काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोनो भाइरसविरुद्धको अभियानमा उर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले शुक्रबार सरकारलाई बुझाएको १७ बुँदे सुझाव उपयोगी भएको उपप्रधानमन्त्री पोखरेलले बताए ।
सरकारद्वारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले शनिबार सुझाव कार्यान्वयन गर्ने जानकारी गराएको कांग्रेस प्रमुख सचेतक खाणले बताए । उनले भने, ‘उहाँले उक्त ज्ञापन पत्रबारे सरकार गम्भीर रहेको र कांग्रेसबाट प्राप्त सुझावहरु उपयोगी र सान्दर्भिकसमेत रहेको बताउनुभयो । साथै कांग्रेसको साथ एवं सहयोगले सरकारलाई थप उर्जाका साथै आत्माबल दिएको बताउनुभयो ।’ उपप्रधानमन्त्री पोखरेलले शनिबार दिउँसो प्रमुख सचेतक खाणलाई टेलिफोनमार्फत सुझावका लागि धन्यवाद दिएको कांग्रेस संसदीय दलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रमुख सचेतक खाणका अनुसार उपप्रधान पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पि।पि।ई ९पर्सनल प्रोटेक्सन इक्युपमेन्ट० लगायतका आवश्यक सामग्री आइतबारसम्म नेपाल आइपुग्ने जानकारी गराएका थिए । ‘उक्त स्वास्थ्य उपकरणहरु र सामग्रीहरु सातै प्रदेशहरुमा यथाशीघ्र वितरण गर्छौ भनेर भन्नुभयो,’ उनले भने ।
प्रमुख सचेतक खाणले कांग्रेसकातर्फबाट शुक्रबार उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा सरकारलाई कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन र जोखिम नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सुझाव दिइएको थियो । सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री समयमै उपलब्ध नगराएर अकर्मण्यता देखाएको कांग्रेसको आरोप छ ।




