काठमाडौं । सरकारले देशभर लकडाउन गरेको र सीमा नाका समेत कडाइ गरेका बेला सर्वसाधारण जहाँत्यही बसिरहेका छन् । लकडाउनलाई कडाइका साथा पालाना गराउन प्रहरी र स्वास्थ्यकर्मीहरु कोरोना भाइरसविरुद्ध खुलेआम लडिरहेका छन्।

ज्यानको बाजी थापेर काम गरिरहेको भन्दै उनीहरुले जनताको स्याबासी पनि पाइरहेका छन्। सरकारले उनीहरुलाई अधिक प्रोत्साहन गर्नुपर्ने आवाज पनि उठिरहेको छ। यही बेला प्रहरी नेतृत्वले प्रहरी कर्मचारीकै तलब काटेर राहत कोषमा जम्मा गर्न निर्दैशन दिएपछि सामाजिक सञ्जालदेखि सर्वसाधरण सम्मले विरोध गरिरहेका छन् ।
प्रहरी प्रधान कार्यालयले अधिकृतस्तरका कर्मचारीको सात दिनको तलब सरकारी राहत कोषमा जम्मा गर्न दिएको निर्दैशनलाई पूर्व राजाले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । पूर्व राजा ज्ञानेन्द्रले सामाजिक सञ्जाल ट्वीट मार्फत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुबाट राज्यले आर्थिक सहयोग नलिएको राम्रो हुने बताएका छन् ।
‘संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पारोस् । राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ,’ उनले भनेका छन् । उनले मात्र होइन प्रहरी कर्मचारीको तबल कटौतिको सर्वत्र विरोध हुन थालेको छ ।





