ताजा समाचार

नेपालीको भरोसा केवल ‘पशुपतिनाथ’संग !

चीनको बुहान शहरबाट उत्पति,विकास र विस्तार हुँदै विश्वव्यापी महामारीको रुपमा संक्रमित भएको कोरोना भाइरसले आम जनजीवनलाई अस्तव्यस्त बनाएको छ । शक्तिको उन्माद चढेका शासकदेखि शक्ति प्रदर्शन गर्ने तयारीमा जुटेका सबैलाई यो भाइरसले तह लगाएको छ । मानव निर्मित मिसायलभन्दा शक्तिशाली देखिएको यो भाइरसले विश्व रंगमञ्चमा फरक धारणा र दृष्टिकोण बनाउन ठूला,साना,धनी गरिव सबै राष्ट्रलाई बाध्य बनाएको छ । प्रकृतिको अत्याधिक दोहनदेखि विभिन्न प्रकारका ग्यास उत्सर्जनजस्ता कार्यहरुले हावापनी र तापक्रममा ल्याएको फेरवदल तथा खानपीनका लागि योग्य ठहर्‍याएका खाद्य पदार्थ तथा मासुजन्य पदार्थको प्रयोगले निम्त्याएको पटक–पटकको महामारीबाट विश्व समुदायले पाठ सिक्न नसकेको कारण एकपछि अर्को कहाली लाग्दो भयावह उत्पतिहुने क्रम निरन्तर बढ्दै गएको छ । कोरोना भाइरस कुनै खास भूगोलमा मात्र सीमित नभई विश्वव्यापी समस्याको रुपमा देखा पर्नु र यसको खास उपचारका लागि खास वैज्ञानिक औसधी उपलब्ध नहुँनु अर्को कहालि लाग्दो अवस्था हो ।
प्रविधिको विकास र विस्तारमा जुटेको शक्तिशाली मुलुकले गर्ने अध्ययन र अनुसन्धान यस प्रकारका संभावित महामारीतर्फ केन्द्रित भएको नपाउनु दुःखद विषय हो । मिसायल र क्षेप्यास्त्र बनाउने होडबाजीमा लागेका देशहरुले आफ््नो शक्ति,सामर्थ्य, क्षमता,जनशक्ति र ठूलो धनराशी यस प्रकाका रोगहरुको कारण र त्यसको निराकरणका उपायहरुमा लगाएको भए विश्वमा यत्रो मानवीय क्षती हुने थिएन होला । क्षमता नभएका देशहरुले क्षमता भएका देशहरुलाई गरेको महत्वपूर्ण योगदानका कारण हामी सुरक्षित र स्वस्थ्य हुन सक्यौ भन्ने महशुस गर्थे होलान । मानवीयताको नयाँ भावना र तरंग विश्वव्यापी हुन्थ्यो होला । तर यसतर्फ विश्वका शक्ति सम्पन्न राष्ट्रहरुको ध्यान गएको देखिएन । अनुशासित जीवनशैलीको अभावका कारण यसखालका समस्याहरु यो वा त्यो नाममा विश्वव्यापी भएको देखिन्छ ।

खानपीनमा आएका चीजवस्तु तथा जनवारहरुबाट यस प्रकारको संक्रमण भएको निश्कर्ष आउदाँ यसबाट जोगिन अवलम्वन गर्नु पर्ने जीवनशैली र सुधार गर्नु पर्ने खाद्य्य पदार्थका बारेमा किन गम्भीरता आएन ? खाद्य्य पदार्थको गुणस्तरकै कारण देखिएका अन्य प्रकारका स्वास्थ्य समाचारहरुले मानवीय जीवनलाई कष्टकर बनाइरहेकै छ । त्यसमा पनि नेपाल जस्तो विकसन्मुख देशका समस्याहरु अनगिन्ति छन । शासकीय कमजोरीको कुनै सीमा नै छैन । संवेदनशीलता देखाउने अवस्था समेतको अभाव छ । हरेक क्षेत्रमा राज्यको उपस्थित महशुस हुँदैन । देशको राजधानीमा दिन दहाडै कालोवाजरी फष्टाईरहको छ, अभाव देखिएको छ तर, सरकार वक्तव्यवाजीमा मात्र आफूलाई सीमति राख्छ भने दूरदराजको अवस्था के होला ?

विश्वव्यापी प्रभावलाई कम गर्न नेपालले अपनाएको सुरक्षा र आत्मनिर्भर योजनाप्रति आम मानिसको विश्वस नै छैन । नेपालमा कोरोना भाइरस संक्रमित व्यक्तिहरु छैनन भन्ने सरकारी भनाइमा आममानिसको अविश्वास किन ? सरकारी वन्दोवस्ती र धारणाप्रति आस्वस्थ हुँने अवस्था किन भएन ? खाध्यान्नको अभाव,पेट्रोलियम पदार्थको हाहाकार,कालोवजारीजस्ता कार्यहरु भइरहदा सरकारको जुन मौनता र वक्तव्यवाजी मात्र आउछ, त्यसले नै सरकारप्रतिको विश्वास र आस्था भत्काउने काम गर्दछ । गम्भीर र संवेदनशील अवस्थामा समेत अनुपस्थित हुने राज्यप्रति जनताको भरोसा र विश्वास टुट्छ नै । समग्रमा राज्य व्यवस्थाप्रति आम जनताको विश्वास छैन । त्यसैले कोरोना भाइरस नेपालमा देखिएको छैन सरकारी दावीमा जनताको अविश्वास छ । हरेक दैनिक उपभोगका सामाग्रीहरुको अभाव हुने छैन भन्ने भनाइमा पनि विश्वास गर्नु नसक्नुको पछाडीको कारण यही नै हो ।
नेपालको आफ्नै पहल र प्रयत्नमा मात्र विश्वव्यापी भएको संक्रमण नियन्त्रणमा आउन सक्छ भन्ने होइन । तर छिमेकमा आएको हावाहुरीले नेपाललाई पनि प्रवाहित गर्न सक्छ भनी आवस्यक सक्रियता अवलम्वन नगनुै ठूलो कमजोरी हो । जनतालाई सचेत गराउनेदेखि आम मानिसलाई अभिभावकीय जिम्मेवारी बहन गछौ भनी आस्वस्थ गराउने काम सरकारको हो । जनता सरकारसंग भन्दा एउटा व्यक्तिलाई किन विश्वास गरिरहेको छ ? घटना यो मात्र होइन, अन्य घटना, विषय र सन्दर्भमा समेत जनताले राज्यलाई विश्वास गरेको छैन । त्यसबाट उत्पन्न हुने अराजकता कति भयावह हुन्छ भन्ने विश्लेषण सरकारको छैन । नागरिकलाई तह लगाएर शासन गर्छु भन्ने मानशीकताबाट राजनीतिक नेतृत्व मुक्त हुनुपर्छ भन्ने सन्देश यस प्रकारका घटनाहरुले बारम्वार दिइरहदा समेत सुधार नहुने शासन संयन्त्र र शासकीय शैली एवं मानशीकता कै उपज हो, यो चरम अविश्वास । सामान्य मानिसको मुखबाट निस्कने आवाजले आफ्नो विश्वास सरकारसंग नभएको देखाउँछ । ‘बचाए पशुपतिनाथले बचाउछ, सरकारसंग त विश्वास नै छैन’ भन्ने अभिव्यक्तिले सरकारमा बस्ने व्यक्ति, दल र नेतृत्वलाई खासै असर पुर्‍याएको देखिदैन । ‘काग कराउदै गर्छ,पिना सुक्दै गर्छ’ भन्ने नेपाली उखान नेपाली शासकहरुको जीवनमा चरित्रार्थ भएको छ ।
कोरोना विश्वव्यापी समस्या हो । रोजगारी, अध्ययन, स्थायी बसोवासका लागि विदेश गएका नेपाली पनि आफ्नो मातृभूमिलाई स्मरण गरिरहेका छन् ।

घरमा सीमित बनाइएका ठूला संख्याका नेपाली आफ्नो मातृभूमिले केही गर्छकी भनी आशा गरिराखेका छन् । अन्ततः समस्या विकसीत र शक्तिशाली देशमा पनि आउदो रहेछ । राज्यको पनि सीमित दायित्व हुदो रहेछ । मानवीय कारणले नै सिर्जित समस्या भएपनि यसको नियन्त्रण र रोकथाम क्षमता बाहिर जस्तो देखिदैछ । यसको क्षति केवल मानवीयमात्र होइन,विश्वव्यवस्था र अर्थतन्त्रमा पर्ने प्रभाव धेरै कहालीलाग्दो छ । कुन समय, मौसम र हावापानीसम्म यो भाइरस अत्यधिक संक्रमित हुन्छ भन्ने यकिन छैन । अझै समयले धेरै अर्थ राख्छ, धेरै समय यसले सक्रियता देखाउँदा विश्व अर्थतन्त्रमा ठूलो असर हुनेछ । मृत्यूदर कति छ भन्ने भन्दा पनि यसको असर र प्रभाव कहिलेसम्म पर्छ भन्ने कुराले विश्वव्यवस्थामा हेरफेर ल्याउने छ । आरोप,प्रत्यारोप र जिम्मेवारीको विषयले त वाँकी समय पनि लिनेछ । कोरोना,कोभिड –१९ बुहान हुँदै चिनीया भाइरस भनी भएको प्रचारको हिसाव किताव राखेको छ –चीनले । चीनमा नै पनि कम्युनिष्ट शासन प्रणाली, कम्युनिष्ट नेता र शासकप्रति ठूलो आक्रोश बढाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *