काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक अपरान्ह ४ बजे बस्दैछ । बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरे । उनले बैठक अघि सम्बोधन गरेर मुलुकमा कोरोना भइरसको संक्रमण जटिल परिस्थितिमा रहेको संकेत गर्न खाजेका छन् ।
कोरोना भाइरस (कोविड १९) संक्रमणका विषयमा पार्टीमा कुनै औपचारिक छलफल नगराईएका, औषधी तथा स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितिता भएको र नेताहरु संलग्न रहेको आरोप लागेको र अन्ततः नागरिक प्रशासन कमजोर पार्ने गरि खरिदमा सेनालाई जिम्मा दिएकोमा पार्टीभित्र विवाद बढिरहेका बेला उनको सम्बोधन केवल बैठकबाट सहानुभूति बटुल्ने माध्यम बनेको स्पष्ट हुन्छ ।
पार्टी बैठक बोलाउन नेताहरुले आग्रह गर्दागर्दै पनि आलटाल गर्दै आएका प्रधानमन्त्री ओली अन्ततः बैठक बोलाउन तयार भएका छन । पार्टी बैठकमा आफ्नो चर्काे आलोचना हुने देखेपछि उनले त्यसलाई पहिले नै सामसुम पार्नका लागि बैठक अगाडी नै कतिपय विषयमा देशवासीका नाममा गर्ने सम्बोधनमार्फत नै सम्बोधन गर्ने प्रयास समेत गरेपनि उनको सम्बोधनबाट नेताहरुले चित्त बुझाउने अवस्था छैन । नेकपामा चैत ५ यता सचिवालयको बैठक बस्न सकेको थिएन् । राष्ट्रिय संकटका बेला राष्ट्रिय सहमति कायम गरेर जानुपर्नेमा सरकार एकलौटी हिडन खोजेको, पार्टीमा समेत कतिपय विषय जानकारी नगराईएको, कोरोना सकंटसँग जुध्ने सवालमा पार्टीलाई समेत सरकारले जोडन नचाहेको जस्ता आरोप मात्र सरकारलाई लागेको छैन, यतिवेला देशलाई प्रधानमन्त्रीको आवश्यक परेका बेला प्रधानमन्त्री आफै हराईरहेको र खरिद प्रकरणमा अनियमितताका कारण पार्टी बदनाम हुन पुगेको जस्ता आरोप लागेको छ ।
झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, लगायतका नेताहरुले यही विषयमा छलफलका लागि सचिवालय बैठकको माग गर्दै आएका थिए । नेकपाभित्र अन्य कतिपय मुख्य मुद्दाहरु पनि निरुपण हुन सकेका छैनन् । आफु समेत सहभागी सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई समेत प्रधानमन्त्री ओलीले कार्यान्वयन गरेका छैनन । नेकपाभित्र पछिल्ला चरणमा विवाद चर्किदै आएको थियो । अझ ओली निकट नेताहरुले पार्टीका अन्य नेताहरुको बदनाम गर्नका लागि सामाजिक सन्जालमार्फत अनावश्यक भ्रम सिर्जना गर्न ‘वार गु्रप’ नै सञ्चालन गरेपछि नेताहरुका बिचमै अविश्वास र विवाद बढ्दै आएको थियो । यो बैठक सोही कारण पनि चर्काचर्की हुने अपेक्षा नेताहरुले गरेका छन् । नेताहरुले यस्तो संकटमा पनि सरकारले प्रभावकारी काम गर्न नसकेको, अनेकौ कमजोरी सरकारले गरेको भन्दै प्रश्न उठाईरहेका छन् ।
सोमबार मात्रै वरिष्ठ नेता माधव नेपालले आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको कमजोरीलाई सच्याएर अगाडी बढनुको विकल्प नभएको बताएका थिए । प्रचण्डले दैनिकजसो पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतमसँग टेलिफोनमा कुराकानी गरिरहेका छन्। उनले पार्टीको बैठक बोलाउने विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको तर कुनै जवाफ नपाएको सचिवालयका सदस्यहरुलाई जानकारी दिएका थिए यही विषय थाह पाएरै आज बैठक बोलाइएको छ । बैठकमा कोरोना संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि नेपाली सेनाको छाउनीस्थित महावीर गण (रेन्जर)परिसरभित्र ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)’ कार्यालय स्थापना गरिएको छ।
निजामती प्रशासन मातहत राखेर सञ्चालन गर्नुपर्ने कार्यालय सेनाको ब्यारेकभित्र राखिएको छ। सूचना सम्पेषणका हिसाबले सहज हुने स्थान सिंहदरबारमा सिसिएमसीको कार्यालय राखिनुपर्थे। कार्यालय स्थापना, प्रारम्भिक सूचना प्रणालीको विकास, अत्यावश्यक जनशक्तिको व्यवस्थापन र स्थायी कार्यविधिहरूको मस्यौदा विकास गर्ने कार्यसम्पन्न भइसकेको सिसिएमसीले जनाएको छ। सिसिएमसीलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहसम्म निजामती, सुरक्षा निकाय र सबै सरोकारवालाको संयुक्त समूहहरूमार्फत कोरोना भाइरसविरुद्ध एकीकृत रुपमा सबै प्रकारका प्रतिकार्यहरू सञ्चालनको अधिकार दिइएको छ। सेनाको व्यारेकमा कार्यालय राखेको प्रति पार्टीका नेताहरुले असहमति प्रकट गर्दै आएका छन् । यसबारे पनि आजको बैठकमा कुरा हुने बताइएको छ ।




