ताजा समाचार

सरकारलाई ११ बुँदे सुझाव दिदै सभापति देउवाले भने सरकारले घोषणा गरेको आर्थिक राहत प्याकेज प्रयाप्त छैन

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले घोषणा गरेको आर्थिक राहतको प्याकेज प्रयाप्त नभएको बताएका छन । सरकारलाई ११ वुँदे सुझव दिदै सभापति देउवाले राहत प्याकेज एक हदसम्म सकारात्मक भए पनि प्रयाप्त नभएको बताएका हुन ।

ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र सरकारको दायित्व पुरा नहुने भन्दै सभापति देउवाले सरकारले सबै खाले व्यवसायीको ऋणको व्याज घटाएर प्रतिकुल घडीमा राहतको अनुभूति दिलाउनु पर्ने बताएका छन । २० लाखसम्म ऋण लिएर ब्यवसाय गरिरहेका साना ब्यवसायिको ३ महिनासम्मको ब्याज मिनाहा गर्न उनले सरकारलाई सुझाव दिएका छन ।

देउवाले बेरोजगार एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका बिद्यार्थीलाई राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व भएको पुनःस्मरण गराएका छन । यसै गरी राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारहरुलाई अलग्गै राहत योजनाको निर्माण गर्न सरकारलाई सुझाव दिएका छन । उनले ज्यालादारी श्रमिकलाई राहत यथासिघ्र पुर्याउन फास्ट ट्र्याकको विधि निर्माण र कार्यान्वयन गर्न तीन तहका सरकारलाई अग्रह गरेका छन ।
लकडाउनका कारण नेपालका विभिन्न ठाउँमा फंस्न पुगेका मानिसहरुलाई वैकल्पिक उपाय निर्माण गरि घरसम्म पुग्ने व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानकार्षण गराएका छन । भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहंदा उत्पन्न जटिलताको ब्यवहारिक हल खोज्न देउवाले सरकारलाई सुझाएका छन ।

संयुक्त अरब इमिरेट्स (यूएई)ले रोजगारदाता कम्पनीहरुलाई आफ्ना श्रमिक कटौती गर्न या बेतलबी बिदामा राख्न पाइने गरि हालै प्रक्रिया सुरु गरेकोले नेपाली श्रमिकलाई पर्न सक्ने असर र उत्पन्न गर्ने जटिलताप्रती सरकार सजग हुनु पर्ने उल्लेख गर्दै सभापति देउवाले ध्यानाकर्षण गराएका छन ।

पिपीइ लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री तत्काल सामग्री पुर्याउन उनले आग्रह गरेका छन । स्वास्थकर्र्मीरुको उच्च मानवीय भावना र समर्पणले कोरोना भाइरसलाई परास्त गर्न सकिने भएकाले नेपालभरिका स्वास्थकर्मिहरुप्रति सबै नेपालीको गहिरो भावनात्मक स्नेहको रहेकोेस्मरण गराएका छन ।

सभापति देउवाले देउवाले हालसम्मको कार्यप्रगति र कमजोरीको वस्तुगत समिक्षा गरेर प्रभावकारी रूपमा गति बढाउन सरकारलाई सुझाव समेत दिएका छन ।

सभापति देउवाको ११ वुँदे सुझाव जस्ताको तस्तै

परिस्थितिको समिक्षा गर्दै युद्धस्तरमा अघि बढौं

विश्वब्यापी फैलिएको कोरोना भाइरससंग जुध्न नेपाल सरकारले निर्धारण गरेका रणनीतिहरुलाई सबैले आत्मसात गर्न जरुरी छ l एक पुरानो र अनुभवी दलको नाताले आजको चुनौती सामना गर्न सरकारलाई हरतरहले सघाउन नेपाली कांग्रेस तत्पर रहेको र सघाइरहेको स्मृति सबैलाई गराउन चाहन्छु l यो हामी सबैको साझा संघर्ष हो,अत: `सरकारमा संगै नरहेरपनी यस्तो अभियानमा संगै लड्न सकिन्छ´ भन्ने भावनामा हामी दृढ ढंगले प्रतिबद्ध छौं l
लक डाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन म पार्टीका साथीहरू एवं समस्त नेपाली दिदीबहिनी दाजुभाइमा फेरिपनी अपिल गर्न चाहन्छु l यसै सन्दर्भमा सरकार र समुदायको एक्यवद्ध अभियानलाई अझ ब्यवस्थित र प्रभावकारी बनाउन पछिल्लो समय दिइएका सुझाव सार्वजनिक जानकारीका लागि प्रस्तुत गरेको छु l
१, हालसम्मको आफ्नो कार्य प्रगति र कमजोरीको वस्तुगत समिक्षा गरेर सरकारलाई प्रभावकारी रूपमा गति बढाउन आग्रह गर्दछु l
२, आयात पश्चात् पनि पिपिइ लगायत अत्यावश्यक सामग्री आज चैत १८ मध्याह्नसम्म पनि कयौं ठाउँमा नपुगेको विवरण प्राप्त भएको छ l तत्काल सामग्री पुर्‍याउन अपिल गर्दछु l
३, स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले यो भाइरसलाई परास्त गर्न सकिने हो अत नेपालभरिका स्वास्थकर्मिहरुप्रति हामी सबै नेपालीको गहिरो भावनात्मक स्नेहको साथ रहेकोे स्मरण गराउंदछु l
४, आर्थिक राहतको ब्यवस्थित प्याकेज घोषणा गर्न हामीले अपिल गरि आएका थियौं l आएको प्याकेज एक हदसम्म सकारात्मक भएपनी यो पर्याप्त छैन l ब्याजको किस्ता तिर्ने समयावधि थपेर मात्र पुग्दैन सबै खाले ब्यवसायिको ऋणको ब्याज घटाएर राज्यले प्रतिकुलतामा राहत अनुभुती गराउनु पर्दछ l अझ २० लाखसम्म ऋण लिएर ब्यवसाय गरिरहेका साना ब्यवसायिका हकमा ३ महिनासम्मको ब्याज मिनाहानै गर्न म फेरिपनि सरकारलाई अपिल गर्दछु l
५, रोजगार कार्यक्रमका नाममा अघिल्लो बर्ष अनुत्पादक ढंगले अर्बौं रुपैयाँ ब्यय भएको थियो l लक डाउनको यो समयमा कष्ट भोगिरहेका बेरोजगारहरु एवं अध्ययनका लागि शहरी क्षेत्रमा डेरा बसेका बिद्यार्थीलाई फरक राहतको कार्यक्रम ल्याउनु सरकारको दायित्व रहेकोे फेरिपनी स्मरण गराउंदछु l
६, लक डाउनले ब्यवसायलाई परेको प्रत्यक्ष असरले बिज्ञापनको क्षेत्रलाई सोझै आघात पुर्‍याएको छ l परिणाममा संचार माध्यमहरुलेपनी त्यसको असर ब्यहोर्नुपर्नेछ l अत राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा अलग्गै राहत योजनाको निर्माण गर्न म सरकारलाई आग्रह गर्दछु l
७, ज्यालादारी श्रमिकलाई राहत यथासिघ्र पुर्‍याउने फास्ट ट्र्याकको विधि निर्माण र कार्यान्वयन गर्न म तिनै तहको सरकारलाई अपिल गर्दछु l
८, लक डाउन लम्ब्याउनु पर्ने स्थितिले विभिन्न ठाउँमा फंस्न पुगेका नेपालीलाई निकै कष्ट पुगेको विवरण हामीले प्राप्त गरिरहेका छौं l देशको विभिन्न भागबाट आफ्नो घर जान चाहेका तर लक डाउनका कारण जान नपाइ अफ्ट्यारोमा परेकाहरुका लागि वैकल्पिक उपाय निर्माण गर्न म सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदछु l
९, नेपालमा रहेका आफ्ना नागरिक कयौं देशले चार्टर विमान द्वारा उद्दार गरि स्वदेश लगिरहेका छन् l विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेहरुको हकमा तथा अध्ययन,श्रम र तिर्थ यात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीहरुको उद्दार गर्न सरकारले जरुरी कुटनैतिक पहल गर्न अत्यावश्यक छ l उद्दार पुर्वको अवस्थामा आवश्यक गांसबासको ब्यवस्थापनका लागि दूतावास मार्फत स्थानीय रूपमा पहल गर्नपनि सरकारलाई आग्रह गर्दछु l
१०, भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौंको संख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहंदा उत्पन्न जटिलताको ब्यवहारिक हल खोज्न म सरकारलाई अनुरोध गर्दछु l कडाइका साथ प्रवेश,परिक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउंदछु l
११, संयुक्त अरब इमिरेट्स (यूएई)ले रोजगारदाता कम्पनीहरुलाई आफ्ना श्रमिक कटौती गर्न या बेतलबी बिदामा राख्न पाइने गरि हालै प्रक्रिया सुरु गरेको बिषयमा नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ l यसले नेपाली श्रमिकलाई पर्न सक्ने असर र उत्पन्न गर्ने जटिलताप्रती नेपाल सरकारको सजगताका लागि विशेष ध्यानाकर्षण गराउंदछु l
जय नेपाल !

शेरबहादुर देउवा
सभापति

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *