काठमाडौं । सिंगो मुलुक कोभिड–१९ (कोरोना) भाइरस विरुद्ध लड्न एक जुट भैरहँदा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सर्वदलीय संयन्त्रको आवश्यकता रहेको बताउन थालेका छन् ।
पार्टीका कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपनि खासै भूमिका निर्वाह गर्न नपाएका प्रचण्डले सर्वसदलीय संयन्त्र तयार गरी समानन्तर सरकार सञ्चालनको अभ्यासमा गर्ने दाउमा रहेका छन । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राखेको प्रस्तावलाई उनले पार्टीको सचिवालय बैठकमा समेत राखेपछि यसको चर्चा बाहिर पनि चुलिएको छ । दुई तिहाइ नजिक बहुमत प्राप्त रहेको दललाई असफल बनाउने गरी आएको प्रस्ताव पार्टीलाई मान्य नहुने भन्दै शीर्ष नेताहरुले अस्वीकार गरेका थिए ।
साझा पार्टी लगायतका नेताहरुले नेकपाका अध्यक्ष दाहालले सरकार पार्टीको विरोध भएकाले सर्वसलीय संयन्त्र बनाएर जाँदा हुन्छ कि भन्ने कुरा उठान गर्दा पार्टीका नेताहरुले यो विषयमा कुनै छलफल नै गर्न आवश्यक नठानेको स्रोतले जनाएको छ । नेकपाका शीर्ष नेताहरु झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा, सर्वदलीय संयन्त्रको विपक्षमा रहेका छन् । वामदेव गौतम भने यो विषयमा मौन बसेको स्रोतले जनाएको छ । केही दिनअघिदेखि साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेकपाका कार्यकारी अध्यक्ष दाहाल र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवासँग कोभिड–विरुद्धको लड्न सर्वदलीय संयन्त्रको आवश्यक रहेको र त्यसको पहल गर्न आग्रह गरेका थिए । तर देउवाले यस्तो बेलामा सरकारलाई सहयोग गर्ने पहिलो प्राथमिकता हो भन्ने जवाफ दिएको स्रोतले भन्यो ।
सरकारका कामको विषयलाई लिएर पार्टीभित्र अन्तर्विरोध बढ्दै गएकपछि अध्यक्ष दाहाल तनावमा थिए । पार्टीका कतिपय केन्द्रीय सदस्यहरुले स्वास्थ्य मन्त्रालयबाट भएको स्वास्थ्य सामग्री खरिद प्रकरण र सेनालाई स्वास्थ्य उपकरण खरिद गर्न दिएको विषयलाई लिएर सरकारको आलोचना सार्वजनिक गर्न थालेका कारण उन सर्वदलीय सयन्त्र बनाउनुपर्छ कि भन्ने लाइनमा पुगेको स्रोतले जनाएको छ । यही बीच दाहालले पूर्वमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए । स्रोतका अनुसार उनीहरुबीच लामै छलफल भएको थियो । गत पुसमा सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले पार्टीभित्र गुट भेला नगर्ने निर्देशन दिएविपरीत उनले आफू पक्षीय मन्त्री र नेताहरुलाई बोलाएर छलफल गरेका थिए । कुन न कुनै बहानामा उनी केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका हुनसक्ने नेकपाकै नेताहरुले बताउन थालेका छन् ।
सरकारले कोभिड –१९ का संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीका सामान उपलब्ध गराउनेदेखि लिएर औषधि उपचारको प्रवन्ध मिलाउने, संक्रमण फैलिन नदिन ‘लकडाउन’ लगायतका सामाजिक दूरी कायम गराउने निर्णय गरिसकेको छ । यो अवस्थामा सत्तारुढ दलकै अध्यक्ष प्रचण्डले भनेझैँ सर्वपक्षीय संयन्त्र किन आवश्यक पर्यो भन्नेबारे बहस पनि सिर्जना भएको छ । कतिपयले प्रचण्डको अभिव्यक्तिलाई सरकारका काम कारवाहीप्रतिको असन्तुष्टिका रुपमा व्याख्या गरेका छन् । उनी आफै सत्तारुढ दलको कार्यकारी अध्यक्ष भएर यस्तो बेलामा सर्वदलीय संयन्त्रको प्रस्ताव गर्न नहुने धारणा आएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समेत सरकारलाई सहयोग गर्ने भनिरहेका बेला सत्तारुढ दलकै अध्यक्षको यो भनाई शोभनीय नभएको टिप्पणी नेकपाभित्र गर्न थालिएको छ ।




