काठमाडौं । प्रधानमन्त्री केपी ओली अस्पतालबाट फर्केपछि निवासमै आराम गरेर बसेका छन् । अस्पतालबाट डिस्चार्ज भएपछि उनले परिवारका सदस्य र सचिवालयका सीमित सदस्य बाहेक अन्यलाई भेटघाट गरेका छैनन । शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएपछि उनले सरकारी कामको बारेमा सल्लाहकारमार्फत केही जानकारी लिएका छन् ।
व्यक्तिगत भेटघाटलाई समेत बन्द गरेका छन् ।
मिर्गौला प्रत्यारोपणपछि निवासमा आराम गरिहेका प्रधानमन्त्री ओलीलाई विहिबार राती मुटुको धड्कन बढेपछि अस्पताल लगिएको थियो । अस्पतालबाट उनलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको छ । तीन दिनअघि सामाजिक सन्जाल ट्वीटर अकाउन्ट मार्फत आफू घरमै बसरेर सरकार सञ्चालन गरिरहेको र सर्वसाधारणलाई पनि घरमै बस्न आग्रह गरेका ओलीको अचानक मुटुको धड्कन बढेको थियो । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएदेखिनै सरकारको काम कारवाही अप्रत्यक्ष रुपमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले सम्हालिरहेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरस नियन्त्रणका लागि बनेको उच्चस्तरीय समितिको संयोजक समेत रहेका पोखरेलले नै आवश्यकता अनुसार सरकारको काम कारवाहीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने गरेका छन् । हाल उच्चस्तरीय समितिकै निर्णय र निर्दैशन अनुसार कोरोना संक्रमण नियन्त्रणका लागि सरकारी प्रयासहरु भैरहेका छन् । विरामी भएदेखि प्रधानमन्त्री आफैं सक्रिय भएर बैठक र छलफल गरेका छैनन । मिर्गौला प्रत्यारोपण भई डिस्चार्ज भएर आएपछि पार्टी सचिवालयको एउटा बैठक र मन्त्रिपरिषदको एउटा बैठक वालुवाटार निवासमै बस्यो । त्यो बैठकले महत्वपूर्ण निर्णय गरेर अन्य परामर्श भने सरकारका उपप्रधानमन्त्री, गृहमन्त्री, र मूख्यसचिव तथा र सल्लाहकार मार्फत लिइरहेका छन् । कोरोनाको संक्रमण फैलनसक्ने संभावना भएपछि मुलुक लकडाउन गर्नुपर्ने अवस्थामा पुग्यो । त्यसभन्दा अघि प्रधानमन्त्री ओली सार्क राष्ट्रका प्रमुखहरु सहभागी भएको भिडियो कन्फ्रेन्समा सहभागी भए । त्यसपछि मुलुकका नाममा सम्बोधन गरेका थिए ।
स्वास्थ्य अवस्थालाई ध्यान दिएर प्रधानमन्त्री ओलीले समयसमयमा सरकारका कामकारवाहीबारे जानकारी लिइरहेका पनि वालुवाटार निकट स्रोतले जानकारी दिएका छन् । मुलुक लकडाउन भएपछि राजनीतिक नेताहरुसँग भेटघाट पनि गरेका थिएनन । पार्टीका शीर्ष नेताहरुसँग टेलिफोनमा बाहेक खासै कुराकानी नगरेका ओली विहिबार राती अस्पताल भर्ना भएपछि भने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल अस्पतालमै भेट्न पुगेका थिए । त्यहाँ उनीहरुसँग स्वास्थ्य अवस्था र राजनीतिक र कोरोना संक्रमणबारे छलफल भएको थियो । ओली दाहाल र ओली नेपालबीच अस्पतालमा करिब आधा-आधा घण्टाको समय कुराकानी भएको थियो । शुक्रबार साँझ ओली डिस्चार्ज भएपछि पार्टी सदस्यका लागि दुवै नेताको हस्ताक्षरमा जनवर्गीय संगठनका हरेक नेता–कार्यकर्तालाई कोरोनाको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकका रूपमा परिचालित हुन निर्देशन दिएका थिए ।
पार्टीका तर्फबाट शुक्रबार विशेष परिपत्र जारी गर्दै ओली र दाहालले त्यस्तो निर्देशन दिए थिए । यसअघि पार्टीका सबै कार्यक्रम स्थगित गरेर सरकारले तय गरेका कार्यक्रमलाई सहयोग गर्न कार्यकर्तालाई निर्दैशन दिइएको थियो । विदेशबाट आएका नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न र बसाउन सरकारी निकाय स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सहयोग गर्नु भन्दै शुक्रबार जारी गरिएको विशेष निर्दैशनमा उल्लेख गरिएको छ ।




