काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले स्वास्थकर्मीहरूका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारीपन भएको आरोप लगाएका छन। महामन्त्री कोइरालाले पाँच बुँदै विज्ञप्ती जारी गर्दै यथासिघ्र देशब्यापी रूपमा पीपिइ र्पुयाएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारको व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन ।
कोरोना संक्रमण देखिएका व्यक्तिका परिवारका,छरछिमेकी एवं उनीहरु घुलमिल भएका साथी समुहको परिक्षण गर्न सरकारले तदारुकता नदेखाउनु दुखद पक्ष भएको विज्ञप्तीमा उल्लेख गरेका छन । तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेका छन ।
टेकु स्थित राष्ट्रिय प्रयोगशालाले मात्र परिक्षणको चाप धान्न नसक्ने भएकाले ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न सरकारलाई कोइरालाले विशेष अनुरोध गरेका छन् ।
लकडाउनको समयमा संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानीपूर्वक परिक्षण केन्द्रमा र्पुयाउने ब्यवस्था गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन ।
डा.कोइरालाले नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गरेका छन् ।
यस्ताे छ डा.काेइरालाद्वारी जारी विज्ञप्ती
सरकार र स्वास्थकर्मिका नाममा चिकित्सक समेतका नाताले अपील
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरससंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली कांग्रेसले निरन्तर साथ दिंदै आएको छ l लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रती एक्यवद्धता जनाइरहेका छन् l परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ l
चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापन समेत गरेको नाताले आजको स्थितीलाई मैले निकैदिन देखि नजिकबाट नियालिरहेको छु l अत नेपाल सरकार र नेपालभरिका स्वास्थकर्मीहरुका नाममा यो अपील सार्वजनिक गरेको छु l
१, कुनैपनी स्वास्थकर्मी निस्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न l उनीहरुमा रहेको त्यही मानवीय भावना,समर्पण र साहसनै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो l अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु l
२, स्वास्थकर्मिहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो l यथासिघ्र देशब्यापी रूपमा पीपिइ पुर्याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मिको मनोबल उच्च बनाउन म सरकारसंग अनुरोध गर्दछु l
३, विश्व स्वास्थ संगठनले बढी भन्दा बढी परिक्षणका लागि अपील गरेको छ l हामी केवल टेकु स्थित रास्ट्रीय प्रयोगशालामा परिक्षण गरेर परिक्षणको चाप धान्न सक्दैनौं l केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ ,तर ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु l
४, हालसम्म पांच जनामा कोरोना संक्रमण देखिएको छ l तर उनीहरु यसविचमा घुलमिल भएको परिवारका सदस्य,छरछिमेकी एवं ब्यक्तिगत साथी समुहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दु:खद छ l तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु l
५, लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु l त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ l
अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको रास्ट्रीय कर्तव्य रहेको अपीलपनि म नेपाली कांग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा गर्न चाहन्छु l
जय नेपाल
शसांक कोइराला
महामन्त्री




