ताजा समाचार

१८ हजार सशस्त्र प्रहरी फिल्डमा, उच्च मनोवलकासाथ काम गर्न निर्देशन

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सक्रिय रहन निर्दैशन दिएको छ । द्विविधारहित ढंगले परिचालित भई स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपदमा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

सरकारले लागू गरेको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानीय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न निर्दैशन दिएका हुन । सशस्त्र प्रहरी बल मूख्यालयले जनाए अनुसार अहिले १८ हजार ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरिएका छन् । सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको जनाएको छ ।

सशस्त्र प्रहरी मूख्यालयका अनुसार शुक्रबार मोरङ जिल्लाको जोगवनी नाकाबाट १३ जनालाई स्थानीय निक्लाजुङ गाउँपालिका स्थित क्वारेन्टाईनमा पठाईएको, रुपन्देहीको सुनौली बेलहीया नाकाबाट ११ जना तथा बैतडीको झुलाघाटबाट १८६ जना र दार्चुलाको पुलघाटबाट २२५ जनालाई स्थानीय क्वारेन्टाईन तथा सम्बन्धित जिल्लाहरुमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहने गरी पठाईएको पनि जनाएको छ । स्थानीय प्रहरीसँग सहकार्य गर्दै एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्क लगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती,‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटिहरुमा परिचालित रहेको छ । देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको जनाएको छ । विभिन्न ५०३ सीमा नाकामा २ हजार ५ सय ४५ जना सशस्त्र प्रहरी कर्मचारी सुरक्षार्थ तैनाथ गर्नुकासाथै ७० ‘ईमिडियट रेस्पोन्स टिम’मा ६४१ जना सशस्त्र प्रहरी कर्मचारी खटिएको छ । सशस्त्र प्रहरी बलले ३८ स्थानमा रहेको ‘क्वीक रियक्सन टिम’मा ६१७ जना परिचालित गरेको छ । विभिन्न ठाउँमा ३७४ चेक प्वइन्टमा २ हजार १७ जना परिचालित गरेको सशस्त्र प्रहरी बलले ३२६ वटा मोवाईल गस्तीमा २ हजार ३ सय २१ जना तथा ४९१ पैदल गस्तीमा ३ हजार ६ सय ७१ जना परिचालित गरेको जनाएको छ । सशस्त्र प्रहरी बलले दैनिक रुपमा १८ हजार भन्दा बढि जनशक्ति विभिन्न ड्र्यूटिमा परिचालन गरिरहेको छ । ‘लक डाउन’को बेला गर्नुपर्ने विभिन्न कार्यहरुमा एपीएफ टोलीले स्थानीय प्रशासन एवं अन्य सुरक्षा निकायसँग नियमीत रुपमा समन्वय गरी जिम्मेवारी निर्वाह गरिरहेको छ ।

सशस्त्र प्रहरी बलले कोरोना भाईरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुकासाथै उनीहरुमार्फत उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको छ । हरेक व्यारेकमा थर्मलगनबाट तापक्रम नाप्ने, सेनीटाईजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाईनमा राख्नका लागि सशस्त्र प्रहरी बलको हरेक व्यारेकमा त्यस सम्बन्धि व्यवस्था मिलाईएको पनि जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *