देश

परिवार र समाजकाे ज्याेती गुम्दा ….

आज लकडाउन भएको तेस्रौं हप्ता लागिसकेको छ । सडक शून्य । पसल शून्य । आवतजावत शून्य । सबै–सबै शून्य । यही शून्यता र फूर्सदमा मेरो जीवनमा सफलताका लागि घनीभूत उत्साह छर्ने मेरो ससुराबा, जो आज यस धर्तीमा हुनुहुन्न उहाँलाई सम्झिरहेछु । यो सम्बन्ध पनि कस्तो अचम्मको चिज रहेछ । सम्बन्धभित्र झाँगिएको माया–ममता, विश्वास–भरोसा र विश्वासबीच अडिएका अन्तरसम्बन्ध बास्तवमै स्वर्गीय अनुभूतिका पलहरु रहेछन् । जीवनका विविध सन्तुलन यसैगरी कायम हुँदो हो सायद । सायद मेरी श्रीमतीपछि सबैभन्दा मेरो स–सम्मानित व्यक्तित्वको रुपमा हुनुहुन्थ्यो उहाँ अर्थात् ससुराबा अर्थात् स्वर्गीय भोजराज लामिछाने (केशब) । जसले सायदै आफ्नो सबैभन्दा प्यारो चिज अर्थात् आफ्नी छोरीलाई मेरो आग्रहमा मलाई सुम्पिनुभयो । त्यसरी मलाई ज्वाइँ राजाको दर्जा प्रदान गर्नु भएका मेरो स्मृतिका एक युगपुरूषलाई यो सुनसान लकडाउनमा बडो तेजसाथ सम्झिरहेछु र उनकै यादमा पोखिन खोज्दैछु ।

मेरो मन मस्तिष्कमा रहेका कारण पनि सदैव सम्झिरहेछु, मात्र प्रस्तुति नगरेको हुँ सर्वत्र । यो सम्झना कुनै लकडाउनमा समय काटाउने माध्यम मात्र होइन । प्रस्तुतीका लागि मिलेको अमूल्य समय पनि हो भन्ने ठानेको छु । मलाई अत्यन्तै माया गर्ने मेरो अभिभावक रूपि तपाईं त भगवानको एउटा स्वरुप हुनुहुन्छ । आफ्नो कार्य ब्यस्तताका बावजुत हजुरका नाममा आजसम्म केही लेख्न नसक्नु मेरो कमजोरी सायदै नहोला । त्यसो त हजुरलाई कसरी भुल्न सक्छु र  हजुर त मेरो मन मस्तिस्कमा यसरी गढ्नु भएको छ कि मेरो मन मस्तिस्कबाट झिकेर हटाउन यो संसारमा कुनै पनि मेसिन औजार प्रबिधिको बिकास भएको छैन र म बाचुन्जेल तेसको बिकास पनि हुन्न ।

हजुरको माया, ममता, स्नेह, सम्मान मात्र म सँग छैननि ससुराबा । हजुरले बोल्ने, हिड्ने, बस्ने, उठ्ने, कुनै पनि परिस्थितिको अनुमान गर्ने, व्याख्या गर्ने, आफ्नो तर्क स्पष्ट राख्ने, कहिल्यै कमजोर नहुने अनि कहिल्यै अरूसग नदप्ने, निडर, स्वाभिमानि सोभाब बानि ब्यहोराको प्रतिमुर्ति अझैसम्म मेरो मन मस्तिष्कमा स्पष्ट गडेर बसेको छ । म हजुरलाई पत्तै नदिई हजुरको स्वाभिमानि, कर्मठ, हक्कि स्वभाव, स्पष्टता, हजुरको मौलिकता जस्ता महत्वपूर्ण गुणहरूको नक्कल गर्ने र आफु पनि हजुर जस्तै स्वाभिमानि, निडर, हक्की स्वभाव भएको ब्यक्ति बन्ने असफल प्रयास गरिरहेको थिएँ । मलाई थाहा थियो ममा हजुरजस्तो भगवानको गुढ अट्ने या भनु हजुरको गुण सुहाउने भण्डार थिएन तथापि पनि हजुरको जीवन र हजुरले यो संसार बुझेको बास्तबिकताका आधारमा चाल्नु भएको कदमको नक्कल गर्न खोजिरहेकै थिएँ । यति छोटो समयको लागि मात्र दर्शन दिनु भयो हजुरले । तै पनि मैले हजुरलाई धेरै नजिकबाट चिनिसकेको थिएँ । हजुर कस्तो भने सारा जिन्दगी हजुरको पछि लागेभने पनि मैले हजुरको त्यो मानबता, समाजसगको आबद्दता, वातावरण सँगको सामीप्यता, प्रकृतिसँगको सम्बन्ध, परिस्थिति जुझ्ने कला र तौर तरिकासम्म म कहिल्यै पुग्न सक्ने छैन सायद ।

हजुरको स्वाभिमानि स्वभावलाई मेरो जिवनको आदर्श बनाउन चाहन्थें । हजुरको निर्भिकता लाई मेरो जीवन जिउने हतियार बनाउन चाहन्थें ।  हुजरको समाजसँगको सामीप्यता सँग म पनि लुटपुटिन चाहन्थें । हजुरको जीवन दर्शनका भोगाईलाई लिपिबद्द गरी दैनिक पाठसरह फलाक्न चाहन्थें । हजुरले देखाएको बाटोमा बाटोमा घस्रन चाहन्थें । समाजका बिबिध परिस्थितिका सन्दर्भमा हजुरले राख्ने स्पष्ट धारणाको श्रोत पहिचान गर्न चाहन्थें । अरूलाइ सहजै प्रभाबित गरी बनाएको समूह, संगठन, संस्थाका मार्फत गाउँ समाज र देशका लागि काम गर्नु भए बमोजिमका उक्त कला कौशलताको नक्कल गरी हजुरले समाज परिवर्तन, समाज बिकास र समाजमा सुसासन ब्यवस्थापनमा पुर्याउनु भएको अतुलनिय योगदानको झिनो अंश आफु पनि आफ्नो गाउँ, समाज र राष्ट्रलाई दिन लागि पर्ने चाहना राख्दथें ।

हुन त हामी मानिसले आफुसँग नभएको कुरा माग्ने भगवान सँग नै हो र यदि मैले मुख खोलर हजुरको ती उच्चतम जीवन जिउने कला कौशलताका बिषयमा खोजि गरिरहेको, चासो राखेको छु भनेर हजुरका ती दिब्य उपदेश रूपि भावना केही मलाई पनि दिनोस भनेर मागेको भए सारा आफ्नो जिवनको अनुभव सबै दिनु हुन्थ्यो जुन मेरो मनमा, दिमागमा, मुटुमा साथै अन्तरहृदयमा बाढेर राख्दा पनि छताछुल्ल पोखिएर खेर जाने थिए । म सग ती हजुरका दिब्य उपदेशहरू अटाउने  भण्डारण क्षमता थिएन । तै पनि मैले हजुरको सिको र नक्कल गर्न छोडेको थिइनँ ।

दैबको लिला यश धर्तिमा हजुरको भाग भोग सकिएको रहेछ, यत्ति छिटै । मानव स्वरुपमा यहाँका दिनहिन, दिनदुखि, असहाय, भोका नाङ्गा, अशक्त मानिसको सेवा गर्नु भन्दा स्वर्गमा भगवानको साथमा बसेर भगवानलाई काम गर्न सहि तौल तरिका, सहि सल्लाह सुझाब र भगवानले गर्ने कामका सम्बन्धमा सहि प्रतिक्रिया दिने काममा लगाउदा समस्त जीव जगत ब्रम्हाण्डको हित हुने बुझेर नै होला सायद दैवले पनि कति छिट्टै यो भर्तीबाट टपक्कै टिपेर लग्यो । मानव चोलामा जन्म लिइसकेपछि मानिसले प्राप्त गर्ने आधारभूत सुख सयल, पहिचान, पारिवारिक सन्तुष्टि, समाज प्रतिको जिम्वेवारी बहन यी बिबिध बिषयका सन्दर्भमा आफैँले बनाएको नियमलाई पनि मिचेर भगवानले अल्पायुमानै यस धर्तीसँग सम्बन्ध विच्छेद गराएरै छाड्यो ।

ससुराबा हामी यहाँ ठिक छौ । हजुरको जस्तो अनि हजुर हिड्नु भएको जस्तो फराकिलो बाटोमा हामिले हिड्न नजाने पनि यो सन्सारको नीति नियम, चालचलन, रितिरिवाज, माया मोह, स्नेह आआफ्नो ठाउबाट सबैले जोगाईरहेका छौ, बाचिरहेकै छौं ।  हजुरले जस्तो परिवार, समाज, राष्ट्रकालाई बाच्न नजाने पनि हजुरले दिनु भएका ज्ञान–गुणको पोकालाई आफ्नै हिसाबले परिभाषित गर्दै बाचिरहेका छौं । आसा गर्छु हजुर पनि स्वर्गमा हासि खुसी यहाँ जस्तै त्यहाँपनि धेरैलाई प्रभावित पारेर, धेरैका मन मुटुमा बास गर्न सफल भैसक्नु भयो होला सायद । म कामना भगवानसँग यो कामना गर्छु की जसरी हजुरले यो धर्ति छोड्दा यहाँ हजुरका हामी जस्ता आश्रितहरू, हजुरका साथीभाइ, ईष्टमित्र, नातागोता, शुभचिन्तक, हजुरका लगायत धेरैले आँसु बगाएका थिए । त्यसरीनै सायद भगवानले हजुरलाई स्वर्गमा भन्दापनि अझ उत्कृष्ट ठाउँमा लगेर त्यहाँबाट ब्रम्माण्डको रेखदेख, पालन पोषणको जिम्मा दिन खोज्दै हुनुहुन्छ भने भगवान मेरो ससुराबालाई अहिले जहाँ हुनुहुन्छ हजुरको राज्यमा, सोहि राज्यमा राखिदिनोस अब अन्त नलगिदिनोस् किनकि त्यहाँबाट फेरी अन्त लाँदैगर्दा त्यहाँ पनि धेरै उहाका साथीभाइ, शुभचिन्तक, अनि उहाँ माथि भरोसा गरी बाँचिरहेका ब्यत्तिहरू धेरै रून्छन् । म भगवानलाई सबिनय अनुरोध गर्दछु फेरि अरूलाई नरूहाईदिनोस् ।

ससुराबा अहिले नेपालमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) को दुई तिहाईको सरकार छ नि । यो परिस्थिति देख्न हजुरले कति संघर्ष गर्नु भएको थियो । देशमा नयाँ सम्बिधान जारी पछि गरिएको स्थानीय निर्वाचनमा स्थानीय तहमा बिजय हासिल गरी तत्काल भन्दा अझै धेरै गाउँ समाजको विकास गर्ने दृढ संकल्प बोकेर आफ्नो रोगी ज्यानको कुनै प्रवाह नगरी  निर्वाचनको प्रतिस्पर्धामा होमिदा थप रोगले हजुरलाई आक्रमण गरेको न त हजुरले ख्याल गर्नुभयो न त हामीले नै । निर्वाचनको असफल परिणाम प्राप्त हुँदापनि कति सहजै उत्त परिणामलाई स्वीकार गरी प्रजातान्त्रिक प्रणालीको सगौरभ प्रशंसा गर्नु भएको उत्त क्षण म कहिल्यै भुल्न सक्दिन । जानि नजानि, सकि नसकि हजुरलाई सान्त्वना दिन भनी हजुरकोमा गएको मलाई नै सान्त्वना दिएर पठाउनु भएको क्षण म कसरी बिर्सन सक्दछु । अन्तरालमा सोहि खटन, दौडधुप नै हजुरको जिवनको अन्तिम कारण हुन्छ भन्नि हामिले कल्पना गर्न पनि सकेनौ सक्ने पनि थिएनौ । म पनि चाहन्थे हजुरले निर्वाचनमा उमेदवार बनेको देख्न । किनकि आफ्नो जीवननै समाजसेवा, पार्टी, संगठन, राजनीति भनेर बिताएको मान्छेलाई चुनाबको टिकटको कति महत्व हुन्छ भन्नेकुरा । म धेरथोर राजनितिमा जिज्ञासा राख्ने मानिसले पनि अनुमान लगाउन सक्दथे । हजुरलाई पनि चाहना थियो त्यो मैले बुझेको थिएँ । अनि हजुरको परिवारका सबैले राम्ररी बुझ्नु भएको थियो र सबैले साथ पनि दिनु भयो ।

सोही निर्वाचन परिणाम पछि हजुरको सम्बन्ध अस्पतालतिर बढि गाढा भयो । पटक–पटक, बारबार हजुर अस्पताल जाने र फर्कने क्रम चल्न थाल्यो । लगत्तै गरिएको संघीय सदन र प्रदेश सभाको निर्वाचनमा न त हजुरले सहभागी हुन पाउनु भयो न त परिणाम सुन्ननै । त्यो निर्वनचमा नेकपाले अत्याधिक बहुमत हासिल गरेर अर्काे साना दल सँग मिलि दुई तिहाईको सरकार संचालन गरिरहेको छ ससुराबा । आज हजुर बाचिरहनु भएको भए कति खुसि हुनुहुन्थ्यो होला । आफ्नो पार्टीले अस्थिर सरकारको नेतृत्व गरेको बखतत हजुर कति खुसी हुनु हुन्थ्यो तर अहिले त दुई तिहाई सहितको थिर सरकार म अनुमान गर्दछु । यस परिस्थितिमा हजुरले आफ्नो गाउ समाज बिकासका लाई धेरै महत्वपुर्ण काम गर्नु हुन्थ्यो । तथापी सायदै पार्टीको असल कार्यकर्ता र विवेक भरीएको मान्छे भएकोले यो सरकारले गरेका कयौं कुकृत्यपूर्ण कार्यहरु देख्दा तपाईंको कन पनि घरीघरी पोल्थ्यो होला सायदै । यो सरकारलाई सारा जनताले साथ दिए तापनि जन गुनासाका, जन जिविकाका, जन कल्याणका महत्वपूर्ण काम गर्न सकेन भनेर चौतर्फी आलोचना छ अचेल ।

ससुराबा अहिले सारा विश्वभर कोरोना भाईरस फैलिएर विश्व नै अस्तब्यस्त भएको छ । यो भाइरसबाट लाखौं संक्रमित भएका र यसको शिकार भइसकेका छन् । ठूला ठूला र शक्तिसम्पन्न देशहरुले त यो रोबाट निस्कन नसकेको बेलामा हाम्रो जस्तो अविकसित छेद त कसरी माथी निस्केला र ? बैदेशिक रोजगारि तथा बिदेश बस्दै आएका नेपालीहरू आफ्नो देश फर्कंदा बचिन्छ कि भनी हतार हतार आफ्नो मातृभूमि फर्कदा उपहारस्वरुपनै कोरोना भित्राइरहेका छन् । त्यसैकारणले गर्दा हाम्रो देश नेपाल पनि लकडाउन गरिएको छ । लक डाउन भनेको सेवामा खटिएका, राज्यले आवस्यकता अध्ययन गरि आवत जावतका सन्दर्भमा पास दिएका र अत्यावस्यक काम परेका मानिसहरूले आफ्नो जिवनको ख्याल गरी अरूबाट भाईरस आफुमा सर्न नदिने र आफुमा भाइरस छ भने अरूमा सर्न नदिने उपाय एवम उपकरणहरू प्रयोग गरेर मात्र बाहेक अरू कोहि पनि नागरिक घरबाट बाहिर निस्कन नपाउने ब्यवस्था रहेछ जुन अहिले हामिले बेहोरिरहेका छौं । हजुर यहाँ जिवित हुनुहुन्थ्यो भने हजुरलाई यो लकडाउन समयमा घरमानै बसेर सेल्फ आईसोलेसनमा रहन कति गाह्रो हुन्थ्यो होला । हजुर धेरै छटपटाउनु हुन्थ्यो होला । कल्पना गरिरहेछु यस समय ।

अन्यमा मैले हजुरलाई कहिले पनि कुनैपनि बखत नभुलेको, नबिर्सेको, सदा आफ्नो मनमा, अन्तरहृदयमा राखिराखेको साथै सदैब आफ्नो शक्तिका प्रतीक मानि जीवन बिताइरहेको र बिताईरहनेमा प्रतिवद्ध छु । हजुर जस्तो युगपुरूषले आफ्नो ज्वाईंराजा जस्तो महत्वपूर्ण दर्जामा मलाई बिस्वास गर्नु भएको र ब्यबहार आफ्नो छोरा जस्तै गर्नु भएको यथार्थका सम्पुर्ण झलकहरू मेरा आँखा अगाडि प्रस्ट झल्किरहेका छन् । पेशागत रूपमा व्यापार ब्यवसाय, राजनैतिक एवं सहकारी क्षेत्रका माध्यमबाट समाजसगको अन्तर निकटता साथै शिक्षा क्षेत्रको बिकासमा सदैब तत्परता लगायत समाजको बिबिध बिषयमा अभिरूचि राख्ने तथा हजुरमा भएको ज्ञान साथै मैले अगालेको प्राध्यापन पेशा, मेरो सहकारी अभियानमा संलग्नता साथै राजनीतिमा जिज्ञासा आदि परिवेशका कारण हामी दुईबीच झनै प्रगाढ सम्बन्ध कायम भएको थियो । म हजुरको ज्वाईंको रूपमा रहेको आफुले नजन्माएको छोरो हजुरको सामाजिक प्रतिष्ठा, मान सम्मान, ईज्जतको सदैब जगेर्ना गर्ने मार्गमा दृढ संकल्पका साथ लागिरहेको छु र लागिरहनेछु ।

बेलकोटगढी नपा १२, वासुकी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *