काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि पनि उपत्यकामा चोरी भएका छन् ।
एकसाता अघि कपनको तेन्जिङ चोकमा चन्द्रा तामाङले सञ्चालन गरेको चन्द्रा खाजा घरमा चोरी भयो । दैनिक ज्यालादारी मजदुरलाई खाना खुवाउँदै आएकी चन्द्राले भित्री सडकमा रहेको आफ्नो खाजा पसल लकडाउनको समयमा पनि खुला राखेकी थिइन् । शनिबार राति १० बजे खाजा पसल बन्द गरेर कोठामा गएकी उनले भोलिपल्ट अर्थात् आइतबार बिहान नियमित रूपमा पसल खोल्ने क्रममा चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । खाजाघरकी सञ्चालिका चन्द्राका अनुसार २० हजार रूपैयाँबराबरका रक्सी र पकाएको मासु चोरी भएको छ ।
महानगरीय प्रहरी प्रभाग कपनका अनुसार सो क्षेत्रमा शनिबार राति मात्र तीनवटा छुट्टाछुट्टै पसलमा चोरी भएको छ । मिलनचोकमा रहेको एउटा मस्म पसलमा चोरी गर्ने क्रममा चोरहरूले राति पसल भित्र छेरेर मस्म मात्र पकाएर खाएर हिँडेको पाइएको प्रहरीले जनाएको छ । सो पसलमा रहेका कतिपय महँगा सामानहरू भने चोरी नभएको प्रहरीले जनाएको छ ।
शनिबार राति नै कपन क्षेत्रमै भएको अर्को चोरीको घटना भने पसल फोडेर नगद मात्र लगिएको छ । प्रभागकी प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीका अनुसार कपन मिलन चोकमा रहेको टेलरिङ पसल चोरी गर्ने समूहले पसल भित्र रहेका कतिपय महँगो सामान लगेका छैनन् । चोरहरूले काउन्टर फोडेर चार हजार नगद मात्र चोरी गरेको उनले बताइन् ।
प्रहरीले यी चोरीहरूमा संलग्नहरूको खोजीकार्य भइरहेको जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा चोरीमा लागुऔषध प्रयोगकर्ता र केही दैनिक ज्यालादारी गर्ने मजदुरसमेत संलग्न रहेको अनुमान प्रहरीले गरेको छ । सरकारले घोषणा गरेको लकडाउनसँगै दैनिक ज्यालादारी गर्ने मजदुरलगायतको रोजगारी खोसिएसँगै लुटपाट, चोरी तथा आपराधिक गतिविधि बढ्न सक्ने देखिएको छ । लकडाउनले कतिपय दैनिक ज्यालादारी गरी रोजीरोटी चलाउने मजदुरहरूको जीवनमा असर परेकाले उनीहरूमध्ये केही चोरीमा संलग्न हुने खतरा बढ्ने गरेको छ । लकडाउन लम्बिएको अवस्थामा र दैनिक वस्तुको अभाव हुने अवस्था देखिन सक्ने चोरी र लुटपाट तथा आपराधिक गतिविधि बढ्न सक्नेतर्फ प्रहरी सजग भएर रणनीति तयार पार्नुपर्ने देखिएको छ ।




