ताजा समाचार

दशवर्षे सशस्त्र युद्ध केका लागि ? फेरिएनन् मजदुरका दिन

रोल्पा।सर्बहारा वर्गको उत्थान तथा आमूल परिवर्तनका लागि भन्दै दशवर्षे सशस्त्र युद्धको शुभारम्भ रोल्पाबाट भयो । फलस्वरुप कैयौंका सिंदुर पुछिए, कति घरबार बिहिन भए, कति टुहुरा भए भने कति बेपत्ता पारिए, जस्को अवस्था अहिलेसम्म सार्वजनिक हुन सकिरहेको छैन । तर आज सर्बहारामा नाममा राजनीति गर्नेहरु देशको सर्बाेच्च तहसम्म पुगिसेका छन् । जिल्लाका गरीव, निमुखा तथा दीन दुःखीहरुको अवस्थामा अझै सुधार आउन सकिरहेको छैन ।

वर्षभरी दुःख गरेपनि ६ महिना पेटभर खान नपुग्ने हजारौं रोल्पालीहरु अझैं गरीवीको रेखामुनि छन् । एकसरो कपडाले वर्ष गुजार्नुुपर्ने बाध्यतामा बाँचिरहेका गरीवहरु त जिल्लामा कति छन् कति ? यसको लेखाजोखा नै छैन । जसका कारण रोजीरोटीका लागि हजारौं रोल्पालीहरु जिल्ला बाहिर तथा बैदेशिक रोजगारीमा जाने गरेका छन् । काठमाडौं, ललितपुर, धादिङ लगायतका इटाभट्टामा करीब साढे नौ हजारको संख्यामा रोल्पालीहरु श्रम गर्न पुगेका छन् । त्यसैगरी विभिन्न जिल्लाका विभिन्न होटेल तथा कारखानाहरुमा ज्यालादारीमा कामगर्न पुग्नेको संख्या पनि ठूलै छ । स-साना बालबालिकादेखि लिएर बृद्धबृद्धाहरु समेत रोजीरोटीका लागि देशका विभिन्न जिल्लामा बाहिरिने गरेको पाइएको छ ।

केहीदिन अघिदेखि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व त्रसित भइरहेको अवस्थामा नेपाल सरकारले देश लगडाउन गरेपछि रोजगारीका लागि ललितपुर पुगेका कैयौं मजदुरहरु त्यही थुनिए । उनीहरु चाहेरपनि घर फर्कन सक्ने अवस्था रहेन । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय ललितपुरको पहलमा आइतबार जिल्ला फर्काइयो तर अमानवीय तरिकाले । दुइवटा इटा बोक्ने मिनी ट्रिप्परमा खचाखच भेडाबाख्रा हुलेझैं गरी । आरामदायी गाडीमा पनि करिव १२-१३ घण्टा लाग्ने काठमाडौंदेखि रोल्पाको बाटोमा मजदुरहरु रातको समय त्यो पनि खुल्ला ट्रिपरमा भेडाबाख्रा झै कोचिएर रोल्पा आइपुगेपछि उनीहरुलाई देख्ने कैयौंका आँखा रसाए ।

महालक्ष्मी नगरपालिका ललितपुरमा रहेको के.सी. चिम्नी इट्टा उद्योगमा कार्यरत ४९ जना रोल्पाका मजदुरहरु बा.४.ख ७१३२ र बा.५.ख १६२१ नम्बरकोे मिनी ट्रिप्परमा चढेर रोल्पा आइपुगेका हुन् । जसमा त्रिवेणी गाँउपालिका रोल्पाका ७ जना र रोल्पा नगरपालिका रोल्पाका ४२ जना मजदुर रोल्पा आइपुगेका छन् । ट्रिप्परमा मान्छे बोक्न जिल्ला प्रशासन कार्यालय ललितपुरको अनुमति पत्र सहित उनीहरु रोल्पा आइपुगेको भन्दै रोल्पालीहरुले अमानवीय ब्यवहारप्रति दुःख प्रकट गरेका छन् । के का लागि थियो दशवर्षे सशस्त्र युद्ध ? आजसम्म पनि किन फेरिएनन् मजदुरका दिन ? सरकारले जिल्लामै रोजगारी तथा आयमूलक कामको अवसर मिलाएको भए रोल्पाली मजदुरहरुले शास्ती खेप्नुपर्ने थिएन भन्दै सरोकारवालहरुले गुनासो गरेका छन् । मजदुरलाई किन पशुवत तरिकाले हेरियो ? यस्तै यस्तै प्रश्न सुनिन थालेको छ जिल्लामा । “शासन सत्ता फेरियो, तर मजदुरका दिन फेरिएनन्” रोल्पाको लिबाङमा ज्याला मजदुरी गर्दै आएका ५५ वर्षिय खिनौरे बुढाले गुनासो गरे। उनले भने- छोराहरुले मोबाइलमा “४९ जना रोल्पाली मजदुरलाई काठमाण्डौंबाट इटा बोक्ने टिपरमा कोचेर पठाइयो” भन्ने समाचार  फेसबुकमा पढेपछि मन गाँठो पर्यो। गरीवका दिन अझैं आएनन् । भोटमाग्दा सिंहदरबार नै आगनमा ठड्याउलान् जस्तो गर्नेहरु आज आफ्नै धुनमा ब्यस्त छन् । सायद मजदुरका बारेमा बोल्ने फुर्सद छैन उनीहरुलाई ।”

रुन्टिगढी गाउँपालिका रोल्पाका पर्यटन फोकल पर्सन दिपक डीसीले मजदुरहरु ट्रिपरमा कोचिएको तस्वीर सार्वजनिक गरेपछि त्यसतर्फ सबैको ध्यानाकर्षण भएको थियो । यस्तो थियो उनको फेसबुक स्टाटस- “मजदुरहरुपनि मान्छे हुन् भन्ने कुरा कसरी विर्सन सकेको ? यस्तो संकटको बेलामा इट्टा बोक्ने दुइवटा टिप्परमा ४९ जना मजदुरलाई काठमाण्डौंबाट रोल्पा सम्म १४ घण्टाबढी रातभर खादेर बिहान होलेरी पुर्याइएको भेटियो कम्तिमा बसको ब्यवस्था गरिनु पर्थाे । कुनै सावधानी नअपनाइकन यसरी गाउँमा ल्याउदा जोखिम बढिरेहको छ गाउँहरुमा । यस्तो अवस्थामा भट्टा संचालकले मजदुरहरुलाई उतै राखेर रासन पानी र औषधीको ब्यवस्था गर्न सक्थ्यो । यो त अति अमानवीय भयो । कस्ले नियमन गर्ने ?” यस विषयमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले मजदुरहरुप्रति गरिएको अपमान जनक ब्यवहारप्रति सरोकारवालाहरुको ध्यानाकर्ष हुनुपर्ने बताएका छन । अध्यक्ष न्यौपानेले भने “राज्यका महत्वपूर्ण निकायमा रोल्पाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । तरपनि रोल्पाली मजदुरहरुले सही ढंगले घर फर्कने अवस्थाबाट बञ्चित हुनु दुःखद पक्ष हो । दिउसो आवतजावत गर्ने अवस्था नभएपछि राती आए त्यो पनि इटा बोक्ने खुल्ला ट्रिपरमा कति गाह्रो भयो होला” उनले दुःख प्रकट गर्दै यी जस्तै अन्य जिल्लाबाट घर फर्कन चाहने मजदूरलाई राज्यले सहज वातावरणको ब्यवस्था मिलाउनु पर्ने सुझाव दिएका छन ।

तस्बीर : दीपक डीसीको फेसबुकबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *