काठमाडौं।लुटपाट गर्नका लागि काठमाडौंबाट मकवानपुर पुगेको प्रहरीकै समूहलाई इलाका प्रहरी कार्यालय पालुङ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन बस्याल, प्रहरी जवानद्वय हेमकान्त मगर र वीरबहादुर बस्नेत तथा आफूलाई सुजन आचार्य भन्ने अर्का एकजना मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् । पूर्व तयारीका साथ काठमाडौंबाट लुटपाट गर्ने उद्देश्यले उनीहरु मकवानपुर पुगेको मकवानपुर प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयको सिआरभी टोलीमा संलग्न उनीहरु लुटपाटको उद्देश्यले नै काठमाडौंबाट मकवानपुरको कैलाश गाउँपालिका पुगेका थिए । कैलाश गाउँपालिकाका एक व्यक्तिसँग हिरा किन्ने भन्दै उनीहरु काठमाडौंबाट मकवानपुर पुगेका थिए । तर कैलाश गाउँपालिकामा उनीहरुले हिरा लिई आफूहरु प्रहरी भएको र हल्ला गरे फसाइदिने भन्दै हिरा लिएर भागेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङका इञ्जार्च प्रहरी निरीक्षक विकास तामाङ नेतृत्वको टोलीले उनीहरुलाई पालुङबाट पक्राउ गरेको हो ।




