एजेन्सी । विश्वभरी त्रास फैलाएको कोरोनाको असर युरोपियन मुलुकमा झन् डरलाग्दो गरी देखिएको छ । कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट इटाली र स्पेनमा एकैदिन १ हजारभन्दा बढीको मृत्यु भएको छ । चौबिस घण्टाभित्र ती दुई देशमा १ हजार ३६ जनाको मृत्यु भएको हो । सोमबार सार्वजनिक रिपोर्टअनुसार इटालीमा एकैदिन ६ सय १ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ३५ जनाको मृत्यु भएको छ ।
इटालीमा मर्नेको संख्या धेरै भएपनि घट्दो क्रममा छ । शनिबार ७९३ जनाको मृत्यु भएको इटालीमा सोमबार भने ६०१ जनाको मात्र मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ६ हजार ७७ पुगेको छ । त्यसै गरी
इटालीमा सोमबार ४ हजार ७ सय ८९ जना नयाँ कोरोना संक्रमितहरु देखापरेका छन् । योसहित इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरको संख्या ६३ हजार ९ सय २७ पुगेको छ।
त्यस्तै स्पेनमा एकैदिन ४ हजार ३ सय २१ जना नयाँ कोरोना संक्रमित बिरामीहरु भेटिएका छन् । योसहित स्पेनमा कोरोनाबाट संक्रमितहरुको संख्या ३३ हजार ८९ पुगेको छ भने मृत्यु हुनेका संख्या २ हजार २ सय ७ पुगेको छ ।
त्यस्तै सोमबारै फ्रान्समा १ सय ८६ जनाको मृत्यु भएको छ भने संक्रमितहरुको संख्या १६ हजार ६ सय ८९ पुगेको छ ।
त्यस्तै इरानमा एकैदिन १२७ जनाको मृत्यु भएको छ । यीसहित विश्वभर २४ घण्टाभित्रै मृत्यु हुनेको संख्या १६६९ पुगेको छ । अहिलेसम्म विश्वमा कोरोनाका कारण मर्नेको संख्या १६ हजार ३ सय ७ पुगेको छ भने संक्रमितहरुको बिरामीको संख्या ३ लाख ६८ हजार ९ सय ३६ पुगेको छ ।




