ताजा समाचार

कोभिड -१९ विरुद्ध सरकारले थालेका विभिन्न अभियानमा साथ दिन रोल्पा कांग्रेसकाे अपील

रोल्पा।कोभिड -१९ विरुद्ध सरकारले थालेका विभिन्न अभियानमा साथ दिन आम नेपाली नागरिकमा नेपाली कांग्रेस रोल्पाले अपील गरेको छ । नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनद्वारा हस्ताक्षरीत विज्ञप्ती मार्फत कोभिड -१९ले विश्व त्रसित भइरहेको बेला हरेक नेपाली आफू बच्न र अरुलाई बचाउनका लागि अपील गरिएकाे छ। यसै वीच पुनले सरकारले थालेका सकारात्मक कुरामा जनताको साथ अपरिहार्य हुने बताउदै देशको अवस्थालाई मध्यनजर गर्दै विज्ञप्तीमार्फत सबैलाई सचेत रहन आग्रह गरेका छन ।

विज्ञप्तीको पूर्ण स्वरुप जस्ताको तस्तै

प्रेस विज्ञप्ती विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्व त्रसित भइरहेको छ । यस्तो अवस्थामा आफू बच्न र अरुलाई बचाउनका लागि नेपाल सरकारले थालेका विभिन्न अभियानलाई सहयोग गर्नुहुन आम नेपाली नागरिकहरुमा नेपाली काँग्रेस रोल्पा हार्दिक अपिल गर्दछ । यसका लागि घरभित्रै बस्ने,सरसफाइका क्रियाकलापहरुमा विशेष ध्यान पुर्याउने, विशेष काम बाहेक अन्य कुनैपनि बेलामा घरबाहिर हिँडडुल नगर्ने, बिभिन्न व्यक्तिहरुसंग अनावश्यक भेटघाट नगर्र्ने, उपलव्ध भएसम्म भिटामिन सी भएको खानेकुराहरु, पौष्टिक आहार र झोलिलो खानेकुराहरु खाने, अत्यावश्क कामका लागि बाहिर निस्कनु परेमा मास्क र स्यानिटाइजरहरुको प्रयोग गर्ने, भारत वा अन्य कुनै तेश्रो मुलुकबाट आएका मानिसहरुसँग टाढा बस्ने साथै समाजमा अन्धविस्वासका अफवाहहरु फैलिएका छन् त्यसका पछि नलाग्न समेत अनुरोध गरिन्छ ।

यसैगरी बाहिरबाट नेपाल आएका मानिसहरुले स्वास्थ्य संस्थामा चेकचाँच गराउने, क्वारेन्टाइनमा बस्ने, सरकारले लकडाउनका लागि तोकेको समयसम्म आफन्तहरुसंग समेत भेटघाट गर्ने कार्य नगर्नुहुन अनुरोध छ । विज्ञानले अहिलेसम्म कुनै औषधी पत्ता लाउन नसकेका कारण विश्वका सबै विकसित र शक्ति राष्ट्रहरु पनि आक्रान्त भइरहेको यस विषम परिस्थितिमा नेपालमा समेत केही व्यक्तिहरुमा यो रोगको लक्षण देखिएकोले हामी सबै सतर्क रहन जरुरी छ । यसको उपयुक्त उपाय नै लकडाउन भएकोले यसलाई पालना गर्नु नै श्रेयस्कर देखिन्छ ।

छिमेकी मुलुक भारत र अन्य तेस्रो मुलुकहरुबाट विशेष गरी गाउँगाउँमा अत्यधिक मानिसहरु आएका छन् । उनीहरुको स्वास्थ्य जाँच प्रभावकारी रुपमा हुन सकेको छैन । त्यसैले स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन जरुरी छ । मानव स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा भएकोले यस वर्षको विकास बजेटलाई कटौती गरेर भएपनि ७७ वटै जिल्लामा यथाशीघ्र स्वास्थ्य परीक्षण ल्याव स्थापना गर्न, कोरोना भाइरसको विरुद्धमा कार्यरत डाक्टर र अन्य स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रमा खटिएका एम्बुलेन्स चालक, सुरक्षाकर्मी लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई पनि सुरक्षाका लागि चाहिने आवश्यक सामग्रीहरु उपलव्ध गराउनुका साथै उनीहरुलाई अतिरिक्त कामका लागि प्रोत्साहन स्वरुप मौद्रिक र गैर मौद्रिक सुविधाहरु उपलव्ध गराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्न तीनै तहको सरकारले इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न यथाशिघ्र यसतर्फ ध्यान जाओस भन्ने नेपाली काँग्रेस रोल्पा हार्दिक अपिल गर्दछ ।

भाइरसको बिस्तार अप्रत्यासित रुपमा विश्वभर दु्रतगतिमा फैलिएको कारण बिना कुनै पूर्व तयारी गरिएको लकडाउनले आम जनमानसमा प्रभाव त परेकै छ त्यसमा पनि दिनभर काम गरेर मात्र विहान साँझको गाँसको जोहो गर्ने गरीव र मजदुर बर्गमा भोकमरीको समस्या देखिएको, बिभिन्न उद्योग धन्दा, कलकारखाना र इट्टाभट्टामा काम गर्ने मजदुरहरुले काम गर्न पनि नपाएको र घरमा जानुपर्ने अवस्था पनि नभएकोले उनीहरुलाई यथाशिघ्र राहत प्याकेज उपलव्ध गराउन अनुरोध छ । लकडाउनको कारण काठमाडौंका ११, भक्तपुरका ७५, ललितपुरका ३४ र धादिङका ३१ इटाभट्टामा करीब साढे नौ हजारको संख्यामा र बिभिन्न ज्यालादारी काममा रोजगारीका लागि कास्की, रसुवा, स्याङ्जा लगायत बिभिन्न जिल्लामा हजारौंको संख्यामा रोल्पालीहरु रहेको तथ्यांक प्राप्त भएकोले उनीहरुलाई कि क्वारेन्टाइनमै स्वास्थ्यकर्मीको निगरानीमा काम गर्न वातावरण तयार गर्न वा उनीहरुले काम गरिरहेको स्थानमा नै भोक टार्ने वातावरणका लागि राहत पुर्याइदिन सरकारसंग अनुरोध गरिन्छ ।

मानव जीवनको नै अस्तित्व रहने वा नरहने भन्ने यस्तो भयानक महामारीमा पनि राहतको नाममा चीनबाट अत्यावश्यक वस्तुहरु आयात गर्दा अर्वाैंको रकममा करोडौं रुपैया सरकारमा बसेका जिम्मेवार व्यक्तिहरुबाट घोटाला भएको भन्ने समाचार आइरहेको छ यसको सत्यतथ्य छानबिन गरी वास्तविक भए दोषीलाई हदैसम्मको कारबाही गर्नपनि नेपाली काँग्रेस रोल्पा सरकारसंग माग गर्दछ ।

अन्तमा जीवन रहे बाँकी कुराहरु पछि हुँदै जाने हुँदा अहिलेको महामारीबाट बच्नका लागि आफू सुरक्षित हुनु बाहेक यसको विकल्प नभएकोले कोरोनाग्रस्त चीन, अमेरिका र इटली लगायतका देशहरुबाट पाठ सिक्दै आफू बच्न र अरुलाई बचाउन पुनः सबैमा हार्दिक अनुरोध गर्दछौं । जय नेपाल ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *