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) नेपाल अधिराज्यको संबिधान २०४७ अनुसार भएको पहिलो आम निर्वाचनमा भाग लिएछि प्रतिनिधि सभामा दोश्रो ठूलो दल बन्यो । २०५२ सालमा मध्याबधि निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो पार्टी भएर अल्पमतको सरकार बनायो पनि तर त्यो सरकार अल्पायूको भयो । पुनःमध्यावधि भयो । २०५२ साल फागुन १ गतेदेखि माओवादीले जनयुद्ध शुरु गर्यो । एमालेमा बिभाजन आयो र बामदेवको नेतृत्वमा नेकपा (माले) खडा भयो ।

यसलाई नेपाली समाजको रुपान्तरणमा गोविन्द न्यौपाने लेख्नु हुन्छ – सन् १९७१ मा झापा जिल्ला कमिटीले झापा बिद्रोहको बाटो अंगिकार गर्दै सामाजिक रूपान्तरणका लागि सशस्त्र कारबाहीको शंखनाद गर्ने तथा जनतामा असिम आशाको सञ्चार गर्ने काम ग¥यो । यो बिद्रोह नै समाजमा आमुल परिवर्तनको बिषय र व्यबहारलाई कम्युनिष्ट आन्दोलनको प्राथमिक कार्यसूचीमा समावेश गर्ने पहिलो महत्वपूर्ण परिघटना थियो । यसले टुक्रिएको कम्युनिष्ट पार्टीका सयौ शाखालाई केन्द्रिकृत गर्ने अभियानको आरम्भ र सञ्चालन ग¥यो । तर वैचारिक केन्द्रीकरणमा भन्दा संगठानात्मक केन्द्रीकरणमा जोड दिनाले पार्र्टीिभत्र पात पतिङगरहरूको प्रवेशलाई रोक्न नसकेर नेतृत्वको निम्न पूँजीवादी बिचार,प्रबृती तथा व्यवहारलाई सर्वहाराकरण गर्न विफल भएर नै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी लेलिनबाद) सशस्त्र संघर्षको बाटो परित्याग गर्दै संसदीय मार्गमा प्रवेश गर्याे ।अहिले झापा आन्दोलनका मौलिक मान्यताबाट विचलन गरेको विचार “बहुदलीय जनवाद“ का रुपमा केन्द्रित भएको छ र यसका अनुयायी एवं सहभागी पार्टीहरु संसदीय सर्कसको भालु नाचमा लागेका छन् । “बहुदलीय जनवाद“ आजसम्मका सबै देशीविदेशी “कम्युनिष्ट “संसदवाद जसभित्र युरोकम्युनिजमदेखि रायमाझीसम्मका अवसरवादीहरु को नबिन केन्द्रीकृत र संश्लेषित विचार हो । त्यसैले अब यो विचारको पक्षमा रहेका व्यक्ति र शक्तिहरु आमूल परिवर्तनका वाहकको होइनन् यथास्थितिका नायक मात्र रहेका छन् ।

गोबिन्द न्यौपाने आफै नेकपा (माले) स्थापना हुनु पूर्वको संगठनसंग आवद्ध हुनुभएकोले उहाँको यो बिश्लेषण नेकपा (माले) देखि नेकपा (एमाले) हुदासम्म प्रमाणित भैसकेको थियो । तत्कालीन नेकपा (माले) ले लिएको पार्टीको नीति र सिद्धान्तमा कहाँ त्रुटी भयो त्यो पनि उल्लेख गर्नु भएको छ ।

अहिले क्रान्तिकारी हिंसाको प्रयोगबाट बर्गीय सत्ताको फेरबदललाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले कुन धाराको अवलम्बन गर्ने छ भन्ने विषयमा मत मतान्तर छ । केही अनुसन्धानकर्ताहरु यसले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को पद चिन्हको अनुसरण गर्ने र संसदीय सम्बन्धमा प्रवेश गर्ने कुरा गरिरहेका पाइन्छन् । अरुकेहि सशस्त्र शक्ति सञ्चय र विस्मय कार्य आम झडपको मार्ग अनुसरण गर्ने सम्भावना रहेको बताउँछन् ।

त्यसै अवधिमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले जनयुद्धको सञ्चालन गरिरहेको छ अब माओवादीले लिन सक्ने सम्भावित तीन वटा बाटाहरु रहेको देखिन्छ । एउटा सशस्त्र शक्ति आर्जन र संसदीय प्रतिगमनका सम्वन्धमा सन १९७१ को झापा आन्दोलनको के अनुभव रहेको छ भने सशस्र शक्ति आर्जन गरेर कम्युनिष्ट पार्टीले संसदीय व्यवस्थाको लागि आफूलाई शक्तिशाली बनाउन सक्छ र यो कुनै अन्टसन्ट नामको सिद्धान्तको आविष्कार गरेर संसदीय जंगलको हरियालीमा चर्न जाने काम गर्दै गैरसाम्यवादी फाँटको उन्मत्त रिक्रुटको भूमिकामा रम्न थाल्छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी लेनिनवादी) नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) हुँदै अब्बल दर्जाको संसदीय पार्टी भए झैँ नै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) पनि अहिले आन्दोलन गरेको शक्तिलाई धितो राखेर संसदीय प्रतिस्पर्धाको अखडामा मल्ल युद्धकालागी उत्रन सक्छ । जति सानो भएपनि यो सम्भावनाको अन्त्य भएको छैन र लामो समयसम्म हुनेछैन । नेतृत्वपंक्तिमा मध्यमवर्गीय उपस्थितिका कारण संसदीय फाँटको हरियो घाँस खाने मनसुवाले यी प्रयत्नलाई निरन्तरता दिनु स्वाभाविक हुन्छ । यस्तो अवस्थामा यसले आन्दोलनले प्रतिगमनको बाटो समाउने छ र बर्गीय सत्ताको संक्रमणका लागि फेरि नयाँ पुनर्गठन एवं ध्रुवीकरणको आवश्यकता पर्नेछ भन्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) को २०५४ सालमा सम्पन्न प्रथम राष्ट्रीय सम्मेलनले पारित गरेकोे कार्यनीतिमा नेकपा(एमाले)सैद्धान्तिक राजनीतिक साङ्गठानिक व्यवहारिक सबै मान्यता र आचरणको हिसाबले कम्युनिष्ट पार्टी होइन । यसको नेतृत्वको मूल पंक्ति प्रतिकृयावादी समूहमा संक्रमण भैसकेको छ र यसले पार्टीलाई सचेत ढंगले प्रतिक्रियावादी कित्तामा लगिरहेको छ । नेतृत्वको यो सचेत भूमिका र यसको बिरुद्धको त्यसभित्रको अन्तरसंघर्ष अत्यन्त कमजोर भएकोले एमालेको तीव्ररुपमा प्रतिकृयावादीकरण भइरहेको छ । त्यसक्रममा अहिले एमालेले प्रतिक्रियाबारे भूमिका निर्वाह गरिरहेको छ । अर्थात् एमाले अहिले प्रतिकृयावादी भूमिकामा छ त्यसैले पार्टीको एमालेसँगको मैत्रीपूर्ण सम्बन्ध स्वभाबिकरुपले अन्त्य भएको छ । सो सम्बन्ध पछिका दिनहरुमा के हुनेछ यो कुरा स्वयम एमाले र विशेषतः एमालेका इमान्दार कार्यकर्ताहरूको भूमिकामा भर पर्नेछ भनिएको छ ।

प्रभुनारायण बस्नेतले कान्तिपुर १७ माघ २०५६ एमालेको पहिचानको सम्वन्ध लेख्नु हुन्छ ः नेकपा (एमाले ) विचारको मामिलामा अझै अस्पष्ट छ । त्यसले एक्काइसौं शताब्दीको राजनीतिको मूल प्रवाहलाई आत्मसात् गरेर प्रजातान्त्रिक मार्ग अनुसरण गरेको हो कि हिंसा आतंक र भय सिर्जना गरेर निरङ्कुस शक्तिको रुपमा स्थापित हुने आकांक्षा कायमनै छ भन्ने छुट्याउन कठिन भएको छ । माओवादी समूहलाई मित्रशक्ति ठान्ने, जंगल पस्ने कुरा गर्ने र लडाकु संगठनात्मक संरचनामा पाटीलाई ढाल्ने कुरा गरेकोले एमालेले अझै हतियारमा विश्वास गर्छ कि भन्ने लाग्छ । तर अर्कोतिर वर्तमान संविधान मानेर संसदीय संघर्षलाई प्राथमिकता दिने वाचा गरेर पटक पटक सत्तामा पनि गइसकेकोले प्रजातान्त्रिक परिपाटीमा आस्था राख्न थालेको हो कि भन्ने भान पर्न सक्छ । उसको बोली व्यवहार र काम कारबाहीबाट सही मूल्याङ्कन गर्न नसकिने भएको छ । ब्यक्ति हत्याको जगमा खडा भएर राजनीति सुरु गरेको हुँदा त्यस समूहमा अहिले पनि त्यसको धङ्धगी बाँकी नै छ । २०४६ साल पूर्व पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको शाब्दिक लडाइँमा फसेको तत्कालीन माले संयोगबस बाम मोर्चामा सामेल भयो र बहुदल पार्टीका लागि भएको संघर्षमा सहभागी बन्यो । ठूलो शक्ति बनेर सत्तामा पुग्ने मोह जागे र माक्र्सवादी समूहसँग एकता गरेर एमाले बनेपछि त झनै वैचारिक नीतिगत सैद्धान्तिक अन्यौलता चरम रुपमा विकास भयो । कम्युनिस्ट पार्टीको लोकप्रिय ट्रेडमार्क त्याग्न पनि नसक्ने र त्यसअनुसारको आचरण व्यवहार अपनाउन पनि हिच्किचाउने समस्या एमालेमा देखिएको छ ।

माधवकुमार नेपाल महासचिव नेकपा (एमाले) ले.२०५४-५-१०मा बिराटनगरको एउटा कार्यक्रममा– एमाले माओवादीको जस्तो आतंक, हत्या र लुटपाट गरेर चाहेको अवस्था ल्याउन चाहँदैन र पुँजीवादी तर्फपनि केन्द्रित कुनै हालतमा हुँदैन। नेकपा एमालेका जनप्रतिनिधिहरु सुविधाभोगी कुर्सीमोहमा निर्लिप्त हुन थालेका छन् । सैद्धान्तीक अडान त्यागी पदको लोभमा परेर विभाजित र बागी हुन थालेका छन् । पार्टीमा अनुशासनहीनता टड्कारो समस्याको रुपमा बढिरहेको छ पार्टीको आन्तरिक अवस्थाको चित्रण गर्नु हुन्छ ।

डा,सुरेन्द्र केसीले कान्तिपुर २०५४-२-५ माओवादी आन्दोलन र बार्ताका कुराका कुराका सम्वन्धमा :
वास्तवमा नेपालको माओवादी आन्दोलन एमालेको विकल्पमा उठेको आन्दोलननै हो । २०४६ साल पश्चातनै जब एमाले संसदवादतर्फ प्रवृत्त हुन थाल्यो तब मुलुकमा एउटा कम्युनिष्ट शक्तिको औचित्यको पूर्वआधार बनेको महसुस गरियो । त्यहि बेला प्रचण्ड बाबुरामहरुले झापा आन्दोलनको अनुकरण गर्दै आन्दोलनको सुत्रपात गरे । उनीहरु पनि गाउँबाट सहरलाइ घेर भन्ने माओको सिद्धान्तबाट प्रभावित थिए । प्रारम्भमा उनीहरुलाई कस्तो अपेक्षा रहेको हुनसक्छ भने त्यो गर्नासाथ एमालेभित्र रहेका सही कम्युनिस्टहरु उनीहरु तर्फ आकृष्ट हुनेछन् । तर उनीहरूको यो पुर्बानुमान भने बिफल देखियो । किनभने वर्तमान युग, ५०-६० को दशकको जस्तो कम्युनिस्ट लहरको युग होइन न त एमालेभित्र नै वास्तविक कम्युनिस्टहरूको बाहुल्य थियो । वास्तवमा एमाले संगठन पनि मध्यम वर्गीय बौद्धिक वर्गकै प्रभुत्वमा रहेको संगठन हो । यो मूलतः सुविधाभोगी र महत्वकांक्षी कांग्रेस विरोधी भावनाद्वारा परिचालित छ भनि बिश्लेषण गर्नु भएको छ ।

अझ अगाडी लेख्नु हुन्छ विद्यमान सामाजिक ढाँचालाई भत्काएर नयाँ संरचनाको निर्माण गर्ने कुरामा आफ्नो प्रतिबद्धता जाहेर गरेर हिंसात्मक बाटोमा लागेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले एउटा विकल्पको प्रस्ताव गरेको छ । यस विकल्पमा उसको भनाई अनुसार समाजमा उलट्फेर आउनेछ । असमानतालाई आधारभूत रुपमा हटाइने छ । समाजमा सामाजिक न्यायलाई सुसंगत ढंगले व्यवहार गरिनेछ । देश र जनताको विकासमा अवरोध उत्पन्न गर्ने राजनीतिक आर्थिक एवं सांस्कृतिक परिवेशमा परिवर्तन परिबर्तन ल्याइनेछ । यसो गर्न श्रमलाई मुक्त गरिनेछ । श्रमसम्बन्ध काम गरिनेछ । यो समाजको समग्र रुपान्तरणको आम प्रक्रियालाई सञ्चालित गर्न सर्बहारा बर्गको वर्गीय राज्यसत्ताको व्यवस्था गरिनेछ । यसको आरम्भ जनताको जनवादी राज्यसत्ताबाट हुनेछ । अन्तराष्ट्रिय सम्बन्धा र कम्युनिष्ट आन्दोलनभित्र यी विषयहरुमा विशद वादविवाद र गम्भीर छलफल भएको भएपनि यसको नेपाली वास्तविकतामा कसरी प्रयोग हुनेछ र यो विकल्पको सम्भावना कस्तो छ भनेर हेर्न प्रथमतः यो विषयलाई गम्भिर बिबेचनाको विषय बनाउन आवश्यक छ । यो अबका दिनमा नेपालमा राजनीति बहसको कार्यसूचीको महत्वपूर्ण विषय हुनेछ ।

आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जुन बाटो अख्तियार गरेको छ त्यसलाई आतंकवादको संज्ञा दिने काममा सरकार,मूल प्रवाहका संसदीय पार्टीहरु र बुद्धिजीवीहरूको एउटा पंक्ति लागेको छ । स्थापित मूल्यहरु माथि प्रश्न उठाउने सोक्रेटसको कामलाई अतिवादी मानियो । उनीमाथि लगाइएका अभियुक्तहरुलाई सामान्यीकरण गर्दा तिनीहरु युवाहरुमा मनो मस्तिष्कमा प्रष्टीकरण गर्ने र राज्यद्वारा मान्यताप्राप्त देवदेवीको सट्टामा आफैंले आविष्कार गरेका देवी माथि आस्था राख्ने कुराहरु थिए । यसरी आफ्ना नागरिकले विश्वास राखेको सामग्री जीवनको संरक्षणलाई कमजोर नपारेको अभियोगमा उनलाई मृत्युदण्डको सजाय दियो । यही कुरा आजको नेपाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) माथि पनि लागू हुन्छ समाजमा काम गराइएको आम विश्वासलाई चुनौती दिएको र साम्यवादका भिन्न विकल्पहरुको खोजी गरेका कारण यो पार्टीलाई उग्रपन्थी आतंककारी र अरु अनेक किसिमका अभियोगहरु लगाउने गरिएको छ । त्यसैले समाजमा व्याप्त रहेको असमानतालाई विद्रोहको मार्ग प्रदान गरेर सच्च्याउने प्रयत्नमा लागेको शक्तिलाई यथास्थितिको पक्ष्यमा रहेका वा स्थापित मूल्यका पक्षमा रहेका शक्तिहरूले आरोप लगाउनु बुझ्न सकिने कुरा हो ।

यस्तै उहाँले अनुभव र अनुभूतिमा शीर्षकमा लेख्नुहुन्छ संसदवादी कम्युनिष्टहरु उद्धरणको व्यापार आमरुपमा नेपालका सबै किसिमका कम्युनिस्टहरु मार्क्स एंगेल्स लेनिन स्टालिन माओ आदीका रचनाहरुबाट सन्दर्भयुक्त वा असन्दर्भयुक्त उदाहरणहरु पस्किने र आफ्ना अनेकौं निकम्मा बकवासहरुलाई वस्तुवादी क्रान्तिकारी र वैज्ञानीक भएको रामनामी ओडाउने काममा होड चलेको देखिएपनि संसदवादी कम्युनिष्टहरु यसमा अझबढी निर्लिप्ततापूर्वक लागेका पाइन्छन् । दार्शनिक विश्लेषण क्षमता नभएको कारणले भन्दा पनि जनता र कार्यकर्तालाई बराल्ने र उनीहरु माथि शासन गर्ने औषधिका रुपमा यस्तो कर्ममा संसदवादी कम्युनिष्टहरु लाग्ने गरेका छन् । यो कामले हुने प्रत्यक्ष र अप्रत्यक्ष फाइदाको स्वाद राम्ररी चाखिसकेका यिनीहरु यस्ता हजारौं उद्धरणहरूको थोक ब्यापार आफ्नो विद्वतताको प्रदर्शन र सामान्य कार्यकर्तामाथि बौद्धिक शासनको लालसाले समेत गर्ने गर्छन् ।

नेपालका कम्यूनिष्ट पार्टीहरुको सम्वन्धमा बिशेष गरी २०५४ देखि २०५६ को सेरोफेरोमा भएका बिश्लेषहरु हुन । अहिलेको अवस्थामा यीनै बिश्लेषणहरुलाई समायोजन गरेर घटनाक्रमलाई जोडेर हेरियो भने अहिलेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को बिषयमा बर्तमान र भबिष्यको रुप देख्न सकिन्छ । नेपालमा जनवादी क्रात्तिका लागि नेकपा(माले) सत्ताका लागि नेकपा (एमाले) र ठूलो पार्टी बनाउने जोसले बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को अवस्था हो ।

सत्ता प्राप्ति र कम्युनिष्ट शासन व्यवस्थाको सपना देखेर एक आपसमा परस्पर विरोधी दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी बीच एकता भयो । अनेक असन्तुष्टिका बाबजुत पनि यो पार्टी अहिलेसम्म सग्लो रुपमा नै छ । बर्तमान अवस्थामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दुई टाउके चराको जस्तो शारीरिक स्वरुपको भएको छ । स्वार्थ र सत्ताका लागि जास्तोसुकै कठोर निर्णय गर्न नेपालका कम्युनिष्टहरु पछि परेका छैनन । पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको इतिहास समेत विर्सिए । केपी शार्मा ओलीले पार्टीको ट्रडमार्क समेत मिल्काइदिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *