कला/साहित्य

आमा बन्ने अधिकारमा भोटे ताल्चा

 ‘डा…….र्लिङ……..।’

गाडीबाट ओर्लिनासाथ लोग्नेले लामो लेघ्रो तान्दै सास फुस्किने गरी चिच्यायो र बतासिएर कोठाभित्र छिर्‍यो । बाबियोको डोरीले घाँसको बिटो कसेसरि ग्वाम्लाङ्ग अँगालोभित्र कस्यो र मनकामनाका सुन्तलाको फेसा चुसेसरि उनका ओठ चुस्न थाल्यो ।

पत्नीले सोध्ने त के ? सोच्ने मौकासम्म पाइनन्, यो बेमौसमको चुम्बन किन र केका लागि ? उनले यस प्यारमा न सहभागिता जनाइन्, न इन्कार नै गरिन् । न उत्सुकता प्रदर्शन गरिन्, न अनिच्छुक नै भइन् । पतिको क्रियाकलापमा भाँजो भने हालिनन् ।

पत्नी शिक्षित गृहिणी थिइन् । यस बेला पनि स्वेटर बुन्दै टिभीमा ‘तुम्हारी सुलु’ हेरेर टाइम पास गरिरहेकी थिइन् ।

‘कसरी दिन काट्छेस् ।’ आमा केर्थिन् ।

‘समय बिताउने साधन के छ ?’ साथीहरूको जिज्ञासा हुन्थ्यो ।

‘बोर लाग्दैन ?’ छिमेकी घोच्थे ।

‘घरको काम गर्दैमा टाउको उठाउन पाउँदिन । समय बचे किताब, पत्रिका छँदैछन् । म त पूर्ण सन्तुष्ट छु ।’ उनको रेडिमेड, एकमुष्ठ जवाफ हुन्थ्यो ।

उनको रेडिमेड जवाफजस्तै उनी साच्चिकै सन्तुष्ट थिइन् त ? यक्ष प्रश्न यही थियो । प्रश्नको जवाफका पाना पल्टाउन उनको जिन्दगीसँग जोडिएको हाम्रो समाजमा विरलै देखिने नितान्त अनौठो र अडवाङ्गे कथाको पाटो खोतल्नु आवश्यक छ ।

000                         000                         000

उनकी आमा हालको पतिको घरभित्र नोकर्नीको रूपमा छिरेकी थिइन्, साथमा दूधे बालक लिएर । संयोगले पतिको पनि भर्खरै पास्नी भएको थियो ।

यसैले मालिकको छोरो र नोकर्नीकी छोरी एक साथ हुर्के । बढे । त्यति मात्र नभएर मालिक उदार मनका भएकाले एउटै स्कुलमा पढे ।

यतिसम्म असमान्य घटना केही भएन ।

उमेरको करामत भनौँ । छोरीको गालामा इन्द्रेणी रङ पोतिन थालेपछि भने छोराले उनलाई लेडी डायनाभन्दा बढ्तै सुन्दर देख्न थाल्यो । प्यारले डायना नामकरण गरिदियो । हरदम उनकै नामको भजन गाउन थाल्यो । उनकै नाम गाँस टिप्न थाल्यो । बाबुआमासँग उनलाई दुलही बनाइदिन घुक्र्याउन थाल्यो । माग पूरा नभए मेटासिड सुइक्याइदिने धम्की दिन थाल्यो । दिनको सत्र पल्ट उनीसँग जीवन साथीको रूपमा स्वीकार गर्ने वाचा गर्न थाल्यो । सास रहुन्जेल धोका नदिने कसम खान थाल्यो ।

साथमा अनौठो तर चट्टाने शर्त के राख्यो भने ‘ब्रह्मनालमा पुर्‍याउनुअगाडि सम्म तिम्रो शरीरमाथि मेरो र मात्र मेरो स्वामित्व रहनेछ । अधिकार रहनेछ ।’

अनपढ आमाले यस्तो अनपेक्षित प्रस्ताव स्वीकार नगर्ने प्रश्नै भएन, सपनामै नसोचेको घरमा सम्बन्ध जो गाँसिँदै थियो । छोरी जो गाडीमा हुइकिने हुँदै थिई । आफूले भाँडा माझेको, फर्स सफा गरेको घरमा छोरीले राज जो गर्न पाउने भएकी थिई । त्यसैले उनी उसको शर्तभित्रको गुढ रहस्य र यसले भविष्यमा पार्नसक्ने सम्भावित असर खोतल्नपट्टि लाग्दै लागिनन् ।

शिक्षित छोरीले रहस्यका गाँठागुठी पहिल्याउन खोजेको भए हुन्थ्यो । उनी पनि यसमा कमजोर विद्यार्थी ठहरिइन्, गलत उत्तर लेखेर उत्तर पुस्तिका बुझाइसकेपछि टाउको ठोक्ने । सही जवाफ खोज्न लागेको भए सायद ……।

रहस्यको पोको खुल्दासम्म समय भन्ने जन्तु धेरै फड्किसकेको थियो । उनी कहिल्यै नफुत्किने जन्जिरमा बाँधिइसकेकी थिइन् ।

साँचो अर्कैको गोजीभित्र भएको जन्जिरमा बाँधिए तापनि, आफैँले रोजेको कैदी जीवन भए तापनि उनको ‘आमा मन’ त स्वतन्त्र थियो नि, एक दम फुक्का ।

000                         000                         000

 ‘उमेर छँदै छ नि । एक दिन उसको मन कसो नफिर्ला । बाह्र वर्षमा खोला त फर्किन्छ भन्छन् ।’ उनको आमा मनले ढाढस दिन्थ्यो ।थुमथुम्याउँथ्यो ।

हो पनि, उनको उमेरले आमा बन्न छेकबार गरिसकेको थिएन । बारबन्देज लगाइसकेको थिएन । तर उनी बाँचेको समाजको सोच र चिन्तनले भने धारिला प्रश्न उठाउन थालिसकेको थियो ।

‘बिहा भएको दश वर्ष भइसक्दा पनि …………..।’ जिब्रो पड्काउनेहरू, खासगरी सासूआमा उमेरकाहरूको सङ्ख्या दिनानुदिन बढोत्तरी हुँदै थियो ।

‘कतै………….?’ सुइरो उनीतर्फ नै सोझिन्थो ।

भ्रम नपरोस्, उनको कोख रित्तो हुनुमा उनी बाँझी भएर अथवा पति नपुंशक भएर कदापि होइन । भनिहालियो, यसको मुख्य तगारो पतिदेवको शर्त थियो । ऊ सधैँभरि उनको शरीरमाथि एक्लै, सिर्फ आफैँले मात्र राज गर्न चाहान्थ्यो ।

‘कसैले तिमीलाई ‘टच’ मात्र गरोस्, चत्रक्क हात छिनालिदिन्छु । कसैले तिमीतर्फ हेरोस् मात्र, म झिरले कचक्क आँखा फोडिदिन्छु ।’ उसले उनलाई अन्माउनु अगाडिदेखि नै घोषण गर्दै आएको थियो ।

‘छोराले मेरो बुबु चुसे पनि ? थुतुनो काट्ने ?’ पहिले पहिले उनी जिस्किन्थिन् ।

‘मैले सय पटक दोहर्‍याइ सकेँ । यो जिस्किने विषय हुँदै होइन ।’ ऊ फनफन गर्दै बाहिरिन्थ्यो र हप्तौँ सम्म घुप्प फुलेर बस्थ्यो ।

‘यस्तो सनकीसँग तर्क गर्नु, कोख भर्नलाई झोली फैलाउनु बेकार छ । तर समय कसो नआउला ?’ उनी आफैँलाई थामथुम पार्थिन् । ढाढस दिन्थिन् ।

पर्खिनुको विकल्प पनि थिएन ।

000                         000                         000

 ‘आज बढ्तै गयो कि क्या ? ल, ल म तयार भइहाल्छु । डान्सबारतिर त जाने होला नि ।’ उनले उसको अँगालोबाट फुत्किने प्रयत्न गरिन् । सायद मनमा मधुरो आसाको फिलिङ्गो पनि उठेको हुँदो हो– ‘बढ्तै पिएको छ, मेरो अधुरो अतृप्तचाहना पूरा भइहाल्छ कि ? हो न हो, पर्खेको समयको बोलावट पो आएको हो कि ?’

उनले पतिको चेहरा पढ्ने कोसिस गरिन् । उसको चेहरामा कामोत्तेजनाको आागो त दन्किरहेको थियो तर उनले खोजेको ‘चाहना’ नामको धर्सो थिएन । ऊ ड्रयर खोतल्दै थियो । सायद हिजो अस्तिको जस्तै ‘साधन’ खोजेको हुनुपथ्र्यो ।

‘आज कतै जाने होइन क्या । रातभरि भरमार माया गर्ने । ‘आइ एम भेरी मच ‘एक्साइटेड’ ।’ कपडा फुकालेर ऊ आफूलाई तयार बनाउन थाल्यो ।

‘के को खुशीयाली हो यो । करोडको चिट्ठा परेजस्तो छ नि ।’ उनले कपालबाट क्लिप फुस्काउँदै आफू पनि उत्तेजित भएको स्वाङ पारिन् । जवाफ अलिकति सकारात्मक आएकोमा उनलाई राहत जस्तो भयो  । ‘महिनावारी भएको पनि दस दिन मात्र भएको छ । आज त …….।’ उनले पनि नाइट गाउन भिर्ने सुरसार गरिन् ।

‘कस्तो ‘साइकोलोजी’ बुझ्न सकेको ? मानेँ । खुशीले विभोर छु म । साँच्चिकै चिट्ठा पर्‍यो, चिट्ठा । कुइरेले पाँच वर्षे भिसा दियो । अब अमेरिका उड्ने भइयो, बुझ्यौ । यो अभागी, भीखमङ्गाको  देशबाट….।’ उसले भन्न खोजेको थियो–‘यो अभागी, भीखमङ्गाको देशबाट सदाका लागि मुक्ती पाइने भयो ।’ भनेन । कानको लोतीसम्म पुग्ने गरी दाह्रा फट्टायो र डगरङ्ग खाटमाथि उत्तानो पल्टयो ।

‘किन जानु पर्‍यो अर्काको देशमा । यहाँ पाइने नमस्कार, सम्मान त्यहाँ पाइँदैन क्यार । फेरि हजुर नभएपछि भोका स्याल, कुकुरले मेरो शरीरमाथि आँखा गाडे भने, कुदृष्दि राखे भने, मेरो सुरक्षा कसले गर्छ ? यसमा सोचविचार गरिबक्सेको छ ?’ उनले असन्तुष्टि पोख्दै अन्तिम अस्त्र फ्याकिन् ।

यस बेलासम्म उनको मनभित्र उठेको खुशीको दियो झ्वाप्प निभेर खरानी भइसकेको थियो ।

‘तिमी जेसुकै भन । आज म तिमीसँग बहस गर्ने मुडमा छैन । तिम्रो शरीर, मेरो शर्त कसैले पनि मलाई बाँध्न सक्दैन । म गएँ भने गएँ ।’ उसले उनलाई अँगालोबाट हटाउँदै चुरोट सल्कायो ।

‘त्यो हजुरको निर्णय हो । उचित वा अनुचित, सही वा गलत जेसुकै होस्, म त्यतापट्टि लाग्दिनँ । म हजुरको अर्धाङ्गिनी भएको नाताले यस खुसियालीमा केही माग गर्ने हक मेरो पनि बन्छ ।’ उनी पनि खाटबाट जुरुक्क उठिन् ।

‘भन न भन । आज मैले सकेको माग पूरा गर्न तयार छु ।’ ऊ रानी कैकयीलाई वर दिँदाको बखतको राजा जनक देखियो ।

‘विहा भएको दस–दस वर्षसम्म हजुरले मलाई मेरो आमा बन्ने नैसर्गिक अधिकारबाट वञ्चित गराइबक्सियो । अब हजुर उड्ने नै भएपछि मैले मेरो आमा बन्ने अधिकारमा भोटे ताल्चा लगाउनुपर्ने हुन्छ । फेरि विदेशमा गएको मान्छे, जे पनि हुन सक्छ । अशुभ कुरा त सोच्दिनँ, लामो समयसम्म हजुर आउने मेसो नमिल्न सक्छ । काम गरेको ठाउँबाट बिदा नपाइन सक्छ । उतै अर्को घरजम हुन सक्छ । फर्केर आइहाले तापनि मेरो उमेरले नेटो काटिसकेको हुन सक्छ । त्यसैले आज हजुरले अप्राकृतिक चिज लगाउन पाउँदै पाइबक्सिन्न ।

चान्स फ्याक्टर हो, यसबाट पनि मेरो चाहना पूरा नहुन सक्छ । त्यसका लागि ……..।’ उनले वाक्य अधुरो छोडिन् ।

‘के गज्याङमज्याङ, अस्पष्ट कुरा गरेको ? खुलस्त नभनेर के को गिदी हल्लाइरहेको ।’ ऊ हल्का ‘इरिटेड’ देखियो ।

‘त्यसका लागि मलाई हजुरको वीर्य चाहिन्छ ।’ उनको स्वरमा याचन नभएर दृढता थियो ।

‘के वाहियात विषय उठान गरेको ? यस्तो रमाइलो मुडमा ।’ ऊ जुरुक्क उठयो । एक पेग ह्वीस्की बनायो र निट पियो ।

‘म हजुरको वीर्य वीर्यबैङ्कमा राख्छु । केही गरी हजुर आउन ढिला भयो भने वा………..।’ उनले उद्देश्य खुलस्त बनाइन् । यसो भनिरहँदा उनको चेहरा निर्विकार थियो ।

‘तिम्रो अनुरोध स्वीकार्छु । तर याद गर, तिम्रो शरीरको साँचो मैसँग रहने छ । यसमा तलमाथि पर्‍यो भने ……।’ उसले फेरि कडा चेतावनी दियो ।

000                         000                         000

लम्बेतान गलफती, अनमन, ठस्काठस्की, विवादपछि आधा रातमा सहमती भयो । अर्थात् उनले पतिदेवलाई मनाएरै छाडिन् । उसले वीर्यदान गरेको सातौँ दिनमा कामेन्द्र अमेरिका उडयो । अमेरिका उडेको केही समयसम्म उनीहरूको बीचमा च्याट भइरहन्थ्यो । च्याटमा उनले आफ्नो मनको पत्र कमै खोलिन् । उसले नै एकालाप गरिरह्यो ।

‘हाइ डार्लिङ †  हाउ आर यु ? आइ एम फाइन ।’

‘म बसेको ठाउँ अत्यन्त ‘प्यानरोमिक’ छ । तिम्रो गालाभन्दा सुन्दर ।’

‘रमाइलोको त कुरै नगर । मनोरञ्जन भन्छयौ भने चाहनु मात्र पर्‍यो, जे पनि पाइन्छ ।’

‘दिनदिनै मोज हुन्छ । मोज र मात्र मोज हुन्छ ।’

‘हा..हा..हा…हा…।’

‘म त चुत्थो नेपालमा फर्कंदै फर्किन्नँ ।’

प्रत्येक च्याटको अन्तमा ऊ अन्तिम वाक्य दोहर्‍याएरै छाड्थ्यो । तर यो कहिल्यै सोध्दैनथ्यो कि मैले लगाएको ताल्चा खोल्नु पर्छ पर्दैन ।

पछिल्लो वाक्यले उनलाई पिरोल्नुसम्म पिरोल्थ्यो । तातो भुङ्ग्रोभित्र हात घुसारेझैँ हुन्थ्यो । मनभित्र राँको बल्थ्यो । पोल्नुको कारण अरू थोक नभएर उनको शरीरमाथि उसले लगाएको ताल्चाको साथमा उकालो चढ्दो उमेर थियो । कामेन्द्रले नेपाल छाड्दा उनी तीस वसन्त पार गर्दै थिइन् । यस वर्ष कामेन्द्रले नेपाल छाडेको पाँच वर्ष पुग्दै  थियो । यसको सोझो अर्थ उनी करिब पैँतिसको खुड्किलोमा थिइन् ।

‘कामेन्द्र † मलाई भने आराम छैन । चैन छैन । मेरो ममत्वले मलाई दिनहुँ धम्क्याइरहेको छ । घुक्र्याइरहेको छ । कायर र कातरको तक्मा लगाइरहको छ । प्याच्च प्याच्च थुकिरहेको छ ।

पतिदेव † तिमी रत्तीभर नडराऊ । म कुनै हालतमा पनि तिम्रो शर्त उल्लङ्घन गर्ने छैन र नारीजातिको अपमान हुने कुनै आचरण गर्ने छैन । तर म नारी भएकोले आमा बन्ने मेरो प्रकृति प्रदत्त अधिकार कसैले छिन्न सक्दैन । तिमी पनि यो अधिकारबाट बञ्चित गर्न सक्दैनौ । म भोलि नै डाक्टरसँग सल्लाह लिन्छु र तिम्रो कुनै प्रतिक्रिया नलिएरै, सुझाव नमागेरै तिम्रै वीर्यबाट गर्भाधान गर्ने प्रक्रिया थाल्छु । वाई…….।’ च्याट सकिँदा रातको अन्तिम प्रहर थियो । उनले मनभित्र उर्लिएको छाल मेसेन्जरमा छरपष्ट पोखिन् ।

000                         000                         000

 ‘सोचविचार गरी निर्णय लिनु भएको हो ? पति अमेरिकामा छन् भन्नुहुन्छ । इन्टरनेटको जमाना छ । सन्देश पठाउन सेकेण्ड लाग्दैन । घरपरिवार पनि हुनुहुन्छ होला । ल, पति र घरपरिवारले पचाउला रे । समाजलाई कसरी र के जवाफ दिनुहुन्छ ?’ डाक्टरले व्यावाहिरिक रूपमा अँध्यारो पक्ष देखाउने प्रयास गर्‍यो ।

‘कसले के भन्छ ? मलाई सरोकार छैन । मलाई यति मात्र थाहा छ, म आमा बन्नुपर्छ र यो मेरो प्रकृति प्रदत्त स्वतन्त्रता हो ।’ उनको स्वरमा हदैसम्मको दृढता थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *