ताजा समाचार

संकटमा समेत भ्रष्टहरुको गिद्देदृष्टि

संसारलाई हायलकायल बनाउने सामथ्र्य राख्ने कोरोना भाइरसको प्रभाव विश्वव्यापी भएसंगै यो समस्या मानव जातीको साझा समस्याको रुपमा देखिएको छ । कुनै निश्चित भूगोल र वर्गमा मात्र सीमित नभएको डरलाग्दो संक्रमणले सबैलाई एकपटक सबैलाई ठण्डा दिमागले सोच्न बाध्य बनाएको छ । किन र के कारणले यस्ता महामारीहरु उत्पन्न भएका छन र त्यसको उत्पति,विकास र संक्रमणलाई रोक्न मानवजातिले के कस्ता साझा उपायहरु अवलम्वन गर्नु आवस्यक छ ? मानवजातिकै कमिकमजोरी,दम्भ, अहंकार एवं लापरवाहीका कारण यस्ता नयाँ र चुनौतिपूर्ण रोगहरु समाजमा देखिएका हुन भन्ने साझा निश्कर्ष निकाली प्रकृतिमैत्री बानी व्यवहार,चालचलन,रहनसहन तथा खानपानको प्रवन्ध गर्न तयार हुनुपर्ने चुनौति मानव सभ्यताका सामु खडा भएको छ ।

विश्वको शक्तिशाली राष्ट्र मध्येको एक चीनबाट उत्पति भएको कोरोना भाइरसले तुलनात्मक रुपमा शक्तिशाली र सम्पन्न राष्ट्रहरुलाई बढी गाजेको देखिन्छ । यसको विशेषता एवं लक्षित वर्ग र सम्पन्नता होइन होला तर यसले दिएको सन्देश चाही के हो भने शक्तिको होडवाजी र उन्मादमा अग्रसर रहेका राष्ट्रहरुलाई गम्भीरतापूर्वक आफ्ना तमाम गतिविधि एवं प्रस्तुतिहरुलाई लिनुपर्छ र त्यसको निर्ममं समिक्ष गरी आगामी रणनीतिहरु निश्चित गरिनु पर्छ । सानो कमजोरी,त्रुटि र खिसिट्युरी नगरी मानव कल्याणका विषयहरुमा संवेदनशील बन्नु पर्छ । यसले मात्र सम्यता, संस्कृति र सम्पन्नताको परिचय दिनसक्छ । अन्यथा अपत्यारीलो कालले कुनैे समयमा सबैको दम्भ र अहंकारलाई धुलिसात बनाउछ भन्ने मार्मिक र गहन उपदेश पनि दिएको छ,कोरोना भाइरसले विश्व मानवजगतलाई र समुदायलाई । अमेरीका,इटाली, फ्रान्स, बेलायतजस्ता शक्तिशाली, सम्पन्न र चतनाको स्तर धेरै माथि उठेका देशहरुले पनि यो संभावित महामारीलाई रोक्न त परैजाओस नियन्त्रण समेत गर्न सकेका छैनन ।आत्मानुशासनको टड्कारो अभाव,उलंघन र आवस्यकता त्यो उन्नत भनिएको समाजमा देखियो । सभ्य समाजको परिचय बनाएको पश्चिमा जगतले कोरोना प्रकरणमा व्यक्त गरेको धारणा र लिएको रणनीति उसका लागि प्रत्युदपादक सावित भएको छ । एक पटक होइन धेरै पटक सोच्न र पुर्नविचार गर्न बाध्य बनाएको छ, त्यो भन्दा धेरै ठूलो मुल्य पश्चिमा राष्ट्रहरुले चुुकाउनु परेको छ । यसको हिसाव किताव इतिहासले राख्ने नै छ, वर्तमानले पनि यसरी मूल्यांकन गरी परिस्थितिको विश्लेषण गरेको छ ।

हेलचेक्रायाई र लापरवाहीका कारण कोरोना भाइरसको संक्रमण व्यापक भएकोमा विवाद नै छैन । यसका लागि चीन जति जिम्मेवार छ, त्यतिनै अमेरीका लगायतका देशहरु छन् । सुरुमा यसलाई चीनको मात्र समस्याका रुपमा हेर्नु र सामान्य स्वास्थ्य समस्या हो भनेर बुझ्नु बाँकी विश्वको ठूलो कमजोरी हो । संक्रमणको संख्या उल्लेख्य भइरहेको अवस्थामा साधन, श्रोत र जनशक्तिले सुसज्जित राष्ट्रहरुले समेत उपयुक्र्त प्रवन्ध समयमा नै गर्न नसक्नु असक्षमता नै हो । संकटको पूर्वजानकारी नहुँनु र तदअनुकुलको तयारी गर्न नसक्नु पश्चिमा देशहरुको आफ्ना नागरिकप्रतिको बेहमानी नै हो । बाह्य तथा आन्तरिक आवगमनलाई नियन्त्रण,व्यवस्थापन र परिक्षण गरिएको भए यति ठूलो भयानक स्थिति आउने थिएन । त्यसले अरु बढी गम्भीर बन्न र आफ्नो कमजोरी, हेलचेक्रायाइ र लापरवाही स्वीकार गर्न पश्चिमा राष्ट्रहरुलाई दवावमा पारेको छ । शक्तिको उन्मादमा उनीहरुले स्वीकार गरुन वा नगरुन तर घटनाले दिएको महत्वपूर्ण पाठ यही नै हो । युरोप र अमेरीका बढी आक्रान्त भएको समाचारले संसारलाई सचेत पनि बनाएको हुनु पर्छ । सम्पन्नताले मात्र पूर्णता प्राप्त गर्दे रहेनछ,त्यसैले अत्यावस्यक संयमता,शालीनत र गम्भीरता पनि अतिआवस्यक तत्वहरु रहेछन, जसको अभावमा शंकट यसरी निम्तिदो रहेछ भन्ने देखाएको छ,प्रष्ट भएको छ । संसारको मानवजाति यतिबेला बन्धक भएको छ । एउटा सानो जीवाणुको त्राशले घरभित्र सीमित भएको मानव समुदायको सामुहिक धारणा होला ? डर,त्रास,भय र आतंक मात्र छ कि विश्वसमुदायलाई अनुकुल नेतृत्वको विचार,धारणा र दृष्टिकोण पनि वनिरहेको छ ? आ आफ्नो सीमित स्वार्थहरुको कारण भूगोलमा विभाजित भएका र विभिन्न नामहरुबाट चिनिएका देशहरुमा बसोवास गर्ने मानवजाति एउटै हो र समस्या, चुनौति र चाहना पनि समान हुन भन्ने भावना विकास हुँदै छ ? संकिर्णताले स्थान बनाउदै छ वा व्यापकता, विराटताले आकार लिदै छ ? संभवत यस्तो बहस,छलफल र चिन्तनको आवस्यकतातर्फ मानव समुदायलाई उन्मुख गराउन कोरोना भाइरसले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन सक्छ ।

जहाँसम्म नेपालको सन्दर्भ छ, यहाँको अस्तव्यस्त राजनीति, प्रशासन र व्यवस्थाले समयमै सचेतता अपनाएको भए सामान्य समस्या पनि नदेखिने रहेछ । अन्तर्राष्ट्रिय उडानहरुलाई स्थगित गरी सीमा नाकाहरुलाई व्यवस्थित गरिएको भएमात्र पनि संक्रमणको संभावना रहेनछ । जेजस्तो संक्रमण देखिएको छ,त्यसमा अन्तर्राष्ट्रिय उडानबाट आएका मानिसमा देखिएको छ । रोग बोकेर नेपाल आउनेहरुको समयमा नै पहिचान भएको छ । यस सम्वन्धी परिक्षणको प्रभावकारी प्रवन्ध गरिएको भए समस्या यहाँसम्म आउने थिएन । यो नेपाल सरकारको ठूलो लापरवाही र कमजोरी हो । त्यति काम गर्न सक्ने साधन श्रोत नेपालसंग उपलब्ध पनि थियो । तर,समयमा गर्न नचाहाने, पस्चताप गर्ने वा संकटको समयमा भ्रष्टाचार,कालावजारी लगायतका अनियमितता गर्ने रोगबाट ग्रसित राख्ने संयन्त्रले समयमा सोचेन । धमिलो पानीमा माछा मार्ने गिद्धे दृष्टि भएकाहरुले दूरदृटि राख्ने अपेक्षा राख्नु संभवत मूर्खता होला ।

विना तयारी गरिएको लकडाउनले सर्वसाधारण मानिस अझ बढि प्रताडित छन । दैनिक उपभोगका सामानहरु, अत्यावस्यक उपकरणको प्रवन्ध नहुँदा समस्या विकराल छ । अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु चाहिन्छ भन्ने चेतना नभएको सरकार पनि हुन्छ ? तर हाम्रो सरकार त्यस्तै भयो । अर्को हप्ता सामान आउछ भनी नाङ्गो शरिर र हात लिएर संक्रमित विरामीको उपचार गर्न स्वास्थ्यकर्मीहरु बाध्य छन,विवश छन। यस्तो राज्यव्यवस्थाको नेतृत्व गरेका प्रधानमन्त्री आफै विरामी छन र भन्छन कि सुखी नेपाली र संवृद्ध नेपाल बनाउँछु । बन्छ कसरी ? यही नै चालामाला हो भने सरकारकाको बैधानिकता माथि नै प्रश्न उठ्छ । आफ्ना नागरिकप्रति जवाफदेही,उत्तरदायी र इमान्दार नहुँने सरकार मान्य हुँदैन । त्यस्तो स्थितिप्रति बेखर,गैरजिम्मेवार सरकारको आदेश वा निर्णय अमान्य छ भने अराजक स्थिति उत्पन्न हुन सक्छ । तर समयले संयमता अपनाउन आग्रह गरेको छ । भ्रष्ट र बेहमानहरुलाई विस्तारै तह लगाउन पनि नागरिक जागरण र संयमता आदिको आवस्यकता हो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *