काठमाडौं । विश्वव्यापी रुपमा कोभिड–१९को सन्त्रास फैलिएपछि भारतीय सेनाले नेपालमा ‘र्यापिड रेस्पोन्स टिम’ पठाउने प्रस्तावलाई तत्कालका लागि नेपाली सेनाले अस्वीकार गरेको छ । भारतीय सेना प्रमुखले नेपालमा ‘र्यापिड रेस्पोन्स टिम’ सहयोगका लागि भारतीय सेना तयार रहेको जनाएपनि नेपाली सेनाले तत्कालका लागि त्यसलाई अस्वीकार गरेको हो ।
अहिले नेपाल आफै यो समस्यासँग जुध्नसक्छ आवश्यक परे मात्रै सहयोग माग्नेछौ भन्दै नेपाली सेनाले त्यसलाई अस्वीकार गरेको हो । ‘ दुई सेनाको सहकार्य भन्दै भारतीय सेनाले अनौपचारिक प्रस्ताव राखेको हो तर हामीले त्यसका लागि धन्यवाद भन्यौ र अहिले आवश्यक छैन आवश्यक परेमा सहयोग माग्नेछौ भन्यौ’, नेपाली सेना उच्च स्रोतले भन्यो ।
स्रोतका अनुसार नेपालमा कोरोनाको प्रभाव नियन्त्रणबाहिर नभएकाले अहिले नेपालकै जनशक्तिबाटै परिस्थिति सम्हाल्न सक्ने अवस्था रहेकाले त्यसलाई अस्वीकार गरिएको हो । ‘अहिले नेपाली सेना नै परिचालन भइसकेको अवस्था छैन, त्यसैले जनशक्तिसहितको सहयोगको अहिले नै आवश्यकता छैन,’ सैनिक उच्च स्रोतले भन्यो ।
सेनाले कोरोनाको प्रभावबाट उत्पन्न हुने परिस्थितिलाई ध्यान दिँदै आवश्यक पर्दा कसरी परिचालन हुने भन्ने विषयमा रणनीति बनाइरहेको छ । ‘हामीलाई अहिले आवश्यक पर्ने औषधि तथा उपकरण हो । त्यस्तो सहयोग लिन सकिन्छ तर अहिले नै जनशक्तिसहितको सहयोग आवश्यक भइसकेको अवस्था होइन,’ स्रोतले भन्यो ।
नेपाल सरकारले भारत र चीनबाट अत्यावश्यक औषधि खरिद गर्ने निर्णय गरेको छ । नेपालले स्वास्थ्य सामग्रीसम्बन्धी सहयोग प्रस्ताव पनि स्वीकार गरिसकेको छ । नेपाल सरकारले स्वास्थ्य सामग्री र उपकरण माग गरेको छ । भारत सरकारबाटजतिसक्दो छिटो स्वास्थ्य उपकरण उपलब्ध गराउने आश्वासन दिएको छ । सरकारले यसअघि नै भारतबाट व्यक्तिगत सुरक्षा सामग्री, एन ९५ मास्क, इन्फ्रारेड थर्मोेमिटर, अक्सिजन प्लान्ट, ३ सय केजीको निर्मलीकरण गर्ने मेसिन, सिआरआरटी मेसिन, थर्मोेमिटर र सर्जिकल मास्कसहितका १६ प्रकारका सामग्री ल्याउने प्रस्ताव गरेका छ ।




