काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै दिएका छन् ।
अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने बताएका छन् ।
उनले अमेरिका ‘अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको’ बताएका छन्। केही समय अघिसम्म अमेरिकालाइ काेराेनाले असर गर्दै भनिरहेका ट्रम्पले अब भने हतास हुँदै विभिन्न वक्तव्य दिइरहेका छन् । अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५ सय २४ जना कोरोनाभाइरसले संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगिसकेको छ ।
बीबीसीका अनुसार मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्ना नागरिकलाई भयावह दिन अझै देख्न बाँकी भएको चेतावनी दिँदै उनले भने, ‘म प्रत्येक नागरिकलाई थप कठोर दिनका लागि तयार रहन अपिल गर्दछु । आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ,’ ।
उनले थपे, ‘यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृत्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।’




